+
+
Shares

प्रदीप नेपाललाई सम्झँदा सम्झँदै उठेका केही प्रश्न

हाल एमालेको जुन भीमकाय संरचना देखिन्छ, त्यसको जगमा दोस्रो इँटा प्रदीपले नै हालेका हुन् । त्यतिबेला बलियो शक्ति बन्दैनथ्यो भने वर्गशत्रु अभियान चलाउने झापालीहरूको राजनैतिक व्यक्तित्व बन्ने नै थिएन । तिनीहरू राजनैतिक बन्दी होइन, व्यक्ति–हत्याका बन्दी थिए ।

कोमल भट्टराई कोमल भट्टराई
२०८२ असार ११ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले स्व. प्रदीप नेपालका योगदान र वाम आन्दोलनका व्यक्तित्वहरूको समीक्षा गरेका छन् ।
  • उनले वाम आन्दोलनमा रहेका व्यक्तिहरूको सकारात्मक र नकारात्मक पक्षलाई समेट्न प्रयास गरेका छन्।
  • लेखकले नेपाली वाम आन्दोलनको द्वन्द्ववाद र व्यक्तित्व मूल्याङ्कनमा प्रश्न उठाएका छन्।

“स्टालिन ७० प्रतिशत सही थिए, ३० प्रतिशत गलत । हामीले उनका केही गल्तीहरूका आधारमा उनका सम्पूर्ण योगदान अस्वीकार गर्नुहुँदैन । उनले गरेका योगदानका आधारमा उनका गल्तीहरूलाई छोपेर राख्नु पनि अनुचित हुन्छ ।”

– On the Historical Experience of the Dictatorship of the Proletariat – चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट माओत्सेतुङ १९५६ ।

यस सन्दर्भलाई उल्लेख गरेर नेकपा एमालेका नेता स्व. प्रदीप नेपालका बारे उहाँ जीवितै हुँदा लेख्ने विचार गरेको थिएँ । उहाँका योगदानलाई समय सान्दर्भिक समीक्षा गर्ने र केही हाम्रो पिंढीका विरुद्ध उहाँले गरेका हर्कत उजागर गर्ने खाका बनाउँदै थिएँ । अब त्यो सम्भव भएन । सम्भव नहुनाका अनेक कारण छन् । मुख्य कुरा उहाँ नै रहनुभएन । दोस्रो कुरा नेपालमा हुर्किएका सबै धर्म तथा गैर–धर्मका संस्कृतिहरूले मृतकका नकारात्मक पक्षहरू कोट्याउनुलाई पनि क्षमा दिंदैनन् । तर, यस अतिलाई अस्वीकार गर्दै म केही प्रयास गर्नेछु, तर प्रदीप नेपालको सन्दर्भमा मात्र होइन ।

म स्व. प्रदीप नेपाललाई काका भनेर हुर्किएँ, कार्यकर्ता भएर वामपन्थी आन्दोलनमा लागें । उनको विश्वासिलो थिएँ, भइरहें तर उनको पार्टी लाइनलाई कहिल्यै पछ्याइनँ । थाहा पाइहाल्नुभयो कि म उनका कारण समेत वाम आन्दोलनमा लागें । जे–जति वाम आन्दोलनमा सहभागी भएँ उनकै कारण र यसमा एकलव्यले जस्तै गोविन्द न्यौपानेलाई गुरु थापेर लागें । अहिले दुवै मेरो नजिक हुनुहुन्न । ग्लीयल सेल ट्युमरबाट प्रदीपले उनका उपचार गर्ने शल्यचिकित्सकहरूलाई चकित पार्ने गरी पार पाए तर पार्किन्सन्सको सरल उपचारमा अनावश्यक प्रयोगबाट उत्पन्न जटिलतासँग हार खाए । गोविन्द न्यौपाने २०३७ मा जेलबाट छुटेपछि अनेकन् अवतारमा देखा परे पनि हाल बेखबर छन् ।

