+
+
Shares

नेपालको स्तरोन्नति प्रक्रियाले लगानीका नयाँ अवसर खोल्ने छ : उपाध्यक्ष अधिकारी

आयोग उपाध्यक्ष अधिकारीले न्यून उत्पादकत्व, कमजोर आर्थिक विविधीकरण, ढिलो संरचनागत रूपान्तरण र जलवायु संकटप्रति संवेदनशीलता जस्ता अझै केही चुनौती समेत रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको स्तरोन्नति प्रक्रियाले विश्वसनीयता र अन्तर्राष्ट्रिय अवसरहरू वृद्धि गर्ने बताए।
  • उहाँले रणनीतिक तयारी, दीर्घकालीन रूपान्तरण र चुनौतीहरूको मूल्यांकन आवश्यक रहेको उल्लेख गर्नुभयो।
  • कार्यशालाले नेपालको प्रगति, चुनौती र आगामी कार्यदिशा सम्बन्धी छलफल र योजना निर्धारणको अवसर प्रदान गरेको छ।

५ असार, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको विकासशील मुलुकमा स्तरोन्नति प्रक्रियाले विश्वसनीयता वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्य, व्यापार र लगानीका नयाँ अवसर खोल्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति : नेपालको सहज स्तरोन्नति रणनीति, चुनौती तथा आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशालामा बोल्दै उपाध्यक्ष अधिकारीले स्तरोन्नति सहित दीर्घकालीन र टिकाउ रूपान्तरणका लागि रणनीतिक तयारी पनि आवश्यक रहेको बताए ।

कार्यशालाले नेपालको प्रगतिबारे पुनरावलोकन गर्ने, आगामी चुनौती मूल्यांकन गर्ने र नेपालको स्तरोन्नति योजना सम्बन्धी केन्द्रित छलफल तथा आवश्यक काम तय गर्न समयसापेक्ष र महत्त्वपूर्ण अवसर समेत भएको उनले बताए ।

उपाध्यक्ष अधिकारीले अघिल्ला मूल्यांकनभन्दा फरक हिसाबमा नेपालले आम्दानीको मापदण्डमा तीन वटै आवश्यक मापदण्ड समेत पूरा गरेको बताए ।

‘हामीले उल्लेखनीय प्रगति गरेका छौं, अब अझ बढी लगानी, प्रयास, र स्पष्ट राष्ट्रिय दिशाको आवश्यकता छ, यो नेपालको क्षमताको प्रदर्शन गर्ने समय हो,’ उपाध्यक्ष अधिकारीले भने ।

उनले न्यून उत्पादकत्व, कमजोर आर्थिक विविधीकरण, ढिलो संरचनागत रूपान्तरण र जलवायु संकटप्रति संवेदनशीलता जस्ता अझै केही चुनौती समेत रहेको बताए । अबको लक्ष्य केवल स्तरोन्नति हुनुमात्र नभई त्यसलाई सहज, गुणस्तरीय र दीर्घकालीन बनाउनु पर्ने धारणा राखे ।

उपाध्यक्ष अधिकारीले यस रूपान्तरणलाई मार्गनिर्देशन गर्न नेपाल सरकारद्वारा तयार पारिएको ‘सहज रूपान्तरण रणनीति एउटा समग्र रूपरेखा भएको, जसले जोखिम व्यवस्थापन, अवसर उपयोग र द्विविधाहरूसँग सामना गर्न मद्दत पुर्‍याउने समेत बताए ।

‘नेपाल अहिले एउटा ऐतिहासिक मोडमा छ, अतिकम विकसित राष्ट्र श्रेणीबाट स्तरोन्नति हुनु हाम्रो प्रगतिको एक महत्त्वपूर्ण मान्यता हो, यसले हाम्रो विकास यात्रामा नयाँ मोड ल्याउँछ र आर्थिक सूचकांक, मानव विकास तथा लचिलोपनमा देखिएको वास्तविक प्रगति प्रमाणित गर्दछ,’ उपाध्यक्ष अधिकारीले भने ।

उनले योजना आयोगले यस परिवर्तनलाई साथ दिन आवश्यक पहल सुरु गरिसकेको भन्दै विकास परियोजना पुनरावलोकन तथा प्राथमिकताकरण गरिरहेको, राष्ट्रिय परियोजना बैंक सुदृढ गरेको र वित्तीय संघीयतो कार्यान्वयनतर्फ अघि बढिरहेको हुँदा यस्ता प्रयासले लगानी बढाउन, स्रोत सदुपयोग गर्न र लचिलो तथा उत्पादक अर्थतन्त्र निर्माण गर्न मद्दत पुर्‍याउने दाबी गरे ।

आयोगले १६औं योजना, दिगो विकास लक्ष्य र सहज रूपान्तरण रणनीति लागू गर्दा समन्वय, प्रभाव र द्विविधाहरूको मूल्यांकन गर्दै अगाडि बढिरहेको र योजना परिपूर्ण नतिजामा केन्द्रित होस् भनेर रणनीतिक सम्बन्ध कायम राख्न प्रयासरत रहेको अधिकारीले बताए ।

योजना आयोग र यूएन इस्कयापको सहआयोजनामा काठमाडौंमा जारी कार्यशाला दुई दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?