+

गर्भावस्थाको छैटौं महिना, के गर्ने, के नगर्ने ?

२०८२ असार  ९ गते ९:३० २०८२ असार ९ गते ९:३०
Shares
गर्भावस्थाको छैटौं महिना, के गर्ने, के नगर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ६ महिनासम्म आइपुग्दा बच्चाको विकास तीव्र भई आमाको पेट स्पष्ट देखिन थाल्छ ।
  • यस समयमा स्वास्थ्य परीक्षण र पोषणमा ध्यान दिनु आवश्यक छ, साथै चिकित्सकको सल्लाह पालना गर्नुपर्छ।
  • भावनात्मक स्थिरता र परिवारको सहयोगले गर्भवती महिलाको स्वास्थ्य र मनोबल बढाउँछ।

गर्भावस्थाको ६ महिनासम्म आइपुग्दा २४ देखि २८ साता पुग्छ । यो महिना गर्भवती महिलाको लागि विशेष हुन्छ ।

किनभने यो बेला बच्चाको चाल तीव्ररुपमा महसुस हुन्छ । जसले आमा बच्चाको सामीप्यता अनुभव गर्छिन् । मातृत्वको अनुभवलाई थप गहिरो बनाउँछ ।

यो समयमा बच्चाको अंगहरूले आकार लिएर विकास तीव्ररुपमा हुन थाल्छ । बच्चाको विकास भएसँगै आमाको पनि पहिलेको तुलनामा अलि पेट बढ्छ ।

उनी यो महिनाबाट बल्ल हेर्दा पनि पूर्णगर्भवती भएको जस्तो देखिन्छिन् ।

आमामा देखिने अन्य परिवर्तन

बच्चाको तौल बढेसँगै आमाको पनि पेट बढेर नाइटोसम्म आउँछ । बच्चाले लात हानेको अनुभवले आमा बढी उत्साहित हुन्छिन् ।

त्यसैगरी, स्तन र निप्पलको आकार बढ्दै जान्छ । निप्पलको वरपरको भाग कालो वा गाढा खैरो हुँदै जान्छ ।

पेटको चौडाइ बढ्दै गएपछि पाठेघरको भाग तन्किदै जान्छ । यसरी शरीरका अंगहरू बढ्दै जाँदा शरीरमा एक कसिमको दबाब बढ्छ । पाठेघर र योनी जोड्ने मांसपेशी तन्किन्छ, जसले पेटको देब्रे वा दाहिने भागमा ताने जस्तो दुखाइ हुन सक्छ ।

योसँगै कम्मर दुख्ने, योनी दुख्ने, ढाड दुख्ने र अनिद्रा हुने जस्तो अनुभव हुन्छ ।

प्रोजेस्टोरोन र टेस्टोस्टेरोन हर्मोनल असन्तुलनसँगै शरीरका अंगहरु बढ्दा थकान अनुभव हुन्छ । यो महिनामा बच्चाको टाउकोले पाठेघरको तल्लो भागमा दबाब पुग्दा योनी स्राव पनि बढी हुन्छ ।

छैठौं महिनासम्म आइपुग्दा शरीरमा रगतको मात्रा पनि बढ्दै जान्छ । यो समयमा जति बच्चालाई पौष्टिक तत्व चाहिन्छ । त्यति शरीरमा रगतको उत्पादन पनि बढ्दै जान्छ ।

प्रोजेस्टोरोन हर्मोन उत्पादन बढेसँगै पाचन प्रणालीलाई सुस्त हुँदा कब्जियत र ग्यासको सम्भावना हुन्छ । एक त हर्मोनल असन्तुलन अर्को आइरन सप्लिमेन्ट लिइने भएकोले यो समस्यालाई थप बढावा दिन्छ ।

अर्को परिवर्तन भनेको दिन कट्दै गएपछि खुट्टा सुन्निदै जान्छ । जुन सामान्य हो । यी समस्या दिनप्रतिदिन कम हुँदै जाने भएकोले यसमा आत्तिनु भने पर्दैन ।

भावनात्मक र मानसिक स्थिति

गर्भावस्थाको सुरुवाती चरणमा अत्यधिक आइरहेको मानसिक उत्तारचढाव यो समय स्थिर हुँदै जान्छ ।

यही समय हो, अधिकांश महिलाले पहिलेको भन्दा बढी आत्मविश्वास अनुभव हुन्छ । उनलाई अब परिवार पूर्ण भयो भन्ने सोच्छिन् । अलि बढी जम्मिवार बोध गर्छिन् ।

