
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा बनाएको उच्चस्तरीय समितिमा असन्तुष्टि जनाएको छ।
- प्रवक्ता मनिष झालेले समितिलाई झारा टार्ने प्रयास भएको प्रतिक्रिया दिएर अध्यक्षको नाम सिफारिस गरे।
- संसद् अवरोध र सरकारको बजेट छलफल जारी रहेको छ, जसमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेका थिए।
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा असन्तुष्टि जनाएको छ । उसले उक्त समितिलाई झारा टार्ने किसिमको भएको प्रतिक्रिया दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले आफ्नो सञ्जालमार्फत गृहमन्त्री रमेश लेखकलाई यो पक्ररणका आरोपित तीर्थ भट्टराईलाई नै अध्यक्ष बनाउन सुझाव समेत दिएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदार बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।
उक्त विषयमा प्रतिक्रिया दिँदै प्रवक्ता झाले भनेका छन्, ‘सुन्नमा आए अनुसार (गलत हुन पाए हुन्थ्यो) शंकरदार बैरागीको अध्यक्षतामा झारा टाने समिति बन्दैछ रे, सुधार–सुझाव टाइपको । गृहमन्त्रीज्यूलाई सल्लाह : सोझै आरोपित तीर्थ भट्टराईकै अध्यक्षतामा छानबिन समिति गठन गरे अझ प्रभावकारी र क्लिनचिटोन्मुख हुन्थ्यो कि ?’
भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध भइरहेको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाएको थियो ।
सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।
नेकपा एमालेसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो भने राप्रपा र रास्वपाले अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया 4