
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ६० हजार ७ सय १२ टन रासायनिक मल मौज्दात रहेको तथ्यांक सार्वजनिक गर्यो।
- मन्त्रालयले चालु आर्थिक वर्षमा ५ लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो।
- कृषकहरूले धान रोपाइँको समयमा मल नपाएको समस्या वर्षौंदेखि जारी रहेको छ।
१३ असार, काठमाडौं । सरकारले ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
१ साउन २०८१ देखि १२ असार २०८२ सम्मको सरकारी तथ्यांक अनुसार सरकारसँग ६० हजार ७ सय १२ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
सरकारले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार मौज्दात मलमध्ये युरिया २६ हजार ४ सय १२ टन छ । यस्तै २५ हजार ६ सय ८७ टन डीएपी र पोटास ८६ हजार १२ टन छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा रासायनिक मलका लागि सरकारले २७ अर्ब ९७ करोड बजेट छुट्याएको थियो । जसबाट ५ लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो ।
सोही लक्ष्य अनुसार मन्त्रालयले साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रमार्फत मलको टेन्डर गरिसकेको छ । चालु आव असारसम्म ३ लाख ६३ हजार २ सय ३६ टन मल आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ ।
यस्तै साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरिरहेको ३४ हजार टन युरिया कोलकाताबाट नेपाल प्रवेश गरिसकेको छ । उक्त परिमाणको मल दुवै कम्पनीको गोदाममा आइपुग्न बाँकी छ ।
मन्त्रालयका अनुसार कृषि सामग्रीले आयात गरेको ३० हजार टन युरिया कोलकाता आइसके पनि नेपाल आइपुग्न बाँकी छ । यस्तै साल्ट ट्रेडिङले आयात गरेको २२ हजार टन युरिया कोलकाता आउने क्रममा रहेको छ भने कृषि सामग्रीले ल्याउन लागेको ३० हजार टन डीएपी सिपमेन्ट भइसकेको र २५ असारमा कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ ।
सरकारले मलको परिमाण सार्वजनिक गरे पनि किसानले धान रोपाइँ गर्ने बेलासम्म मल पाउन सकेका छैनन् । यस्तो समस्या वर्षौंदेखिको हो । रासायनिक मल समस्या समाधान गर्न विभिन्न घोषणा गरे पनि कार्यान्वयनमा भने अहिलेसम्म आउन सकेको छैन ।
प्रतिक्रिया 4