बच्चाले पेटमा लात हानेको अनुभव पटक–पटक भइरहँदा आमाको खुसीको सीमा हुँदैन ।

यो बेलामा योनीबाट धेरथोरै रगत देखा पर्नसक्छ । जसले बच्चा खेर गएको हो कि भन्ने  आशंका, डर र तनाव भइराख्छ । यो मात्र होइन, बच्चा असामान्य जन्मिने हो कि भन्ने चिन्ता पनि हुन्छ ।

साथै, बच्चा हुर्काउन आर्थिक तयारीका सोचहरू आउन थाल्छन् । बच्चाको हेरचाह र भविष्यको योजना बनाउन सुरु हुन्छ, जसले भावनात्मक रूपमा प्रभाव पार्छ ।

सम्भावित जटिलता

छैठौं महिनामा केही स्वास्थ्य समस्या वा जटिलताहरू देखिन सक्छन् । यी जटिलताहरूलाई समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ ।

मधुमेह : जति समय बढ्यो त्यति सालमा ग्लुकोज बढाउने इन्जाइम बढी रिलिज हुनेभएकाले मधुमेहको जोखिम हुन्छ । त्यसैले, यो छैठौं महिना भनेको ग्लुकोज टोलेरेन्स टेस्ट गर्ने उचित समय पनि हो । परीक्षणमा मधुमेह देखिएमा औषधिले नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचाप : २० हप्तापछि रक्तचाप बढ्ने जोखिम हुन्छ, जसले बच्चाको विकासमा असर पार्न सक्छ । रक्तचाप बढेमा रक्तसञ्चारमा पनि सुस्तता आउनसक्छ । पर्याप्त नहुँदा बच्चाको विकासमा ढिलाइ हुन सक्छ ।

रक्तअल्पता : यो महिनाबाट बच्चाको विकासको लागि रगत बढी आवश्यक पर्ने हुँदा रक्तअल्पता हुन सक्छ । त्यसैले, नियमित आइरन चक्की र रगत बढाउने खालका पौष्टिक आहार खानुपर्छ ।

छैठौं महिनामा बच्चाको विकासको गति

तौल : यो समयमा बच्चाको तौल औषतमा ५ सय देखि ९ सय ग्रामसम्म हुन्छ ।

फोक्सो : फोक्सोको विकास सुस्त रुपमा विकास हुँदै हुन्छ, तर सास फेर्न सहयोग गर्ने नली पूर्ण रूपमा परिपक्व भएको हुँदैन । कुनै कारणवश बच्चा जन्मियो भने बाच्ने सम्भावना हुँदैन ।

आँखा र मस्तिष्क : बच्चाले आँखा खोल्ने र बन्द गर्ने गर्न सक्छ । मस्तिष्कको विकास तीव्र गतिमा हुन्छ । बच्चाले आवाज सुन्ने, प्रकाश देख्ने र त्यसप्रति प्रतिक्रिया दिने (जस्तैः चल्ने) गर्छ ।

यात्रा गर्न मिल्छ ?

गर्भावस्थामा यात्रा गर्न मिल्ने उचित समय हो । किनकि, भ्रूणले गति लिसकेको हुन्छ, उच्च जोखिम हुँदैन । यो बेलामा कुनै अरु समस्याको शल्यक्रिया पनि गर्नुपरेको खण्डमा गर्न सकिन्छ ।

जहाँसम्म हवाइयात्राको कुरा छ, त्यो गर्भावस्थामा देखिएको जटिलतामा निर्भर गर्छ । कुनै समस्या छैन भने लामो वा छोटो दूरीको यात्रा गर्न मिल्छ ।

गर्भावस्थामा पूर्णआराम गरेर सुतेर बस्न हुँदैन । यसो गर्दा रगत बाक्लिने समस्या भई फोक्सोसम्म पुग्ने जोखिम हुन्छ । त्यसैले, वरपर पैदल घुमफिर र सक्ने हलुका काम गर्न सकिन्छ ।

गर्नुपर्ने परीक्षण

यो समयमा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ । यो समयमा स्वास्थ्य जटिलता बढी देखिने र तत्काल उपचार आवश्यक हुने हुँदा फलोअप छुटाउनु हुँदैन ।

रक्त परीक्षण —  हेमोग्लोबिन, रगतमा चिनीको मात्रा, थाइराइड र कलेजोको कार्यक्षमता जाँच ।

पिसाबको परीक्षण — प्रोटिन वा संक्रमणको उपस्थिति पत्ता लगाउन पिसाब परीक्षण गर्नुपर्छ ।

रक्तचाप जाँच —  प्रत्येक भेटमा वा हरेक १–२ हप्तामा रक्तचाप जाँच गर्नुपर्छ ।

मधुमेह — यो समय मधुमेह हुनसक्ने उच्च जोखिम समय भएको भएर छुटाउनै नहुने परीक्षण हो ।

अल्ट्रासाउन्ड — बच्चाको तौल, पानीको मात्रा, स्थिति र सालनालको अवस्था जाँच गर्ने ।

के खाने ?

