News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रतिनिधित्व गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र डा. असिम भण्डारी सहभागी भएका थिए।
- सम्मेलनमा डोपिङ विरोधी संरचना, नीतिगत चुनौती, कानुनी समायोजन र कार्यान्वयनका अभ्यासहरूबारे छलफल भयो।
- नेपालले आफ्नो संस्थागत सुधार र अन्तर्राष्ट्रिय अभ्यासमा समावेश गर्न प्रतिबद्धता व्यक्त गर्यो।
३ असार, काठमाडौं । युएईको दुबईमा मंगलबारदेखि सुरु भएको एन्टिडोपिङको २०औं एसिया/ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय सम्मेलनमा नेपाल पनि सहभागी भएको छ । दुई दिने सम्मेलनमा नेपालबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा नेपाल)का संस्थापक संयोजक डा. असिम भण्डारी सहभागी भएका छन् ।
वर्ल्ड एन्टी डोपिङ संस्था (वाडा) द्वारा आयोजित २०औं एसिया/ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय सम्मेलनमा उनीहरुले नेपाल प्रतिनिधित्व गरेका हुन् । सम्मेलनमा वाडाका अध्यक्ष विटोल्ड बान्काले उद्घाटन मन्तव्य दिएका थिए । त्यसअघि युएई नेसनल एन्टी डोपिङ एजेन्सीका अध्यक्ष डा. माई अहमद सुल्तान इशा अल जाबेरले स्वागत मन्तव्य दिएका थिए ।
सम्मेलनमा एन्टि डोपिङ सम्बन्धि विभिन्न विषयमा छलफल गरिएको थियो । यस अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न राष्ट्रले डोपिङ विरोधी संरचना, नीतिगत चुनौती, कानुनी समायोजन, तथा कार्यान्वयनका अभ्यासहरूबारे अनुभव आदानप्रदान गर्ने छन् ।
नेपालका लागि यो बैठक सहभागीता मात्र नभएर आफ्नो संस्थागत सुधारको प्रयासहरु सुनाउने ऐतिहासिक अवसर पनि हुनेछ । २०८१ सालमा तेजुला चौधरी युवा तथा खेलकुद मन्त्री बनेपछि उनले डोपिङको मुद्दालाई राष्ट्रिय प्राथमिकताको विषय बनाएका थिए ।
यस्तै मन्त्री चौधरीको नेतृत्वमै गतवर्ष सातवटै प्रदेशका खेलकुद मन्त्रीहरूसँग विशेष संवाद कार्यक्रम आयोजना गरिएको थियो । जहाँ केन्द्र–प्रदेश सहकार्यबाट डोपिङ नियन्त्रणमा ससक्त योजना तर्जुमा गरिएको थियो ।
यस्तै राष्ट्रिय खेल संघका अध्यक्ष तथा महासचिवहरूसँग छुट्टै कार्यशाला आयोजना गरी उनीहरुको भूमिकालाई स्पष्ट पारिएको थियो । मन्त्री चौधरीले खेलकुद जित र हारको कुरा मात्र नभए यो देशको प्रतिष्ठा र साखको कुरा रहेको बताएका छन् ।
यस्तै नाडा नेपालको नयाँ वेबसाइट तथा ई–लर्निङ्ग प्लेटफर्म सार्वजनिक गरिएको छ, जसले अब देशभरि खेलाडी र प्रशिक्षकलाई सजिलै नियम, प्रतिबन्धित औषधिहरू, र प्रक्रिया बुझ्न सक्षम बनाउनेछ ।
मन्त्री चौधरीको पहलमा च्यासलमा नाडाको स्थायी कार्यालय स्थापना गरिएको छ । जहाँ मन्त्रालयको सचिवालयबाट एक जना अधिकृतलाई नाडाको संस्थागत सुदृढीकरणका लागि खटाइएको छ । यस वर्ष नाडाका लागि १ करोड बजेट समेत विनियोजन गरिएको छ ।
नाडाका संस्थापक संयोजकका डा. अशिम भण्डारीले नाडालाई क्रियाशिल बनाउँदै खेलकर्मीको बीचमा डोपिङ चेतना, प्रशिक्षक तालिम, मेडिकल सपोर्ट स्टाफको ज्ञानवृद्धि, र विधिक मापदण्डमा सुधार सम्भव भएको बताएका छन् ।
भण्डारीले अन्तर्राष्ट्रिय मान्यता, नीति र अभ्यासमा नेपाललाई समाहित गराउने अभियानमा लाग्नु पर्ने बताए । दुबईमा यस सम्मेलनमा नेपालको उपस्थिति नीतिगत दूरदृष्टि र प्राविधिक कार्यक्षमताका लागि महत्वपूर्ण छ ।
प्रतिक्रिया 4