+
+
Shares

भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई

‘ठेकेदारसँग पैसा लिएर चुनाव जित्ने र गुन तिर्न राज्यको दोहन भइरहेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १७:३४

१० असार, पोखरा । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन् ।

आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको बताए ।

मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् । ‘भ्रष्टाचारीहरूको यहाँ लर्को लागेको छ, त्यसमा बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयत्न कसैले नगरिदिनुहोला । त्यो कसैले पत्याउँदैन,’ भट्टराईले भने, ‘हात्ति र हात्तिछाप चप्पल उस्तै हो नानु भनेर विज्ञापन गर्नु भएन, त्यो हाँस्यास्पद कुरा हुन्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराई सरकारलाई चुनौती दिए ।

‘अहिले पनि चुनौती दिन्छु, म रेकर्डमै छु, त्यतिबेला संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनिराखेकै छु । त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन,’ भट्टराईले भने, ‘छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले नै म ठाडो चुनौती दिन चाहन्छु ।’

ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृति रहेको बताएका छन् । पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको भट्टराईको आरोप छ ।

युवाहरूमा चरम निरासा आक्रोश बढ्दै गएको, विदेशिनेको लर्को थपिँदै गएको, भ्रस्टाचारको चाङ उकालो लाग्दै गएको र समाग्र कृषि, वित्तीय, औद्योगिक क्षेत्रका समस्याहरू ज्यूँकात्यूँ रहेको उनको भनाइ थियो ।

त्यसकाविरुद्ध निर्णायक तहको आन्दोलन गर्नुपर्छ र देशलाई भरपर्दो अग्रगामी विकल्प दिनुपर्छ भन्ने निर्णय गरेको उनले बताए ।

संघ, प्रदेश र स्थानीय तहमा प्रमुख ३ वटा दलका नेताहरूको भ्रस्टाचारजन्य गतिविधि, कमिसनखोरहरूको जुन पकड बनेको छ, त्यसलाई तोड्नुपर्ने उनको भनाइ छ । भ्रस्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिरण बनाउन उनले माग गरेका छन् ।

‘नाम जे सुकै दिए पनि हुन्छ, उसले प्रधानमन्त्रीदेखि लिएर सबैको छानबिन गरेर कठघरामा उभ्याओस्,’ डा. भट्टराईले भने, ‘अदालतको पुनर्संरचना गरेर निश्पक्ष खालको अदालत बनोस् । स्थानीय तहमा जनलोकपाल गठन गरेर तिनले चाहिँ संस्थागत भ्रस्टाचारलाई सुधार गर्न सकौं ।’

भिजिट भिसा प्रकरणमा संस्थागत रुपमा भ्रष्टाचार भएको डा. भट्टराईको भनाइ थियो । मन्त्री, सचिवहरूको मिलिभगतमै अध्यागमनलगायतमा भ्रस्टाचार भएको बताउँदै भट्टराईले समग्र ढंगबाटै छानबिन हुनुपर्ने बताए ।

पहिले जे कुरा आएको छ, त्यसको निश्पक्ष ढंगले छानबिन हुनुपर्ने र दोस्रो कुरा यो अहिलेदेखि नभएर धेरै पहिलेदेखि नै भएको देखिने भट्टराईको भनाइ थियो । शंकाको घेरामा आएकाहरूको संसदीय छानबिनबाटै जानुपर्ने भट्टराईले बताए ।

आफूहरू नै नेपालको वैकल्पिक राजनीतिको रुख भएको बताएका छन् । वैकल्पिक शक्ति निर्माणको चरणमा पातहरू खस्ने, फेरि पलाउनेजस्तो पार्टीमा पनि जाने–आउने क्रम चलिरहने उनको भनाइ थियो ।

अहिले वैकल्पिक राजनीतिमा अरु देखिए पनि आफूहरू नै वैकल्पिक राजनीतिको रुख भएको र अरु त्यसको हाँगाबिगामात्रै भएको उनको टिप्पणी थियो । निरन्तर वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेकाले एक दिन सफल भएर यो देशको नेतृत्व गर्ने सपना डा. भट्टराईले सुनाए ।

वैकल्पिक शक्तिहरूसँग जनताका मुद्धामा सहकार्य गर्दै अगाडि बढ्ने निर्णय नै गरिएको डा. भट्टराईको भनाइ थियो । पुराना, बेइमान र गन्हाएकाहरूसँग अब सहकार्य नगर्ने उनले बताए । वार्ता समिति बनाएर विभिन्न शक्तिहरूसँग छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?