News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-१६ क्रिकेट टोलीका ब्याटर रौनक श्रीवास्तव एसीसी यू-१६ इस्ट जोन कपमा सर्वोत्कृष्ट खेलाडी घोषित भए।
- रौनकले प्रतियोगितामा ५ खेलमा २९६ रन बनाए र भुटानसँगको खेलमा कीर्तिमानी १६८ रन बनाए।
- उनले आगामी नेपाल प्रिमियर लिग र भविष्यमा आईपीएल पनि खेल्ने सपना राखेका छन् ।
२६ असार, काठमाडौं । नेपाली यू-१६ क्रिकेट टोलीका ब्याटर रौनक श्रीवास्तव भर्खर सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपमा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भए ।
प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोलीले फाइनलबाहेकका सबै खेलमा एकपक्षीय प्रदर्शन नै गरेको थियो । त्यसक्रममा नेपाली खेलाडीले व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ती खेलाडीमध्ये एक थिए- रौनक श्रीवास्तव, जसले प्रतियोगिताभर ५ खेलमा २९६ रन बनाए । यो सर्वाधिक रन नै थियो। फाइनलमा ब्याट नचलेपनि त्यसअघिका खेलहरूमा उनले आफूलाई प्रमाणित गरिसकेका थिए ।
इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा शतकसहित कीर्तिमानी १६८ रन बनाएका थिए । रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले ५० ओभरको प्रतियोगितामा बनाएको उच्च व्यक्तिगत स्कोर हो, जुन् सम्भवत: त्यति सजिलै तोडिन मुस्किल छ ।
प्रतियोगितामा उत्कृष्ट ब्याटर हुन पाउँदा खुसी लागेको बताउने उनी टिमले जित्दा भने गर्वले छाती चौडा भएको बताउँछन् । ‘नेपालको जर्सीमा खेल्न पाउँदा धेरै खुसी लागेको थियो, सबैको सपना नै हुन्छ त्यो, संसारकै सबैभन्दा बेस्ट फिलिङ थियो मेरो लागि’ उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘त्यसमाथि पनि टिमले जित्दा अझै धेरै खुसी र गर्व लागेको छ।’
प्रतियोगिताअघिको त्यो दोहोरो शतक
रौनक इस्ट जोन कप हुनुभन्दा ठीक अघि नेपालमा भएको यू-१६ राष्ट्रिय क्रिकेटबाट एक चरणको चर्चामा आएका थिए । लुम्बिनी प्रदेशबाट खेल्दै त्यही प्रतियोगितामा गरेको प्रदर्शनले नै उनी यू-१६ राष्ट्रिय टोलीमा परेका हुन् भन्नुपर्छ ।
उक्त प्रतियोगितामा लुम्बिनीको समग्रमा खराब प्रदर्शन रहेपनि रौनक सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए । उनको ब्याटिङ शैली पनि अरुभन्दा फरक नै थियो । अझ त्यसमा पनि गण्डकी प्रदेशविरुद्ध उनी एक्लैले २१७ रनको पारी खेले। त्यसबेला टिमकै स्कोर ४०३ रन बनेको थियो ।
रौनकले नेपाली उमेर समूहको प्रतियोगितामै कीर्तिमानी दोहोरो शतक बनाएका थिए भने समग्रमा हेर्दा पनि नेपाली घरेलु क्रिकेटमा यो प्रदर्शन कमै मात्र भएको छ । यहीँ गरेको प्रदर्शनले उनी राष्ट्रिय टिममा स्थान बनाउन सफल भए ।
‘त्योबेला मेरो ध्यान नै जस्तो बल आएको छ त्यही अनुसार खेल्ने भन्ने थियो, विकेट गएपनि नडराइ लुज बल छ भन्ने शट खेल्ने सोचेर खेलें’ उनले उक्त दोहोरो शतकबारे भनेका थिए ।
‘परिवारको जिम्मेवारी उठाउँछु’
कपिलवस्तुको कृष्णनगरमा एक सामान्य परिवारमा हुर्किएपनि रौनक क्रिकेट खेलेर त्यसमै भविष्य बनाउने सपना बोकेका खेलाडी थिए । २०७७ सालमा ११ वर्षको हुँदा भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा क्रिकेटको अभ्यास गर्न थाले ।
त्यसबेला अरुले खेलेको हेरेर बस्ने गरेका उनी विस्तारै आफू पनि अभ्यास गर्न थाले अनि स्थानीय अभ्यास खेलहरूमा खेल्न थाले । यसबीचमा परिवारबाट पनि उनलाई केही रोकावट भएन ।
उनले २०७९ सालमा १३ वर्षको उमेरमै रुपन्देहीको स्थानीय प्रतियोगिता रुपन्देही सुपर लिग खेले । त्यहाँ देव खनाल, बसिर अहमदजस्ता नेपाली युवा खेलाडीहरू पनि खेल्ने गर्थे ।
रौनकको प्रदर्शन देख्ने मौका बसिरले पनि पाए । यस क्रममा बसिरले उनलाई धेरै सहयोग गरेको उनी बताउँछन् । ‘बसिर दाईले धेरै सहयोग गर्नुभयो, उहाँले अझै खेल्न प्रेरणा दिनुभयो अनि लुम्बिनी प्रदेशको युथ क्याम्पमा जान हौसला दिनुभयो, यहाँसम्मको यात्रामा बसिर दाई र हाम्रो कप्तान बिपिनको धेरै सहयोग छ’ उनले सम्झिए, ‘त्यस्तै मलाई सिकाउने गुरु विवेकमणि त्रिपाठी कोचले पनि धेरै हौसला दिनुभएको थियो।’
त्यहाँबाट जिल्लास्तरीय हुँदै लुम्बिनीको टोलीमा स्थान बनाउँदै उनले लुम्बिनी प्रदेशबाट यू-१६ राष्ट्रिय क्रिकेट खेले । त्यसयता उनको प्रदर्शनबारे त सबै जानकार नै छन्। उनले देशभरबाट लाखौं समर्थकको साथ र हौसला पाएका छन् ।
अब उनले परिवारको जिम्मेवारी आफैंले बोक्ने अठोट लिएका छन् । ‘बुबाआमाले त्यस्तो काम नै भनेर केही पनि गर्नुहुन्न । अब सबै जिम्मेवारी ममाथि नै छ, मैले नै केही गर्ने हो, म अझै मेहेनत गर्छु’ उनले भने ।
एनपीएलदेखि आईपीएलसम्म खेल्ने सपना
यू-१६ राष्ट्रिय क्रिकेट टोलीबाट राम्रो प्रदर्शन गरेका रौनकको नजर अब नेपालकै यू-१९ टोली हुँदै सिनियर टिमसम्म पुग्नुमा छ । ‘अब यू-१९ टिमसम्म खेल्न मन छ, त्यसको लागि अझै धेरै मेहेनत आवश्यक पर्छ, यही लय कायम राख्न सक्नुपर्छ’ उनी भन्छन्, ‘सिनियर टिमबाट खेल्ने त हर एक खेलाडीको सपना हुन्छ, त्यसका लागि अझ धेरै समय बाँकी छ, मेरो सपना चाहिँ छ।’
त्यस्तै उनले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि पनि नाम दर्ता गराउने बताए । ‘एनपीएल पनि खेल्ने चाहना छ, भएछ भने ठीकै छ नभए अझै मेहेनत गरेर अर्को वर्ष पनि प्रयास गर्नेछु’ सकारात्मक सोच राख्दै उनी भन्छन् ।
उनले ५० ओभरको क्रिकेटमा पनि आक्रामक खेलशैली देखाएकाले एनपीएल टिमहरूको उनीमाथि नजर भने पक्कै रहेको छ । त्यसकारण उनले एनपीएलमा पनि खेल्ने अवसर पाउन सक्छन् ।
उनले अन्तिम लक्ष्य भने विश्वकै चर्चित लिग आईपीएल खेल्ने रहेको पनि उल्लेख गरे । ‘राष्ट्रिय टोलीबाट खेल्ने सपना त भइ नै हाल्यो, त्यसबाहेक पनि भविष्यमा आईपीएलसम्मकै लक्ष्य मैले राखेको छु’ उनले भने ।
प्रतिक्रिया 4