
News Summary
Generated by OK AI. Editorially reviewed.- सीआईबीले मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँगको सम्बन्धमा धादिङका सुवास खत्रीलाई पक्राउ गरेको छ।
- भण्डारी र खत्रीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ ।
१९ असार, काठमाडौं । ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँग कनेक्सन भेटिएपछि अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्रीलाई पक्राउ गरेको हो । भण्डारी र खत्रीलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।
भण्डारीसँग कनेक्सन भेटिएपछि पक्राउ परेका खत्री भने अनलाइन फिसिङमार्फत हुने ठगीमा संलग्न रहेको सीआईबीले बताएको छ । सहकारीको रकम अपचलन गरेर फरार रहेका भण्डारी सहकारीका पदाधिकारीलाई पुनः ठगेका थिए ।
सहकारीको रकम तिर्ने भन्दै प्रलोभन देखाएर विदेशबाट भण्डारीले ठगी गरेका थिए ।
सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियासम्म पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइनमार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो ।
त्यही ठगीमा खत्री पनि जोडिएको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।
बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले आफूले हिनामिना गरेको सहकारीको रकम तिर्ने भन्दै विदेशमै रहेका बेला ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेका थिए । यही साढे तीन करोड ठगीमा खत्री जोडिएको सीआईबीको भनाइ छ ।
यसरी ठगी गर्ने भण्डारी र खत्री दुवै सहकारीसँग प्रत्यक्ष रूपमा कुनै साइनो नभएका व्यक्ति हुन् । सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी) मार्फत भण्डारीले मिटर ब्याजमा रकम लिएको स्रोत बताउँछ ।
उनीहरूबीच घनिष्ट सम्बन्ध बनेपछि ज्योतिले सहकारीको रकम अपचलन गरेर भण्डारीलाई दिने र उक्त रकम भण्डारीमार्फत क्रिप्टोमा लगानी गरी विदेश पुग्ने गरेको बताइएको छ ।
रकम अपचलन गरेपछि दुवै जना फरार भएर विदेश पुगेको र ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएको पाइएको एक अधिकृतले बताए । आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी) ले तिर्नुहुन्छ भन्दै ह्वाट्स एपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले ठगेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेको गरेका थिए । त्यसका लागि खत्रीको प्रयोग गरेको खुलेको छ ।
ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ–ब्याजसहितको रकम १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वास सहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएका थिए ।
मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए ।
त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटक-पटक उल्टै रकम हाल्न लगाएर करिब ठगी गरेको पाइएको थियो । यसका लागि भण्डारीलाई नेपालबाट सहयोग गर्ने व्यक्ति खत्री रहेको पाइएको छ ।
यसरी ठगी गरेको उक्त रकम फेरि हुन्डीमार्फत विदेश पुगेको सीआईबीको अनुसन्धानले देखाएको छ । अहिले खत्रीमाथि ठगीमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । भने हुन्डीमा पनि सीआईबीले आन्तरिक अनुसन्धान गरेको छ ।
खत्री समेतको खातामा रकम जम्मा गर्न लगाउने र त्यो रकम हुन्डीमार्फत विदेश लगेर भण्डारीले खर्च गरेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
पहिला सरकारी रकम पनि विदेश लगेर खर्च गरेको र अहिले त्यो रकम तिर्ने भन्दै उल्टै साढे तीन करोड ठगी गर्दै फेरि विदेश लगेर खर्च गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
यता कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीमाथि भने ठगीका साथै लिखत सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।
भण्डारीले अन्य व्यक्तिको नागरिकता र राहदानी समेत दुरुपयोग गरी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । भण्डारी स्वयंको नागरिकता र राहदानी नै दुईवटा रहेको तथ्य प्रहरीले फेला परेपछि सीआईबीले लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाएको हो ।
भण्डारीकै नाममा कास्की र बर्दियाबाट दुई फरक-फरक नागरिकता र राहदानी लिएको पाइएको प्रवक्ता खड्काले बताए ।
सहकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका भण्डारी लामो समयसम्म गुपचुप नै थिए । उनी थाइल्यान्डमा रहेको भन्ने अपुष्ट सूचना नेपाल प्रहरीसँग थियो । उनको खोजी गर्न भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएको थियो । त्यति हुँदा पनि उनी पक्राउ नपरेपछि रेड नोटिसका लागि पत्राचार गरिएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले १३ कात्तिक २०८१ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएको करिब ८ महिनापछि भण्डारी कम्बोडियामा पक्राउ परेका थिए ।
यो सहकारीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पनि नाम जोडिँदै आएको छ । नाम जोडिएपछि सीआईबीले दुई पटक धनराजलाई कार्यालयमै बोलाएर केरकार समेत गरेको थियो ।
यता, धनराजले भने आफू उल्टै पीडित रहेको दाबी गर्दै आएका छन् । ऋण लिएर सहकारीको रकम तिरेको दाबी धनराजको छ । तर धनराजतर्फ नै अहिलेसम्म अनुसन्धानले अहिलेसम्म केही नदेखाएको दाबी सीआईबीको छ ।
प्रतिक्रिया 4