प्रदीप नेपालबारे हाम्रा पिंढीकोे त्यति सकारात्मक धारणा छैन । हाम्रो पिंढीले उनलाई पार्टीको संस्थापन पक्ष वा ‘गिरोह’ प्रति आलोचनात्मक धारणा राख्नासाथ अनुशासनका डण्डा बर्साउनेमा अगुवाहरू मध्ये एक देख्थे । मैले थाहा पाएका एकाध घटनामा २०३९ को पार्टी स्वतन्त्रताको पक्षमा रहेका खासगरी झापाका साथीहरू माथि उनले गरेका कारबाहीहरू नबिर्सने गरी अन्यायपूर्ण छन् ।

सातौं महाधिवेशनका लागि पिपुल्स भोलिन्टियर्सको प्रतिनिधि छनोट गर्दा उनले गरेको हर्कतले म रन्थनिएको थिएँ । यो घटनाले म उनीसँग टाढा रहन चाहें तर सामाजिक कारणले सकिनँ । उनले मप्रति सधैं स्नेह दिइरहे अनि ‘म उनको पक्षमा लाग्दिनँ’ भन्दाभन्दै पनि नजिकिइरहन बाध्य भएँ । उनले आफ्ना कैयन् संस्मरणमा म लगायत हाम्रो पिंढीका साथीहरू राजनीतिबाट अलग्गिनुमा पार्टीको तत्कालीन नेतृत्वलाई दोष नदिई च्च–च्च मात्र गरेका छन् । त्यसो त हाम्रो सक्रियता र बुद्धिमत्ताको पनि उल्लेख गरेका छन् ।

प्रदीप नेपाल ग्लीयल सेल ट्युमरले असर नगरुन्जेल सक्रिय थिए । उनीसँग अल्छे र गफाडीहरूले हिमचिम बढाउन सक्दैनथे । उनी काम चाहन्थे, काम । मलाई भन्थे– ‘तँ काम गर्छस् तर काम गरेको देखाउन सक्दैनस्’ (उनी व्यक्तिगत रूपमा मलाई ‘तँ’ नै भन्थे) । उनी प्रक्रिया र विधि होइन उत्पादन चाहन्थे, भनौं न डेलिभरी । जस्तो कि नवयुग राजनैतिक प्रचार मुखपत्र निश्चित दिनमा प्रकाशित हुनुपर्थ्यो, ग्राहक संख्या बढाइएको हुनुपर्थ्यो । एमाले विरुद्ध आएका सूचना र अफवाहको तुरुन्त प्रतिवाद गरिनुपर्थ्यो । उनले प्रचार विभागलाई चुस्तदुरुस्त राखेका थिए– अतिशयोक्ति लाग्न सक्ला प्रदीप नेपालको अगुवाइ रहेको बेला विरोधीहरूका अफवाह तुरुन्तै निस्तेज हुन्थे ।

नेपाली वाम आन्दोलनले आन्दोलन र समाजमा उदाएका र अस्ताएकाहरू प्रति किन अति नै पक्ष लिने या घृणा गर्ने गर्छ ? स्टालिनबारे माओले गरेको मूल्याङ्कन विधि वाम आन्दोलनले किन अवलम्बन गर्दैन ?

प्रचार विभागलाई चुस्त बनाएका कारणले मात्र प्रदीप नेपाललाई हामीले सम्झने होइन । हालको एमालेको जुन भीमकाय संरचना देखिन्छ, त्यसको जगमा दोस्रो इँटा उनले नै हालेका हुन् । पहिलो इँटा अखिल नेपाल को–अर्डिनेशन केन्द्र (कोके) को गठन हो भने दोस्रो इँटा कोकेसँग मुक्ति मोर्चाको विलयन । यो दोस्रो इँटा थप्नमा प्रदीपको सक्रियता तथा कुशलता र सीपी मैनालीको तत्कालीन करिष्माको मुख्य भूमिका थियो । यस्तो नभएको भए वर्गशत्रु अभियान चलाउने झापालीहरूको राजनैतिक व्यक्तित्व बन्ने नै थिएन । तिनीहरू राजनैतिक बन्दीका रूपमा होइन, व्यक्ति–हत्याका बन्दी थिए । त्यसरी नै एमालेको शुरुआती जग खनेर हेर्ने हो भने त्यसमा माधवकुमार नेपाल, अमृत बोहरा र ईश्वर पोखरेलहरूको सांगठनिक कुशलता, मिहिनेत र सक्रियता देखिन्छ ।

