
१८ असार, गुल्मी । इस्मा गाउँपालिका वडा नम्बर–२ स्याला र रेसुङ्गा नगरपालिका–३ बेहोरे जोड्ने छल्दी खोलाको पक्की पुलमा वर्षाका कारण हिलो भरिएर यात्रका लागि जोखिम बढेको छ ।
वर्षातको हिलोसहितको भेल पक्की पुलमाथिबाट बग्दै जाने गरेकाले फोहोर जम्मा भई पुलको सतह नै छोपिएको छ ।
४० मिटर लम्बाइ रहेको ‘स्याला खोला’ पुल सम्पन्न भएको केही वर्ष मात्रै भयो । तर, अहिले पुलको अवस्था हेर्दा खुल्ला चौर हो कि पक्की पुल भनेर छुट्याउनै नसकिने अवस्था बनेको छ ।
पक्की पुल बनाउने तर यसको मर्मत तथा रेखदेखमा ध्यान नदिने गर्नाले जिल्लामा अरु धेरै पुलहरु वर्षातमा जोखिमपूर्ण बन्ने गरेका छन् ।
स्याला खोलाको पुल हिलोले भरिएर जोखिम बन्दा यसको मर्मत गर्नेतर्फ सरोकारवालाहरुको चासो देखिँदैन ।
पुलको सतहमा बाक्लो हिलो जम्दा पैदल यात्रीदेखि साना–ठूला सवारीसाधन चलाउनेहरूसमेत समस्यामा परेका छन् ।
स्थानीयवासीका अनुसार बिहान बेलुका वारी पारी आउ–जाउ गर्ने बालबालिका, वृद्धवृद्धा, स्वास्थ्य सेवा लिने बिरामी र व्यवसायिक दैनिकयात्रीहरू सास्ती खेप्न बाध्य छन् ।
पुलबाट दैनिक सवारीसाधनहरु आवतजावत गर्छन । यहीँ पुल प्रयोग गरेर पानी उद्योग, कृषि उपज ढुवानी गर्नुपर्ने भएकाले समस्या हुने गरेको छ ।
पुलको प्रयोग गरेर पानी उद्योगमा जाँदै गरेका राम पन्थीले पक्की पुलमा लेदो भरिएर जोखिम बढेको बताए । दैनिक आउ–जाउ गर्दा ठूलो जोखिम सिर्जना भएको उनको भनाइ छ ।
स्थानीयको गुनासोअनुसार पुलमा नियमित सफाइ नहुनु, ढल निकास र सतह नालीको अभावले पक्की पुलमा जोखिम बढदै गएको हो ।
समयमै व्यवस्थापन नगरिए आगामी दिनमा अझ ठूला दुर्घटना हुनसक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।
गुल्मी जिल्लामा कतिपय स्थानमा पक्की पुल नजिकैका नालि व्यवस्थापन नहुँदा यस्ता समस्याहरु देखिने गरेका छन् । पक्की पुलबाटै वर्षातमा हिलाम्मै र हिँउदा धुलाम्मै हुने गरेका छन् ।
यसले गर्दा करोडौं खर्च लगाएर बनाइएका पक्की पुल दिनहु जसो जोखिम बढ्दै गएका छन् । जिल्लामा कतिपय स्थानमा पक्की अभावमै नागरिकले जोखिम मोलेर खोलाबाट सवारीसाधन तर्नुपर्ने बाध्यता अझै पनि छ ।
प्रतिक्रिया 4