
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताए।
- उनले धान बालीलाई अघि बढाउन अनुसन्धान र परिष्कृत गर्न आवश्यक रहेको र सरकार मलको व्यवस्थापन गर्न सक्षम रहेको बताए।
- मन्त्री अधिकारीले दुई वर्षभित्रमा धानमा आत्मनिर्भरता हासिल हुने विश्वास व्यक्त गरे।
१५ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।
आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् । ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’
मन्त्री अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्वीकार्दै उनले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए ।
असार र साउनमा पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको जिकिर गरे । मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न पनि उनले आग्रह गरे ।
मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने बताए ।
उनले स्रोत र साधनको सीमितताका बावजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने बताए । ‘चैते धानको जस्तो मिठो धानको चामल जस्तो स्वादिलो अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो, हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ’, उनले भने ।
उनले आगामी वर्ष धान दिवस मनाउँदा उत्पादन वृद्धि भएको हुनेछ भन्दै किसानले व्यक्त गरेका विचारलाई आत्मसात गर्दै आगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने कुराको समस्या समाधानका लागि हामीले व्यवस्थापन गरेका छौँ, मलका कारणले रोपाइँ गर्न नसक्ने अवस्थाको अन्त्य हुन्छ’, उनले भने ।
मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित असार १५ लाई उत्सवको रुपमा परम्परादेखि नै मनाउने चलन छ । नेपालमा बर्खे धान र चैते धान गरी दुई थरीको धानखेती हुने गरेको भए पनि कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब सात प्रतिशत जमिनमा मात्र चैते धानको खेती हुने गरेको छ ।
प्रतिक्रिया 4