प्रदीप नेपालले एमाले बन्नका लागि हार्डवेयर मात्र संरचना गरेनन् – सफ्टवेयर तयार गर्न पनि भूमिका निभाए । मानवअधिकारको छतरी मुनि बन्दी विमोचन राखेर झापाली सहितका राजबन्दी रिहाइमा स्व. प्रकाशराज काफ्ले र सुशील प्याकुरेलहरूसँग सञ्चालित भए । राल्फा आन्दोलनपछि बनेको सांस्कृतिक आन्दोलनभित्र यो वा ऊ रूपमा उनको प्रभाव रह्यो । तत्कालीन हामी विद्यार्थी आन्दोलनमा रहेका बेला उनको प्रभाव हामीमा थियो । उनले कर्णाली पूर्व मेचीसम्मका सबै स्थानहरूमा संगठनमा रहेर काम गरे । झापामा भइरहेको दमन र रत्नकुमार वान्तवाको हत्यापछिको दमनमा संगठन बनाउन उनी मेची खासगरी इलाम, ताप्लेजुङमा रहे ।

उनले हरेककालका महासचिवहरूको नजिक सहयोगी भएर काम गरे । सीपीको योगदानबारे उनी सजग थिए तर समयका मारे खुला व्यक्त गर्दैनथे । बारबार मलाई भन्थे– सबक सिकाउन केही दिनका लागि कारबाही गरिएको थियो तर सीपी आफ्नै कुण्ठाले सकिए । झलनाथ व्यवहारत: सीपीको विकल्प नभएको बारबार भन्थे । उनले मदन भण्डारी महासचिवकालमा उनीसँग अत्यन्त भरपर्दा सहयोगी भई काम गरेका थिए ।

प्रदीप नेपाल कार्य र व्यवहारका कारण गैरराजनीतिक र विवादास्पद देखिन्छन् । जस्तो कि एमाले विभाजन गरी माले बनाएका वामदेव गौतमलाई ‘भ्रष्टाचारीका नायके हुन्’ भन्ने बुझिने गरी टुँडिखेलमा भाषण नै गरेका थिए तर पछि वामदेव गृहमन्त्री हुँदा उनकै सल्लाहकार बन्न पुगे । यसलाई पनि म अन्यथा मान्दिनँ किनकि यस्तो घोषणा गरेको ३/४ महिनापछि नै उनले भनेका थिए, ‘हेर्नुस् वामदेव, तपाईं एमालेमा आइहाल्नुभयो भने तपाईं मेरो नेता नै भएर आउने हो । मेरो तपाईंप्रति कुनै आग्रह हुनेछैन ।’ उनीहरू बीचको यस्तो संवाद मैले प्रत्यक्ष सुनेको थिएँ । यस्तै संवाद विकसित भएर नै माले एमालेमा समाहित भएको थियो ।

विभिन्न व्यावहारिक कारण र संस्थापन पक्षका कोपभाजनमा परेर आन्दोलनबाट विमुख या असंलग्न भएका अग्रजहरूको गलत मूल्याङ्कन गरिनुहुँदैन

