
१७ असार, काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्र भनेर टिप्पणी गरेका छन् । यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने पनि उनले बताए ।
आज सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै पूर्व कानुनमन्त्री समेत रहेका गिरीले सो कुरा बताएका हुन् । उनले संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदाको भन्दा फरक कुरा आएको भन्दै गिरीले यसलाई गम्भीर षडयन्त्रको संज्ञा दिए ।
‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा जुन कुलिङ पिरियडको विषय थियो, यो महिनौँसम्म लगाएर छलफल भएको विषय हो । सबैलाई जगजाहेर छ । यसका सन्दर्भमा चाहिँ भएका सहमतिहरु भनेको दुई वर्षका निम्ति कुलिङ पिरियड कायम राख्नुपर्छ भनेर सहमति पनि भयो र त्यही सहमतिका आधारमा समितिबाट निर्णय भएर हामी अगाडि बढेका हौँ,’ उनले भने ।
‘तर अहिले अचम्मको कुरा के भयो भन्नुहुन्छ भने त्यो नै कुलिङ पिरियड नै मुख्य सचिव, सचिव, सहसचिवहरुको हकमा चाहिँ लागू नहुने प्रकारले जुन खालको प्रतिवेदन बन्यो, संसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो ।’
उनले यो समिति माथिको उपहास र सार्वभौम संसद, सार्वभौम संसदको समितिको गरिमालाई धुलिसात बनाउने कार्य भएको टिप्पणी गरे ।
गिरीले भने, ‘यस्तो कार्य कहाँबाट भएको छ, जोबाट भएको छ, त्यो निर्मम कारबाहीको विषय बन्नुपर्छ । यसले सिंगो संसदको गरिमालाई चाहिँ बदनाम बनाउने काम भएको छ । यस्ता कुरा स्वीकार्य हुँदैनन् ।’
यसमा छानबिन भई कारबाही नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने समेत बताए ।
प्रतिक्रिया 4