+
+
Shares

ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय ९ महिना थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी पुर्‍याउने समय चैत मसान्तसम्म कायम गर्न प्रस्ताव स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको छ।
  • बोर्डले ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड र पूर्ण कार्य गर्न ६० करोड तोकेको भए पनि अधिकांश पुराना कम्पनीले पूँजी पुर्‍याएका छैनन् ।
  • सञ्चालन खर्च र व्यवसाय विस्तारका लागि चुनौती रहेको ब्रोकर कम्पनीले बताएका छन् ।

२० असार, काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउने समय थप गरिने भएको छ । असार मसान्तसम्मको समय सीमा सकिँदै गर्दा ९ महिना थप्ने तयारी भएको हो ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी पुर्‍याउने समय चैत मसान्तसम्म कायम गर्ने भएको हो । नियमावली संशोधन गर्न अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ ।

‘धितोपत्र ब्रोकर मर्जरसम्बन्धी निर्देशिका केही ढिला आएकाले पनि चुक्ता पूँजी बढाउने अवधि चैत मसान्तसम्म कायम गर्नेगरी नियमावली संशोधन गर्न प्रस्ताव गरेका छौं’ प्रवक्ता निरञ्जय घिमिरेले भने ।

बोर्डले ब्रोकर कम्पनीलाई चुक्ता पूँजी बढाउनेगरी समयावधि पहिले नै तोके पनि मर्जरबाट पूँजी पुर्‍याउने सम्बन्धी निर्देशिका भने गत चैतमा मात्रै तयार गरेको थियो ।

सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड तथा पूर्ण कार्य गर्नेका लागि ६० करोड रुपैयाँ तोकिएको छ । पछिबाट थपिएका नयाँ ब्रोकर कम्पनी सबैले तोकिएको चुक्ता पूँजी पुर्‍याए पनि पुराना अधिकांशको पुगेको छैन । पछिबाट सञ्चालनमा आएका ४० सहित अहिले कुल ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

५० पुराना ब्रोकर कम्पनीमध्ये दुई दर्जन कम्पनीले चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेको बोर्डले जनाएको छ । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउनुअघि सीमित कार्य गर्नेका लागि जम्मा २ करोड चुक्ता पूँजी तोकिएको थियो भने पूर्ण कार्य गर्नेका लागि २० करोड थियो ।

चुक्ता पूँजी वृद्धिका लागि मर्जर एउटा विकल्प भए पनि यस सम्बन्धी निर्देशिका बोर्डले गत चैतमा मात्रै तयार गरेको थियो । जसले गर्दा मर्जरमा गएर पूँजी पुँजी पुर्‍याउन चाहनेलाई समयसीमा नै अपर्याप्त हुन गयो ।

‘मर्जरमा जानका लागि पनि कम्पनीको साधारणसभाले निर्णय गर्नुपर्ने हुन्छ, निर्देशिका आइसकेपछि बल्ल साधारणसभाले निर्णय गर्न सक्छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने ‘निर्देशिका चैतमा ल्याउने, अनि असार मसान्तभित्र पूँजी पुर्‍याउनू भन्नु व्यवहारिक थिएन ।’

चैत मसान्तसम्म भने ब्रोकर कम्पनी पूँजी पुर्‍याउन सक्षम हुने उनले बताए । अधिकांश ब्रोकर कम्पनीले हकप्रद तथा बोनस सेयर जारी गरेर नै पूँजी पुर्‍याउने उनको भनाइ छ ।

मर्जर वा एक्विजिनमा जाने ब्रोकर कम्पनीबीच सम्झौता भएको ६ महिनाभित्र सम्पन्न हुनुपर्ने व्यवस्था धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकामा उल्लेख छ ।

पूँजीअनुसार बिजनेस विस्तारमा चुनौती

चुक्ता पूँजी २० अर्ब पुर्‍याएर सञ्चालनमा आएका कतिपय नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन खर्च धान्न मुस्किल छ । कम्पनीको पूँजी वृद्धिलाई मात्रै जोड दिएर नहुने, बिजनेसको दायरा विस्तारमा पनि राज्यले सहयोग गर्नुपर्ने ढकाल बताउँछन् ।

ब्रोकर कम्पनीको सेवा अहिले अपर्याप्त रहेको उनले बताए । ब्रोकरमार्फत मार्जिन लेन्डिङका काम समेत हुन सकेको छैन । ब्रोकर कम्पनीलाई एडभाइजरी तथा पोर्टफोलियो म्यानेजमेन्टको कार्य गर्नका लागि बाटो खोल्नुपर्ने सञ्चालकहरु बताउँछन् ।

विश्वका अरू बजारमा पनि ब्रोकर कम्पनीले नै पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका हुन्छन् । ‘हाम्रोमा ५ करोड पूँजी भएका मर्चेन्ट बैंकले पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिइरहेका छन्’ ढकालले भने ‘तर २० करोड पूँजी भएका हाम्रा कम्पनीले दिन पाएका छैनन्, त्यसैले अहिले बिजनेस पुगिरहेको छैन ।’

ब्रोकरमा कारोबार गरिरहेका ग्राहक नै अहिले एडभाइजरी वा पोर्टफोलियो म्यानेजमेन्ट सेवा लिन मर्चेन्ट बैंकमा गइरहेका छन् । ‘हामीले नयाँ काम मागेकै छैनौं, अन्तर्राष्ट्रिय बजारमा चलिरहेका काम, व्यवहारलाई यहाँ प्रयोग गरौं भनेको हो’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?