
News Summary
Generated by OK AI. Editorially reviewed.- सडक विस्तारको काम अपेक्षित गतिमा नभएको र कतिपय ठाउँमा अवरुद्ध भएको छ।
- पहिलो खण्डको ८५ प्रतिशत प्रगति र कालोपत्रे सम्पन्न भएको जानकारी दिइएको छ।
- दोस्रो र तेस्रो खण्डको प्रगति क्रमशः ४३ र ३२ प्रतिशत रहेको छ।
१९ असार, चितवन । राजधानी काठमाडौं छिर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको मुग्लिन-नागढुंगा सडकखण्ड विस्तारको काम जारी छ । तर, सडक विस्तारको गति भने अपेक्षाकृत छैन ।
नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरेर सडक विस्तारको काम २०७९ को मध्यतिरबाट सुरु गरिएको हो । सडक विस्तारको काम आधाआधी जस्तो मात्रै हुँदा अहिलेको बर्खामा कतिपय ठाँउमा सडक अवरुद्ध हुने अवस्था देखिएको छ ।
मलेखुदेखि मुग्लिनसम्मलाई (३८ं.८६ किमी) पश्चिम खण्ड र मलेखुदेखि नागढुंगासम्मलाई (५५.८ किमी) पूर्वी खण्ड मानेर सडक विस्तार गरिएको हो । पूर्वी खण्ड (५५.८ किमी) लाई पनि दुई खण्ड (पहिलो र दोस्रो) मा बाँडेर ठेक्का लगाइएको छ । पूर्वी खण्डका लागि चालु आर्थिक वर्षमा १ अर्व ७० करोड रकम विनियोजन गरिएकोमा एक अर्ब १३ करोड रकम खर्च भैसकेको छ ।
नागढुंगादेखि मुग्लिनसम्मको सडक ठूलो बजार क्षेत्रमा ६ लेन, सानो बजार क्षेत्रमा ४ लेन र अन्य ठाँउमा ३ लेन बन्नेछ भने कठिन भूगोल र पहिरोको उच्च जोखिम भएका ठाँउमा डेडिकेडेट २ लेनमा बन्नेछ ।
नौबिसेदेखि नागढुंगासम्म मालवाहाक सवारीका लागि क्लाइम्बिङ लेन अलग्गै बन्नेछ । नागढुंगादेखि नौबिसेसम्म ४.७ किमि र नौबिसेदेखि मलेखुसम्म १७.५ किमि छुट्टै ‘क्लाइम्बिङ’ लेन बन्ने छ । तीन लेन भएको ठाउँमा एक लेन ‘क्लाइम्बिङ’ हुनेछ । क्लाइम्बिङ लेनको अलग्गै मार्किङ गर्ने आयोजनाले जनाएको छ ।
जहाँबाट मात्रै मालवाहक सवारी साधन गुड्न पाउनेछन् । यो खण्डमा बन्ने २१ वटा नयाँ पुलहरु सबै चार लेनका हुनेछन् । दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको हो । सडक विस्तारपछि राजधानी काठमाण्डौंसहितका भागमा आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।
पहिलो खण्डमा ८५ % भौतिक प्रगति, पहिलो तहको कालोपत्रे सकियो
नागढुंगा सुरूङ्ग मार्गदेखि नौबिससम्मको १२.२६ किलोमिटर सडकलाई पहिलो खण्ड बनाएर विस्तारको काम भैरहेको छ । यसको भौतिक प्रगति झण्डैं ८५ प्रतिशतसम्म पुगेको छ । सबै भागमा पहिलो तहको कालोपत्रे सकिएको सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।
उनका अनुसार १२.२६ किलोमिटरको आधा जति दोस्रो तहको पनि कालोपत्रे सकिएको छ । मौसम राम्रो भए दोस्रो तहको पनि कालोपत्रे सक्ने लक्ष्यका साथ काम भैरहेको उनको भनाइ छ ।
तेस्रो तहको कालोपत्रे बर्खा सकिएपछि मात्रै थाल्ने आयोजनाले जनाएको छ । नागढुंगाको सुरुको मुखको भाग र झ्याप्ले खोलाको केही भाग बाहेक अन्यत्र कालोपत्रेको काम सकिएको सूचना अधिकारी पौडेलले बताए ।
यो खण्डमा पर्ने दुईवटा पुलहरु नौबिसे र खत्रीपौवाको स्लाव ढलान भैसकेको छ । पहुँच मार्ग निर्माणको काम बाँकी छ । पहिलो र दोस्रो तहको कालोपत्रे भए पछि यो खण्डमा यातायात सञ्चालनमा सहजता हुने विश्वास आयोजनाले लिएको छ ।
नागढुंगा–नौबिसे सडक खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले २०७८ चैत २९ गते (२४ महिनाभित्र सक्ने गरी ) पाएको थियो । जम्मा १२.२६ किलोमिटर सडक २०८१ जेठ २८ मा सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि नसकिएपछि २०८१ माघससम्म सक्ने गरी पहिलोपटक र २०८२ साउन १० गतेसम्म सक्ने गरी दोस्रोपटक म्याद थप गरिएको थियो ।
