
ताइवानी मिडियामा हालै एक जना पुरुषको दुखद् निधनको समाचार प्रकाशित भएको छ । ती व्यक्तिको मृत्युको कारणचाहिँ १० वर्षसम्म खिया लागेको एउटै थर्मस प्रयोग गर्दा सिसाको विषाक्तताका कारण भएको बताइएको छ ।
समाचार अनुसार ती व्यक्तिमा एक वर्षअघिबाट स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका थिए । उनको रक्त परीक्षणले पनि शरीरमा कडा धातु विषाक्तता रहेको देखायो । जब चिकित्सकहरूले धातु विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरे, त्यसबाट अनौठो तथ्य फेला पर्यो ।
ती व्यक्तिले पछिल्लो १० वर्षदेखि एउटै पुरानो थर्मसलाई दैनिक रुपमा प्रयोग गर्दै आएका थिए । उक्त थर्मसको जाँच गर्दा भित्री भागमा खिया तथा फोहोरको मात्रा जमेको थियो । उनले त्यहीँ थर्मसमा पानी मात्रै होइन चिया, कफी तथा जुस जस्ता अम्लीय पदार्थहरू समेत राखेर खाने गरेका थिए ।
त्यो थर्मस खिया प्रतिरोधी सामग्रीबाट बनेको थिएन र उनले सामान्य धोइपखाली गरेर त्यसलाई निरन्तर रुपमा प्रयोग गर्दा भारी धातुको चुहावटले विषाक्त बन्दै गयो । उनी अस्पतालमा जाँचका लागि पुग्दा उनको स्वास्थ्य अवस्था निकै गम्भीर भइसकेको थियो। विषाक्तताले उनको रोग प्रतिरक्षा प्रणालीमा गम्भीर असर पुर्याएको थियो। जसका कारण चिकित्सकहरूको अथक प्रयासका बाबजुत एक वर्ष पनि नबित्दै उनले न्यूमोनियाका कारण ज्यान गुमाए।
चिकित्सकहरूका अनुसार सो थर्मस लामो समयदेखि प्रयोग गरिएको थियो त्यसमा कोला जस्ता कार्बोनेटेड पेय पदार्थ राख्दा विषाक्त पदार्थहरूमा धातुमा घोलिएर उनको शरीरमा प्रवेश गरेको हो ।
यो घटनाका समाचार ताइवानी मिडियाहरुमा भाइरल बनेको छ । विज्ञहरुले खिया नलाग्ने स्टीलबाट बनेको थर्मस प्रयोग गर्न, अम्लीय पेय पदार्थहरू थरमसमा नराख्न र नियमित रूपमा थर्मस सफा गर्न सुझाव दिएका छन् । साथै कुनै पनि थर्मस अधिकतम २/३ वर्षसम्म मात्रै प्रयोग गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया 4