महिनामा खानपानमा विशेष ध्यान दिनुपर्छ, किनभने यो समयमा कब्जियत र एसिडिटीको समस्या बढ्न सक्छ ।

—  फलफूल, हरियो सागसब्जी, दूध, अण्डा, मासु, गेडागुडी, र डेरी उत्पादनहरू (चिज, पनिर)।

  प्रशस्त पानी (दैनिक ३–४ लिटर) । (पर्याप्त पानीले बच्चा खेल्नको लागि सहज बनाउँछ ।)

—  चिकित्सकले सिफारिस गरेका आइरन, क्याल्सियम, र अन्य सप्लिमेन्टहरू।

के नखाने ?

रक्सी र धूम्रपान पूर्णरूपमा निषेध गरिएको छ ।

अत्यधिक कफी, चिया, र सोडियमयुक्त फास्ट फूड (चिप्स, प्याकेटबन्द खानेकुरा) खानु हुँदैन ।

(प्याकेटबन्द खानेकुरामा अत्याधिक नुन हुन्छ । जसले उच्च रक्तचाप बढ्नसक्छ ।)

मसालेदार र तारेको खाना नियन्त्रण गर्नुपर्छ । जसले एसिडिटी र ग्यास्ट्राइटिस बढाउँछ ।

काँचो खानेकुरा र समुन्द्री खानेकुरा नखाने ।

चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था

निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

छाती पोल्ने, वाकवाकी वा बान्ता हुने ।

टाउको दुख्ने, आँखा धमिलो हुने वा चक्कर लाग्ने ।

बच्चा कम चल्ने (दिनमा १० पटकभन्दा कम)।

योनीबाट रगत बग्ने वा प्याड भिज्ने अवस्था ।

हात–खुट्टा देखि योनी अत्यधिक सुन्निनु ।

ज्वरो आउने, पिसाब पोल्ने, वा बारम्बार पिसाब लाग्ने।

हात–खुट्टा वा योनी अत्यधिक सुन्निनु

परिवारको साथ र सहयोग

यो समय परिवारको सदस्यले घरको काममा सहयोग, आराम गर्न समय दिने, र कार्यभार बाँडफाँड गर्ने गर्नुपर्छ ।

—  अनुभवि सदस्यले आफ्नो अनुभव रुपमा सुनाएर सकारात्मक उर्जा दिने, गर्भवती महिलालाई धैर्यसाथ सम्झाउने गर्न सकिन्छ ।

  श्रीमानले भने घरको माहौल खुसीको बनाउने, इच्छा लागेको कुरा सोध्ने र सक्दो समय दिनुपर्छ । उनी अलि बढी रिसाइन भने पनि सहनुपर्छ ।

ध्यान दिनुपर्ने कुरा

  चिकित्सकले तोकेको समयमा नियमित जाँच गर्ने ।

  हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।

  देब्रे कोल्टे फर्केर सुत्नुपर्छ, जसले रक्तसञ्चारमा सहयोग गर्छ ।

—  हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।

  भारी सामान नउठाउने, झट्ट उठ्ने–बस्ने नगर्ने र बिस्तारै उठ्ने ।

—  चिकित्सकको सल्लाहः तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने ।

सावधानी

भारी वस्तुहरू नउठाउने।

पेटलाई टेकेर नसुत्ने।

सडक अवरुद्ध भएको स्थानमा नजाने।

—  तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने।

—  लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने ।

गर्भावस्था छैठौं महिना
डा. दिजा खनाल
लेखक
डा. दिजा खनाल
प्रसूति तथा स्त्री रोग विशेषज्ञ

डा. खनाल हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन् । प्रसूति रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल नम्बर २०९८६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थाको छैटौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको छैटौं महिना, के गर्ने, के नगर्ने ?

पेट्रोलियम ट्यांकर चालकहरूमा आँखाको समस्या, दुर्घटनाको जोखिम

पेट्रोलियम ट्यांकर चालकहरूमा आँखाको समस्या, दुर्घटनाको जोखिम

प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको पत्र : नेपालीको वेदनाले भरिएका छन् सोमबजारका गल्लीहरू

प्रधानमन्त्रीलाई क्यान्सर बिरामीको पत्र : नेपालीको वेदनाले भरिएका छन् सोमबजारका गल्लीहरू

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय