+
+
Shares
फिचर :

पोर्चुगलमा नेपाली कला, फर्की-फर्की सोध्न आउँछन् विदेशी

राजधानी लिस्वनको ओरियन्तमा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा २८ जूनदेखि ६ जुलाई २०२५ (१५ देखि २३ असार) सम्म जारी रहने यो मेलामा नेपालका हस्तकला सामग्री सम्बन्धी १३ वटा स्टल छन् ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ असार १९ गते २१:१२
पोर्चुगलको लिस्वनमा आयोजित अन्तर्राष्ट्रिय हस्तकला मेलामा नेपाली।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलको लिस्वनमा २८ जुनदेखि ६ जुलाई २०२५ सम्म अन्तर्राष्ट्रिय मेलामा नेपाली हस्तकला र सांस्कृतिक सामग्री प्रदर्शित छन्।
  • १३ नेपाली व्यवसायीले विभिन्न सामग्रीहरू, जस्तै थाङ्का, पस्मिना कपडा, र वाद्यवादनका उपकरणहरू प्रस्तुत गरेका छन्।
  • व्यापारिक लागत र बिक्रीको आशंका भएता पनि नेपालीले आफ्नो सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न प्रयास गरिरहेका छन्।

१८ असार, पोर्चुगल (लिस्वन)। ठमेलमा हस्तकला र कलाकृतिको व्यापार/व्यवसाय गर्ने रत्नसिंह लामा आजभोलि पोर्चुगलको राजधानी लिस्वनमा शंख फुक्दै गरेका भेटिन्छन् ।

पहिलो पटक शङ्ख देख्ने र त्यसलाई फुक्दा निस्केको संगीतले मोहित हुने पर्यटकहरू विस्तारै नेपाली सांस्कृतिक जीवनको सोधीखोजी गर्न थाल्छन् ।

लिस्वनमा जारी अन्तर्राष्ट्रिय मेलामा हस्तकलाका सामग्रीहरूको स्टल राखेका लामा यतिबेला विदेशीहरूलाई नेपालका परम्परागत वाद्यवादनदेखि थाङ्का र नेपालको चिनारी प्रस्तुत गर्ने दैनिकीमा छन् । उनी जस्ता १३ जना नेपाली अहिले यहाँ जारी हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय मेलामा नेपालका चिनारीलाई प्रस्तुत गरिरहेका छन् ।

राजधानी लिस्वनको ओरियन्तमा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा २८ जूनदेखि ६ जुलाई २०२५ (१५ देखि २३ असार) सम्म जारी रहने यो मेलामा नेपालका हस्तकला सामग्री सम्बन्धी १३ वटा स्टल छन् ।

ओरियन्तको दुई नम्बर हलमा जारी उक्त मेलामा तयार भएको नेपाली स्टल र स्टलमा रहेका सामग्रीहरूले नेपालमै पुगेको झल्को प्रस्तुत गरिरहेको छ । नेपाली सिक्का तथा नोट पैसा, शालिग्राम, विभिन्न देवी-देवताका मूर्ति, वाद्यवादनका सामग्रीहरू, थाङ्का, पस्मिनाका कपडा, हातले बुनेका कपडा, घर सजावटका सामग्री, गरगहनालगायत नेपाली पहिचानका सामग्रीहरू मेलामा छन् ।

रत्नसिंह लामा शङ्ख फुकेर विदेशीलाई सुनाउँदै ।

राष्ट्रिय र विदेशका स्थानीयस्तरको कला संस्कृतिलाई प्रवद्र्धन गर्न यहाँको सरकारी स्तरबाट गरिएको यो मेलामा ३५ देशको सहभागिता रहेको छ । झण्डै ४०० स्टल रहेको मेलामा १३ वटा मात्रै भए पनि नेपाली स्टल नै आकर्षणको केन्द्रमा रहेको नेपाली व्यवसायी रेवतसिंह महर्जन बताउँछन् ।

पाटनका महर्जन पनि यो मेलामा हस्तकलाका सामग्रीहरू लिएर प्रस्तुत भएका छन् । उनले आफ्नो उत्पादन र नेपाली कला, संस्कृति अनि हस्तकलालाई विदेशीसामु प्रस्तुत गर्न विदेशी सहजकर्ता समेत पाएका छन् ।

पस्मिनाका कपडा लिएर मेलामा सहभागी अर्का नेपाली व्यवसायी रमेशकुमार श्रेष्ठको यसरी हुने अन्तर्राष्ट्रिय मेलामा नेपालीको पहिचान बेग्लै रहेको सानदार अनुभूति छ ।

अङ्ग्रेजी र पोर्चुजिग भाषा जानेकी एक युवतीलाई उनले नेपाल र नेपाली सम्बन्धी जानकारी दिएर स्टलमा राखेका छन् । उनी स्टलका सामग्री मात्रै बिक्री गर्दिनन्, नेपालका बारेमा समेत दुनियाँसामु जानकारी दिइरहन्छिन् ।

‘अधिकांश विदेशी पर्यटक र यहाँका पोर्चुगिजहरू हामी नेपालीहरूको स्टलमा आइपुगेपछि बढी उत्सुक हुन्छन्, केही न केही सामग्रीहरू मनपराएर लामो समयसम्म सोधीखोजी गरिरहन्छन्’ महर्जनले भने, ‘सामग्रीहरू बिक्रीको अवस्थामा त उत्साही छैनौं तर हामी र हाम्रो कला संस्कृति संसारभरिका मानिसलाई देखाउन र भन्न पाउँदा अर्कै आनन्द मिलेको छ ।’

पस्मिनाका कपडा लिएर मेलामा सहभागी अर्का नेपाली व्यवसायी रमेशकुमार श्रेष्ठको यसरी हुने अन्तर्राष्ट्रिय मेलामा नेपालीको पहिचान बेग्लै रहेको सानदार अनुभूति छ ।

यस्ता प्रदर्शनी र मेलामा ५० भन्दा बढी देश पुगिसकेका उनी पस्मिनाका कपडा चाहनेले सिधै नेपालीको स्टल खोजेर आउने गरेको बताउँछन् ।

रेवतसिंह महर्जन आफ्नो स्टलमा।

‘हस्तकलाका सामग्रीहरूमा विदेशीको हामी नेपालीप्रति बलियो भरोसा छ’, श्रेष्ठ भन्छन् । यही मेलामा बौद्ध र हिन्दू धर्मावलम्बीहरूको सांस्कृतिक सामग्रीहरू प्रदर्शनी र बिक्रीमा बसेका रत्नसिंह लामाको स्टल र रमेशकुमार श्रेष्ठको पस्मिनाको कपडाको स्टल जोडिएको छ ।

आफ्नो सामग्रीको बिक्री र प्रचारको साथमा लामाको स्टल बाहिर रहेको ८० वर्ष पुरानो थाङ्कादेखिका वाद्यवादनका सामग्री ‘गङ्ग’ सम्मको बारेमा श्रेष्ठ पर्यटकहरूलाई बताइरहेका हुन्छन् । छिनछिनमा आउने शङ्खको ध्वनि र गङ्ग बजाउँदा परसम्म पुग्ने आवाजको तरंगले पर्यटकहरू यतै तानिन्छन् ।

खर्च नधानिने चिन्ता

आठ दिनसम्म सञ्चालन हुने यो मेलाबाट नेपाल फर्कंदा आफ्नो खर्च ५ हजार युरो (करिब ८ लाख रुपैयाँ) हुने अनुमान रेवतसिंह महर्जनको छ । मेलामा सहभागिता जनाउन आएका अरू नेपाली व्यवसायीको पनि नेपाल पुग्दासम्म यत्ति नै खर्च भइसक्छ । तर यस पटकको बिक्रीले भने उनीहरूलाई अत्यास लागेको छ ।

१० वर्षदेखि यस्ता अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागी हुँदै आएका रमेशकुमार श्रेष्ठको पोर्चुगलमै पनि यो सातौं पटक हो । तर यस पटकको व्यापारले उनलाई झसङ्ग बनाएको छ । ‘वर्षेनि यही समयमा हुने यो मेलामा म लिस्वन लगातार आइरहेको छु, तर यस पटक पोहोरको भन्दा ५० प्रतिशतले कमी आएको छ’, श्रेष्ठले भने ।

युरोपका विभिन्न देशमा सञ्चालन भइरहेको यस्ता मेला उत्सवहरूमा हस्तकलाका सामग्रीहरू लिएर सहभागी भइरहने व्यापारीहरूले आफ्ना सामग्रीहरू इटाली वा फ्रान्समा भण्डारण गरेर राख्छन् ।

नेपालीहरूले यस पटक सामग्रीहरू इटालीबाट पोर्चुगल झिकाएका छन् । यसरी सामग्री ल्याउँदा प्रति प्यालेट ६०० युरो (करिब ९६ हजार रुपैयाँ) भाडामा खर्च भएको छ ।

बिक्री नभएर बाँकी रहेको सामग्री त्यसैगरी खर्च गरेर फेरि इटली पुर्‍याउनुपर्ने हुन्छ । मेलामा प्रति स्टल ८ दिनको भाडा मात्रै १ हजार ४७० युरो (करिब २ लाख ३५ हजार रुपैयाँ) छ ।

नेपाली हस्तकलाका सामग्री हेर्दै विदेशी पर्यटक।

खान-बस्नको लागि प्रति व्यक्ति ३५ युरो (करिब ५ हजार ६०० रुपैयाँ) खर्च भइरहेको छ । यसरी हुने खर्च धान्नका लागि मात्रै पनि आफ्नो सामग्रीहरूको व्यापार दैनिक एक हजार युरोको हुनै पर्ने रेवतसिंह महर्जन बताउँछन् । यस पटक विभिन्न देशमा जारी रहेको युद्धका कारण पर्यटकको चहलपहल कम भएको अनुमान उनको छ ।

नेपालीहरूले यस पटक सामग्रीहरू इटालीबाट पोर्चुगल झिकाएका छन् । यसरी सामग्री ल्याउँदा प्रति प्यालेट ६०० युरो (करिब ९६ हजार रुपैयाँ) भाडामा खर्च भएको छ ।

‘यस पटक हामीले नेपालदेखि आएर गरेको दुःखको आर्थिक उपार्जन नहुने भयो’ रमेशकुमार श्रेष्ठले भने, ‘सधैं यस्ता कार्यक्रममा नेपालको सहभागिता नियमित हुँदा दुनियाँमा नेपालको चिनारी भइरहन्छ अब यसरी सन्तुष्टि लिएका छौं ।’ तर उनी सरकारले आफू जस्ता व्यवसायीहरूको हौसला बढाउने र प्रोत्साहन दिने सवालमा सधैं चुकेको बताउँछन् ।

यसरी देशको चिनारी प्रस्तुत गर्दै गरिने अभियानलाई सरकारले व्यक्तिगत व्यापारको रूपमा मात्रै बुझेको गुनासो रत्नसिंह लामाको पनि छ ।

‘हामी यसरी संसारभरि पुगिरहेका हुन्छौं, हाम्रा दूतावास हुन्छन् ती देशहरूमा सरकारी प्रतिनिधिहरू हुन्छन् तर पनि ‘ल है नेपाली र नेपालको लागि गर्नुभएको छ’सम्म पनि भन्न आइपुग्दैनन्।’ लामाले भने ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?