
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान विशेष अदालतमा जारी छ।
- अख्तियारले भ्रष्टाचार मुद्दामा बहसका लागि सरकारी वकिल र स्वतन्त्र कानुन व्यवसायीहरूलाई वकालतनामा गरेको छ।
- बहसमा सहभागी हुन सीमित कानुन व्यवसायीहरूलाई मात्रै अनुमति दिइनेछ।
११ असार, काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।
बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।
अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ । हिमाल मिडियाका अध्यक्ष कनकमणि दिक्षित पक्राउ परेपछि अख्तियारले पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो ।
त्यसअघि सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार र महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीबीच नीतिगत विषयमा विवाद हुँदा पनि अख्तियारले कानुन व्यवसायीहरूलाई ‘वकालतनामा’ गराएको थियो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिव एक सय कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए ।
वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् ।
वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन् ।
यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् ।
वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् । सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित कानुन व्यवसायीले मात्रै बहस गर्न पाउनेछन् ।
प्रतिक्रिया 4