
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपा र राप्रपा संसद्मा भाग नलिएकोमा दु:ख व्यक्त गरे।
- भट्टराईले भिजिट भिसा प्रकरणमा सहमति भए पनि छलफलमा नआएको रास्वपालाई प्रश्न गरे।
- उनले रास्वपाको स्थापना दिवसमा शुभकामना दिँदै पार्टीभित्रको समीक्षा गर्न आग्रह गरे।
७ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दु:ख लागेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संसद्मा हामी छलफल गर्दैनौं, भाग लिँदैनौं विनियोजन विधेयकमा, नीति कार्यक्रमाथिको छलफलमा भने गम्भीर प्रश्न उठ्छ– संसदप्रति उहाँहरूको विश्वास छ कि छैन ?,’ भट्टराईको प्रश्न छ ।
भिजिट भिसा प्रकरणलाई भट्टराईले सामान्य विषयको संज्ञा दिए । यो विषय संसद्मा उठिसकेपछि छलफल गरेको र सहमतिमा पुगेको उनले स्मरण गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन गर्ने सहमतिमा दलहरूपुग्दा छलफलमा रास्वपा समेत रहेको र रास्वपाले समयसीमा तय गरौं भनेर प्रस्ताव राखेको उनले बताए ।
सत्तापक्ष समयसीमा तोक्न समेत तयार भएपछि रास्वपाले छलफलका लागि समय मागेको र पुन: छलफलमा नफर्किएको भट्टराईको टिप्पणी छ । छलफलमा नगएर रास्वपा सिधै संसद्को वेल घेराउमा पुगेको भनेर उनले प्रश्न उठाएका हुन् ।
‘अब गर्ने के त ? गर्न के खोज्नुभएको हो ? त्यो हामीले बुझ्न सकेका छैनौं,’ भट्टराईले भने, ‘संसद्प्रति उहाँहरूको विश्वास छैन भने त बेग्लै प्रश्न हो ।’
आज रास्वपाको स्थापना दिवस रहेको स्मरण गर्दै उनले शुभकामना पनि दिए । तेस्रो वर्षबाट चौथो वर्ष लागेकोमा शुभकामना दिँदै भट्टराईले भने, ‘उहाँहरूले अरु पार्टीमाथि प्रश्न उठाइरहनुभएको छ । कांग्रेस बिग्रयो, एमाले बिग्रयो । म उहाँहरूलाई भन्न चाहन्छु– हामीलाई बन्न पनि समय लाग्यो । बिग्रेछौं भने पनि समय लाग्छ । तपाईंहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला, स्थापना दिवसका अवसरमा त्यो समीक्षा गर्नुहोला ।’
राम्रोसँग समीक्षा गर्न रास्वपालाई आग्रह गर्दै उनले कालो कपडा लगाएर संसद्मा आएर प्रधानमन्त्रीको अपमान गर्न खोजेको आरोप लगाए ।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति छिटो कार्यान्वयन गर्न समेत उनले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे । यो कार्यान्वयन गर्दा संसद्को अवरोध हटाउन सहयोग पुग्ने उनको विश्वास रहेको छ ।
प्रतिक्रिया 4