+
+
Shares

गृहमन्त्रीलाई राप्रपाको चेतावनी : फुर्ती नदेखाउनू, प्रतिपक्षमा आउनुपर्ला

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
  • सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई प्रश्न गरी नैतिकताको खोजी गरेको बताए।
  • सांसदहरूले गृहमन्त्रीलाई भ्रष्टाचार र मानव तस्करीको आरोप लगाउँदै राजीनामा दिन आग्रह गरे।

१४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक सौहार्द हुन गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएको छ । नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उक्त पार्टीको माग छ ।

शनिबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई चोख्याउन छानबिन आयोग बनेको बताइन् ।

‘गृहमन्त्रीलाई प्रश्न छ– मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछ ? गृहमन्त्रीज्यू तपाईंसँग यसको जवाफ छ ?,’ कार्कीले भनिन् ।

उनले गृहमन्त्रीबाट नैतिकताको खोजी भएको पनि बताइन् । ‘गृहमन्त्रीज्यूलाई सानो सुझाव छ– बीपीले भन्नुभएको थियो जो कार्यकर्ताहरू नेताको ज्यादती सहेर बस्छन् कि त ति चरम अवसरवादी हुन कि त दास हुन्,’ कार्कीको प्रश्न छ, ‘म सोध्न चाहन्छु तपाईं कुन वर्गमा पर्नुहुन्छ ?’

गृहमन्त्री लेखकप्रति आफ्नो बुझाइ समेत खण्डित हुन पुगेको उनले बताइन् । ‘मैले त गृहमन्त्रीज्यूलाई अलिकति सोझोसाझो भन्ठानेको थिएँ । उहाँ त चम्फो बाठो हुनुहुँदो रहेछ,’ उनले भनिन् ।

उदाहरणको रुपमा उनले भिजिट भिसा प्रकरणबारे सरकारले गठन गरेको छानबिन समिति रहेको भनेर प्रस्तुत गरिन् ।

‘उहाँले यस्तो समिति बनाउनुभयो कि–त्यो समितिबाट उहाँलाई धेरै सजिलो भयोे । र कमाइलाई बचाउन पनि धेरै सजिलो भयो,’ उनले भनिन् ।

आफूलाई बचाउने गरी गृहमन्त्रीले समिति बनाउने प्रस्ताव गरेको र सरकारले त्यसलाई अनुमोदन गरेको भनेर उनले अर्को प्रश्न गरिन् । ‘म भन्न चाहन्छु– गृहमन्त्रीजी धेरै फुर्ती नदेखाउनुस् । एकदिन यस्तो समय आउनेछ, तपाईं पनि त्यो पल्लो छेउ (सत्तापक्ष)बाट वल्लो छेउ (प्रतिपक्ष) आउनुहुन्छ । त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?,’ गृहमन्त्रीलाई राप्रपा सांसद कार्कीको प्रश्न छ ।
भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी पैसा लिने विषय कहिल्यै उचित हुन नसक्ने उनको आग्रह छ ।

‘तपाईंले भिजिट भिसाको नाममा विदेश जानेसँग दैनिक जुन असुली गर्नुभएको छ, ५० लाख देखि एक करोडसम्म लिएर नेपाली जनताहरूलाई बेच्नुभएको छ,’ कार्की भन्छिन्, ‘नेपाली जनताहरू जसको रेमिट्यान्समा हामी गर्व गर्छौं, अर्थमन्त्रीज्यु गर्व गर्नुहुन्छ हामीलाई यति रेमिट्यान्स आयो भनेर । तिनिहरूलाई भिजिट भिसाको नाममा यसरी मानव तस्करी गरेर बेच्न पाइन्छ ?’

यस्तो कार्य गर्न गृहमन्त्रीलाई नैतिकताले दिन्छ कि दिँदैन भनेर उनले फेरि पनि राजीनामा मागिन् । ‘तपाईंले जुन छानबिन समिति बनाउनुभएको छ दूधको साक्षी बिरालो जस्तो गरेर आफूलाई उम्काउने गरी । यसमा तपाईंलाई बधाइ होस्,’ उनले भनिन्, ‘तर तपाईं धेरै दिन उम्केर बस्न सक्नुहुन्न । एक दिन न एक दिन जनताको कठघरामा आउनुहुन्छ ।’

चुनाव लड्न जाँदा जनतालाई के जवाफ दिने योजना छन् भन्दै उनले प्रश्न दोहोर्‍याइन्, ‘तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् र छानबिनाई सघाउ पुर्‍याउनुस् । निश्पक्ष छानबिन गर्न सरकारलाई सघाउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?