
काठमाडौं । इजरायलसँग विश्वकै सबैभन्दा उन्नत तथा सर्वाधिक परीक्षण र सफल हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) भएको आम विश्वास छ ।
तर फछिल्लो समयमा इरानसँग जारी संघर्षका क्रममा इजरायलले यस्ता केही आक्रमण बेहोरिरहेको छ, जसमा इरानले प्रहार गरेका कतिपय मिसाइलहरू इजरायलको उक्त प्रतिरक्षा प्रणाली पार गरेर विभिन्न सहरका भवनहरुमा खसे । जसबाट इजरायलमा अभूतपूर्व रुपमा जनधनको क्षति पुगेको छ ।
इजरायलले यसअघि पनि इरानसँगै लेबनानको हेजबुल्लाह, गाजाको हमास र यमनको हुथी लडाकुहरूबाट हुने आक्रमणहरुको सामना गर्दै आएको थियो ।
त्यसैले इजरायलले आफूमाथि प्रहार हुने छोटो, मध्यम र लामो दूरीका मिसाइलहरू रोक्न विभिन्न किसिमका सुरक्षा प्रणाली तैनाथ गर्नु स्वाभाविकै हो ।
आफ्ना दुश्मनहरुसँग लड्न इजरायलले छोटो, मध्यम र लामो दुरीका मिसाइल प्रतिरक्षा प्रणालीहरुको प्रयोग गर्दै आएको छ । ती प्रणालीहरु कति छन् र कसरी काम गर्छन् त ?
१. आइरन डोम : छोटो दूरीको प्रतिरक्षा प्रणाली
यो मिसाइल प्रतिरक्षा प्रणाली ४ देखि ७० किलोमिटर टाढाबाट आएका मिसाइल, रकेट, मोर्टार तथा गोलीजस्ता छोटो दूरीका हतियारहरूलाई रोक्न बनाइएको हो ।
इजरायलभर धेरै ठाउँमा यस्ता आयरन डोमका ब्याट्रीहरू राखिएका छन् । प्रत्येक ब्याट्रीमा ३–४ वटा लञ्चर हुन्छन् र प्रत्येक लञ्चरमा २० वटा इन्टरसेप्टर मिसाइलहरू हुन्छन् ।
आयरन डोम प्रणाली सन् २००६ मा इजरायल र हेज्बुल्लाहबीच भएको गृष्मकालीन युद्ध (समर वार) पश्चात् विकास गरिएको हो । त्यस समयमा लेबनानस्थित हेज्बुल्लाहले इजरायलमाथि करिब चार हजार रकेट प्रहार गरेको थियो र त्यसबाट इजरायलमा ठूलो धनजनको क्षति पुगेको थियो ।
आइरन डोम प्रणाली इजरायली कम्पनी Rafael Advanced Defense Systems / Israel Aerospace Industries द्वारा अमेरिकाको सहयोगमा विकास गरिएको हो ।
यो प्रणाली सन् २०११ मा पहिलोपटक प्रयोगमा ल्याइएको थियो । त्यसबेला प्यालेस्टाइनको गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेटलाई पहिलो पटक आइरन डोमले आकाशमा ध्वस्त पारिदिएको थियो ।
सन् २०२३ को अक्टोबरदेखि सुरु भएको इजरायल–हमास युद्धमा गाजा क्षेत्रबाट प्रहार गरिएका हजारौं रकेटहरूलाई आइरन डोमले आकाशमै नष्ट गरिसकेको छ ।
आइरन डोमले कसरी काम गर्छ ?
यो प्रतिरक्षा प्रणालीमा हमला गर्ने मिसाइल वा रकेटलाई राडारले ट्रयाक गर्दछ । यदि त्यस्तो मिसाइल बसोबास भएको क्षेत्रमा खस्ने देखियो भने मात्र त्यसलाई खसाल्ने इन्टरसेप्टर मिसाइल प्रक्षेपण गरिन्छ । तर खुला ठाउँतिर गएर खस्ने देखिएमा भने त्यस्ता रकेटहरूलाई खसालिँदैन ।
इजरायली सेनाका अनुसार आइरन डोमले ९० प्रतिशत भन्दा धेरै खतरनाक रकेटहरूलाई रोक्ने दाबी गरेको छ । एउटा इन्टरसेप्टर मिसाइलको लागत करिब ५० हजार अमेरिकी डलर हुने बताइएको छ ।
२. डेभिड्स स्लिङ : मध्यम दूरीको प्रतिरक्षा प्रणाली
‘म्याजिक ब्याण्ड’ अर्थात् ‘जादुको छडी’ भनिने यो मिसाइल प्रतिरक्षा प्रणालीले ३०० किलोमिटर टाढासम्मका मिसाइलहरू रोक्न सक्छ । इजरायलको राफेल एडभान्स्ड डिफेन्स सिस्टम र अमेरिकी कम्पनी रेथियानले मिलेर तयार पारेको हो । यो प्रतिरक्षा प्रणाली सन् २०१७ देखि सञ्चालनमा आएको हो ।
यसले पनि आइरन डोमले जस्तै राडारको सहायताले मिसाइलहरु ट्रयाक गर्छ र आवासीय क्षेत्रमा खस्ने देखिएका र खतरनाक ठानिएका मिसाइलहरुलाई मात्र खसाल्छ ।
आइरन डोम र डेझिड्स स्लिंग दुबैलाई ड्रोन, हवाई जहाज र क्रूज मिसाइलहरू माथि आक्रमण गर्नका लागि विकास गरिएको हो ।
एउटा डेभिड्स स्लिंग स्टनर मिसाइलको मूल्य करिब १० लाख अमेरिकी डलर पर्छ ।
३. एरो–२ र एरो–३ : लामो दूरीको मिसाइल रक्षा प्रणाली
यी इजरायलसँग भएका मध्य तथा लामो दूरीका मिसाइल प्रतिरक्षा प्रणाली हुन् । एरो–२ खासगरी मध्यम दूरीका ब्यालिस्टिक मिसाइलहरू रोक्न बनाइएको हो । यसले कुनैपनि मिसाइल ५० किलोमिटर माथि वायुमण्डल आइपुग्दा त्यसमाथि हमला गरेर नष्ट गर्छ ।
यसले एकै पटकमा १४ वटा मिसाइलहरूलाई आक्रमण गर्न सक्छ । यो प्रतिरक्षा प्रणाली सन् २००० देखि सुरू भएकोमा पहिलोपटक २०१७ मा युद्धका क्रममा प्रयोग गरिएको थियो ।
यस्तै एरो–३ इजरायलको सर्वाधिक शक्तिशाली र अत्याधुनिक मिसाइल प्रतिरक्षा प्रणाली हो । यसले वायुमण्डल भन्दा बाहिरको क्षेत्रमा उडिरहेका मिसाइलहरूलाई समेत खसाल्न सक्छ । यो २४ सय किलोमिटरसम्म टाढा पुगेर धावा बोल्न सक्दछ ।
सन् २०१७ देखि तैनाथ यो प्रतिरक्षा प्रणालीले सन् २०२३ मा यमनबाट दागिएको मिसाइललाई सफलतापूर्वक खसालेर आफ्नो खुबी प्रमाणित गरेको थियो ।
इजरायल एयरोस्पेस इन्डस्ट्रिजले अमेरिकाको बोइङ कम्पनीसँग मिलेर यो प्रतिरक्षा प्रणालीको विकास गरेको हो ।
४. थाड : अमेरिकी सहयोगमा थपिएको प्रणाली
Terminal High Altitude Area Defense (THAAD) अमेरिकाद्वारा विकास गरिएको प्रतिरक्षा प्रणाली हो । शत्रुपक्षबाट दागिएका मिसाइलहरु अन्तिम चरणमा ज्मिनमा खस्नुअघि नै नष्ट गर्नु यसको उद्देश्य हो ।
थाडले १५० देखि २०० किलोमिटर दूरीमा मिसाइलहरूलाई रोक्न सक्छ र वायुमण्डल भित्र र बाहिर दुवै ठाउँमा प्रहार गर्न सक्छ ।
सन् २०२४ को अक्टोबरमा इरानको हमला पछि अमेरिकाले इजरायलमा थाड प्रतिरक्षा प्रणाली पठाएको थियो । यसमा एउटा ब्याट्रीमा ६ वटा लञ्चर हुन्छन् र प्रत्येक लञ्चरमा ८ मिसाइलहरू हुन्छन् ।
अमेरिकाले सन् २०१५ देखि नै यो प्रणालीको प्रयोग गर्दै आएको छ । साथै उसले साउदी अरेबिया र यूएईलाई पनि यो प्रतिरक्षा प्रणाली बिक्री गरेको छ ।
-बीबीसीबाट
प्रतिक्रिया 4