उनले राधाकृष्ण मैनालीलाई यस्तै प्रकारको आग्रह गरिरहेको फोन वार्ता पनि सुनेको छु । उनी पटक–पटक मन्त्री भए– तर अभावै अभावमा बिते । जुन मैले नजिकैबाट सुन्न र देख्न पाएँ । प्रदीप एमालेलाई अक्षुण्ण र एक ढिक्का राख्ने नाममा अति थिए । यसैगरी, कथित संस्थापन पक्षसँग विमति राख्नेसँग उनी क्रूर थिए । तर, एमालेले विरोधी प्रचारलाई प्रत्याक्रमण गर्न नसक्दा र वामहरूबीच एकता गर्ने अभिमुख नहुँदा र सम्पन्न हार्डवेयर भएर त्यस अनुकूलन सफ्टवेयर तयार नभइरहेको देख्दा प्रदीप नेपाल सम्झने गर्छु । आजकाहरूले कसरी बुझेका छन्, त्यो मैले थाहा पाएको छैन ।

प्रदीप नेपाल कति प्रतिशत सही थिए– त्यसको प्रतिशत निकाल्न सक्दिनँ । त्यो हैसियत ममा छैन भन्नेमा अति नै विश्वस्त छु । म के मात्र प्रश्न गर्न सक्छु– नेपाली वाम आन्दोलनले आन्दोलन र समाजमा उदाएका र अस्ताएकाहरू प्रति किन अति नै पक्ष लिने या घृणा गर्ने गर्छ ? स्टालिनबारे माओले गरेको मूल्याङ्कन विधि वाम आन्दोलनले किन अवलम्बन गर्दैन ?

मार्क्सवादीहरू आफूलाई द्वन्द्ववादी दावा गर्छन् । जसअनुसार बारबार भन्छन्– ‘कुनै वस्तु या घटनामा सकारात्मक र नकारात्मक पक्ष हुन्छ ।’ त्यसो भए कुनै व्यक्तिमा पनि त होला नि ! तर नेपालको वामआन्दोेलनले द्वन्द्ववादलाई व्यवहारमा लागू गरेको देखिएन । तिनीहरू मार्क्सवादी त भएनन् भएनन्, तिनीहरूले माओका भनाइलाई समेत सुनेनन् ।

द्वन्द्ववादलाई एक पटक ज्ञानेन्द्रको सरकारमा सहभागी हुन प्रतिगमन ‘आधा सच्चिएको’ भन्न प्रयोग भएको थियो । त्यो किन भयो सबैलाई थाहा नै छ । नेपालका सबैजसो वाम घटकहरूले संस्थापन या आपूm इतरलाई ‘संशोधनवादी’ या ‘दक्षिणपन्थी’ या ‘उग्रवादी’ या ‘अराजकतावादी’ भनिहाल्छन् । आफूइतर व्यक्तिलाई ‘गद्दार’, ‘भारतीय एजेन्ट’, ‘राजावादी’ करार गरिदिनु त सामान्य नै देखिन्छन् । त्यसैले कम्युनिष्ट दस्तावेजहरू ‘गद्दार पुष्पलाल’, ‘गद्दार रायामाझी’, ‘राजावादी डीपी अधिकारी’, ‘राजावादी मैनाली ब्रदर्स’ आदि आदि जस्ता कथनहरूले भरिएका देखिन्छन् ।

म यो सन्दर्भ जबर्जस्ती गर्दै किन लेखिरहेको छु कि अन्तिमकालमा प्रदीप नेपालले नेकपा एस र नेकपा एमालेलाई नचिढ्याउने गरी आफूलाई अवस्थित गराएका थिए । त्यसैले उनी जोगिए, अनि मृत्युपश्चात् सामाजिक सञ्जालमा उनीप्रति प्रशंसायुक्त ‘रोनाधोना’ अति देखिए । दुवै पक्षका कार्यकर्ताहरू उहाँका पक्षमा प्रशंसारत देखिए । यसले राम्रै गर्‍यो । तर के अरू जसले वाम आन्दोलन उठाए र विस्तार गरे तर समयक्रममा बिभिन्डिए, तिनीहरू प्रति पनि यस्तै सद्भाव होला ? या यस्तै जो बितेर गए जस्तो कि रायमाझी, डीपी अधिकारी, कमलराज रेग्मी आदि–आदि ।

मैले यहाँ किन यी इतिहासमा ‘विवादास्पद करार गरिएका’ व्यक्तित्वहरूबारे उल्लेख गरिरहेको छु भने यी व्यक्तिहरूले वाम आन्दोलनलाई दिएको योगदानप्रति धेरथोर अन्याय भएको छ । म यहाँनेर केही व्यक्तिहरूका बारे प्रश्न उठाउने धृष्टता समेत गर्दछु । जस्तो कि स्व. मनमोहन अधिकारी नेपाली राजनीतिमा सादगी नेताले सम्मानित छन् तर उनका पालामा नै राजालाई संवैधानिक मान्ने निर्णय र पत्र लेखिएको हो । महाकाली सन्धिकै बारेमा उनको भूमिका कस्तो रह्यो ? त्यसलाई निरन्तरता दिने केशरजंग रायामाझी मात्र कसरी राजावादी भए ? रायमाझीले षड्यन्त्र गरेर महासचिव पद हत्याएका थिएनन् बरु मनमोहनले शैलेन्द्रकुमार उपाध्यायसँग मोलमोलाइ गरेर हत्याएको देखिन्छ ।

२०१७ सालको काण्डलाई अप्रत्यक्ष स्वीकार गर्ने रायमाझी र ज्ञानेन्द्रको प्रतिगमन आधा सच्चियो भन्ने नेतृत्वबीच कति अन्तर छ ? डीपी अधिकारी एक विद्वान् राजनीतिज्ञ तथा साहित्यकार थिए । उनी र उनकी श्रीमतीले कम्युनिष्ट पार्टी विस्तार गर्न के कस्ता हण्डर बेहोरेनन् र ? मनमोहन चीन गएपछि उनलाई महासचिव पदमा प्रस्तावित गरिएको थियो तर उनले अस्वीकार गरे । यस्ता त्यागी व्यक्ति थिए, डीपी अधिकारी जो नियतिले डोर्‍याउँदै केही काल पञ्चायती मन्त्री भए । त्यतिका आधारमा उनले पूर्वाञ्चलमा नेकपा विस्तार गरेको देन इतिहासबाट मेटिनुपर्छ र ? ज्ञानेन्द्रको मन्त्री हुनु र प्रतिगमन आधा सच्चिएको भनेर मन्त्रीमा सामेल हुनुमा के फरक छ ? मैले तुलना गर्दा अतिशयोक्तिका साथ गरेको छु । मेरो कुरा के हो भने व्यक्ति र घटनाहरूको समय र सन्दर्भ अनुसार समीक्षा गरिनुपर्दैन र ?

यी प्रश्नहरू मेरो मनभित्र चलिरहेको बबण्डरलाई शान्त गर्नका लागि उठाएको हुँ । यी यस्ता प्रश्नहरू हुन्– जसले नेपाली वाम आन्दोलनलाई विषम परिस्थितिमा पनि मर्न र ओइलिन नदिन ब्याड र बीउ रोपेर गएका ज्ञात–अज्ञातहरू प्रति श्रद्धाका फूल चढाउन झकझक्याउँछ । विभिन्न व्यावहारिक कारण र संस्थापन पक्षका कोपभाजनमा परेर आन्दोलनबाट विमुख या असंलग्न भएका अग्रजहरूको गलत मूल्याङ्कन गरिनुहुँदैन ।

अन्त्यमा, प्रदीप नेपाललाई सम्झने क्रममा मनमा प्रश्न उठ्छ, नेपाली वामको हार्डवेयरभित्र किन सफ्टवेयरले काम गरिरहेको छैन ? कतै घृणा–भाइरसयुक्त सफ्टवेयर वाम आन्दोलनको हार्डवेयरका लागि पङ्गु पो छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?