
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमति सम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् ।
स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्क्री अहमद गसिमबीच बैंककस्थित संयुत्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा मन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।
माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमतिसँग सम्बन्धित सम्झौताको मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको जानकारी मन्त्री पौडेलले माल्दिभ्सका राज्यमन्त्रीलाई गराएका हुन् । मन्त्री पौडेलले एमडी एमएसका अलावा एमबीबीएसमा पढ्न चाहने माल्दिभ्सका विद्यार्थीलाई बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताएको मन्त्री पौडेलले सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेकोबारे जानकारी गराएका थिए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताएका थिए ।
नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा भएको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए ।
त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4