तर, २०८२ साउनसम्म पनि काम सकिने अवस्था छैन । ठेकेदारले म्याद थपका लागि माग गरेको आयोजनाले जनाएको छ । खानीखोलामा आकाशे पुल बनाउने काम बाँकी नै रहेकोले सो कामलाईसमेत देखाएर ठेकेदारले म्याद थप मागेको छ । पहिले स्थानीयले बनाउन नदिने भनेर अवरोध गरेको आकाशे पुल पछि बनाउन दिने सहमति भएपछि त्यहाँ रहेका घरहरू भत्काउन थालिएको छ । यहाँ ह्विलचियर गुडाएर तलमाथि गर्न मिल्ने अपांगमैत्री पुल बनाउन लागिएको छ ।
दोस्रो खण्ड : नौबिस मलेखु आधा पनि भएन काम
नौबिसेदेखि मलेखुसम्मको दोस्रो खण्डको भौतिक प्रगति जम्मा ४३ प्रतिशतको हाराहारीमा छ । ४३.५४ किलोमिटर लामो यो खण्ड विस्तारको कुल लागत ५ अर्ब ३३ करोड १९ लाख रहेको छ ।
जेडआईसीजी–शर्मा–लामा जेभीले १४ वैशाख २०७९ मा ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको यो यस खण्डको काम जेठ २०८२ भित्र सक्नुपर्ने थियो । सो म्यादभित्र आधा पनि काम नसकेपछि सडक आयोजनाले ठेकेदारलाई २०८३ कात्तिकसम्म काम सक्ने गरी म्याद थप गरिदिएको छ ।
यो खण्डको ढलान र कालोपत्रे गरेर १५ किमी सडकमा पहिलो तहको कालोपत्रे गरिएको छ । धेरै जसो ठाँउमा मेडियनको दुवैतर्फ कालोपत्रे गरिएको आयोजना सूचना अधिकारी पौडेलले बताए ।
यही सडकको सडक विस्तारलाई सहज बनाउन रातको समयमा सडक रोकेर नौबिसेबाट १७ किलोमिटर मलेखुतर्फ खयरघारी र ३३ किलोमिटर पोखरेमा सडक विस्तारका लागि अग्ला डाँडाहरु काटिएका थिए । घयरघारीमा अपेक्षाकृत कटिङको काम भए पनि पोखरेमा भने असहज भएको सूचना अधिकारी पौडेलले बताए ।
यो खण्डमा पर्ने १३ वटा पुलहरु मध्ये ७ वटा पुल बनेर सञ्चालनमा समेत आइसकेका छन् । गणेशखोला (१७ मिटर) डाङ्डुङे खोला(१७ मिटर) खेस्ती खोला(२२ मिटर) मछेडी खोला,(१०.७ मिटर) गर्दो खोला(२७.७ मिटर) जुण्डी खोला(१०.३ मिटर) पोखरे (१७ मिटर)र सोती (११.१ मिटर) खोलाका गरेर ८ वटा साना पुल सञ्चालनमा आएका छन् । बाँकी पुल ५ वटा सोप्याङ खोला, खहरे खोला, फेदी खोला, चिरौदी र गलौदी खोलाका पुल बनिरहेका छन् । यो खण्डको अझै केही भागमा विद्युतका पोलहरु सार्ने काम बाँकी नै रहेको आयोजनाले जनाइको छ ।
तेस्रो खण्ड : कछुवा गतिमा
मलेखुदेखि मुग्लिनसम्मको ३८.८६ किमिलाई तेस्रो खण्ड मानेर सडक विस्तारको काम भैरहेको छ । यो खण्डको प्रगति ३२ प्रतिशत छ । शर्मा–जेडआईसीजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो ।
१५ पुस २०७९ मा भएको सम्झौताअनुसार तीन वर्षभित्र अर्थात २०८२ पुस महिनाभित्र काम सक्नुपर्ने डेटलाइन हो । नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले यस खण्डमा ८ किमि सडक चार लेनमा नै कालोपत्रे गरिएको बताए ।
आयोजना प्रमुख नेपालका अनुसार लेवाटार, विशालटार, चुम्लिङटार, मझिमटार, कुरिनटारमा चार लेनमा सडक कालोपत्रे गरिएको छ । यो खण्डमा बजार क्षेत्रमा ४ देखि ६ लेन र अन्यत्र डेडिकेटेड २ लेनको सडक बनाउने योजना रहेको छ । यो खण्डमा रुख कटानको काम सबै सकिएको तर ४ सयवटा विद्युत पोलहरु सार्नुपर्नेमा अब १०० वटा जति पोल सार्न बाँकी रहेको आयोजना प्रमुख नेपालले बताए ।
यो खण्डमा बन्ने ६ बटा नयाँ पुलहरु मध्ये ४ वटाको स्ल्याव ढलान भैसकेको छ । २ पुलको निर्माण भैरहेका छन् । यो खण्डको १९/२० किलोमिटर धादिङमा र बाँकी चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने भएकोले दुवै जिल्ला र स्थानीय पालिकाहरूसँग समन्वय गरेर काम भइरहेको आयोजना प्रमुख नेपालले बताए । यो खण्डमा पर्ने ७७ वटा भत्काउनुपर्ने घर टहरामध्ये अधिकांशको मुअब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । धादिङतर्फ ५६ र चितवनतर्फ २१ घर टहरा पर्छन् ।
यो खण्डमा बर्खामा पहिरो आएर सडक अबरुद्ध भए तत्कालै पहिरो पन्छाउने गरी ३ ठाँउमा १२ वटा मेसिनहरु स्टाण्ड वाई राखिएको आयोजना प्रमुख नेपालले बताए । उनका अनुसार मलेखु,हुग्दी र कुरिनटारमा सडक पन्छाउनका लागि जेसीवीहरु राखिएका छन् । थप आवश्यकता परे पनि निर्माण कम्पनीले उपकरणहरु जुटाउने सहमती भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4