News Summary
Generated by OK AI. Editorially reviewed.- अरुणमान जोशीले एन्फाको सहायक महासचिवबाट राजीनामा दिए, क्लबमाथि भएको निर्णय र अन्यायका कारण।
- जोशीले भने, ‘क्लबको प्रतिनिधित्व गर्दै जिम्मेवारी सम्हालिरहेको अवस्थामा क्लबमाथि भएको कारबाहीपछि नैतिकताको आधारमा पदमा बसिरहन सकिनँ।’
- उनीहरूले एन्फाको निर्णयलाई गैरकानुनी र पूर्वाग्रही बताउँदै, न्याय ढिलाइ र अन्यायको आरोप लगाए।
११ असार, काठमाडौं । थ्री स्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले एन्फाको सहायक महासचिवबाट बुधवार राजीनामा दिएका छन् । थ्री स्टार क्लबलाई एन्फाको खपिल कमिटी बी डिभिजनमा घटुवा गरेपछि जोशीले राजीनामा गरेको बताएका छन्।
जोशीले थ्री स्टार क्लबमाथि गरिएको निरन्तर अन्याय र पछिल्लो निर्णयका कारण आफूलाई सहायक महासचिवको जिम्मेवारीमा बसिरहन उचित नलागेको बताउँदै राजीनामा दिएका हुन्। उनले भनेका छन्, ‘’क्लबको प्रतिनिधित्व गर्दै एन्फामा जिम्मेवारी सम्हालिरहेको अवस्थामा क्लबमाथि भएको कारबाहीपछि नैतिकताको आधारमा पदमा बसिरहन सकिनँ।’’
थ्री स्टार क्लबलाई ए डिभिजन लिगको अन्तिम खेलमा विदेशी खेलाडी प्रयोगको विषयमा विवाद उत्पन्न भएपछि एन्फाले क्लबलाई दोषी ठहर गर्दै उक्त खेल रद्द गर्दा रेलिगेसनमा परेको थियो ।
उक्त निर्णय एन्फाको पुनरावेदन समितिबाट आएको थियो, जसमा खेलसँग सरोकार नभएको एपीएफ क्लबको उजुरीलाई आधार मानिएको थियो। जोशीले यो प्रक्रिया गैरकानुनी र पूर्वाग्रही भएको दाबी गरेका छन्।
उनले विगतमा पनि एन्फाको गल्तीका कारण थ्री स्टार क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गरिएको प्रसंग उठाउँदै एन्फाले न्याय ढिलाइ गरेर अन्याय गरेको बताएका छन्। ‘जस्टिस डिलेड एज जस्टिस डिनाइड’’ भन्ने भनाइलाई एन्फाले पुनः पुष्टि गरेको उनको भनाइ छ।
जोशीले आफू थ्री स्टार क्लबको अध्यक्ष रहँदै एन्फामा सहायक महासचिवको जिम्मेवारी लिएको र त्यो भूमिकामा इमान्दारीपूर्वक काम गरेको उल्लेख गरेका छन्। तर, क्लबमाथि बारम्बार भएको अन्यायपछि उनले राजीनामा दिने निर्णय लिएको बताएका छन्।
प्रतिक्रिया 4