+

नयाँ प्रशिक्षकले अट्याकिङ फुटबलमा जोड दिनुभएको छ : रेनुका

२०८२ असार  १४ गते १२:४८ २०८२ असार १४ गते १२:४८
नयाँ प्रशिक्षकले अट्याकिङ फुटबलमा जोड दिनुभएको छ : रेनुका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेनुका नगरकोटीले नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डले अट्याकिङ फुटबलमा जोड दिएको बताइन्।
  • नेपाली महिला टोलीले एएफसी एसियन कप छनोट तयारी राम्रो भएको र पहिलो खेल लाओससँग खेल्नेछ।
  • उनीहरूले युवा खेलाडीहरूको प्रदर्शन र १००औं अन्तर्राष्ट्रिय खेलको तयारीको चर्चा गरे।

१४ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अनुभवी मिडफिल्डर रेनुका नगरकोटीले नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डले अट्याकिङ फुटबलमा जोड दिएको बताएकी छन् । पहिलेभन्दा धेरै फरक शैली देखिएको उनको भनाइ छ ।

‘पहिलोपटक प्रो लाइसेन्स कोच पाएका छौं, अहिले अलि फरक किसिमको छ उहाँको शैली । सकारात्मक तरिकाले खेलाइरहनु भएको छ’ रेनुकाले भनिन्, ‘पहिला हामी डिफेन्सिभ फुटबलमा बढी ध्यान दिन्थ्यौं भने अहिले उहाँले अट्याकिङ फुटबल खेलाइरहनुभएको छ।’

नेपाली महिला टोली अहिले एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तानमा छ । नेपाली टोलीले शुक्रबार प्रशिक्षण पनि गरेको थियो । समग्रमा तयारी धेरै राम्रो भएको उनको भनाइ थियो ।

रेनुका नेपाली टोलीमा अनुभवी खेलाडीहरूमध्ये एक हुन् । उनले नेपाली टोलीबाट खेल्न थालेको १५ वर्ष भइसकेको छ । ‘सुरुमा खेल्न सुरु गर्दा यस्तो माहोल थिएन । अहिले धेरै सुधार भएको छ, म्याचहरू पनि धेरै खेल्न पाइरहेका छौं’ उनले भनिन्, ‘१५ वर्ष खेल्दाखेरि मेरो बल्ल ५५-५६ जति क्याप भएको छ । घरेलु फुटबल पनि धेरै भएको थिएन, तर अहिले लेडिज फुटबल एकदमै धेरै भइरहेको छ, त्यसकारण सुधार भइरहेको छ।’

रेनुकाले पछिल्लो समयमा युवा खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेको बताइन् । ‘हामीले सोच्ने गर्थ्यौं पछिको अवस्थाबारे, हामीभन्दा पछाडि खेल्न पनि खेलाडी चाहिन्छ, अहिले राम्रा युवा खेलाडीहरू पनि आइरहनुभएको छ, त्यो देख्दा खुसी लाग्छ’ रेनुकाले भनिन् ।

नेपाली टोलीले एसियन कप छनोटको पहिलो खेलमा आइतबार लाओससँग खेल्दै छ । उक्त खेल नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल पनि हुनेछ । नेपाली टोलीकी गोलकिपर उषा नाथले १००औं खेललाई स्मरणीय बनाउने प्रयास गर्ने बताइन् ।

‘१०० खेल खेल्दाखेरि ट्रफी चाहिँ उचाल्न सकेको छैन । १००‍औं खेल जितेर अनि यसपटक छनोट भएर फर्किन्छौं जस्तो लागेको छ’ उनले भनिन् । साथै उनले नयाँ प्रशिक्षकबाट धेरै नयाँ कुराहरू सिक्न पाइरहेको पनि बताइन् ।

यता राष्ट्रिय टिममा पहिलोपटक परेकी प्रतिक्षा चौधरीले पनि डेब्यूको लागि तयार रहेको बताइन् । प्रशिक्षकले आवश्यकता अनुसार खेलाउन खोजेमा तयार रहेकी उनले बताइन् । अनुभवी खेलाडीहरूसँग प्रशिक्षण गर्न पाउँदा धेरै राम्रो भएको उनले बताइन् ।

उषा नाथ नेपाली महिला फुटबल रेनुका नगरकोटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय