
News Summary
Generated by OK AI. Editorially reviewed.- मार्क जुकरबर्गको कम्पनी मेटाले सुपर इन्टेलिजेन्स ल्याब खोल्ने घोषणा गरेको छ र यसमा दिग्गज विशेषज्ञहरूलाई सामेल गर्ने योजना बनाएको छ।
- मेटाले सुपरइन्टेलिजेन्स ल्याबका लागि १० करोड डलरसम्मको साइनिङ बोनस सहित विभिन्न कम्पनीका प्रमुख जनशक्तिलाई भर्ना गरिरहेको छ।
- जुकरबर्गले Meta Superintelligence Labs मार्फत Artificial General Intelligence (AGI) विकास गर्ने र हरेक व्यक्तिका लागि व्यक्तिगत सुपरइन्टेलिजेन्स बनाउने लक्ष्य राखेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पछि अब सुपर इन्टेलिजेन्सको दौड सुरु भएको छ। कसैले यसलाई आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजिआई) भनिरहेका छन् भने कसैले सुपरइन्टेलिजेन्स भन्दछन्। मार्क जुकरबर्गको कम्पनी मेटाले चाहिं अब सुपर इन्टेलिजेन्स ल्याब खोल्ने घोषणा गरिसकेको छ। उक्त प्रयोगशालामा धेरैजना चर्चित विशेषज्ञहरूलाई सामेल गर्ने जुकरबर्गको योजना छ।
यसका लागि मार्क जुकरबर्गले अन्य कम्पनीका इन्जिनियरहरूलाई ठूलो तलब र सुविधासहित भर्ना गरिरहेका छन्। Meta Superintelligence Labs का लागि उनले स्केल एआई कम्पनीका पूर्वसीईओ अलेक्जेन्डर वाङ र गिटहबका पूर्व सीईओ नाट फ्राइडम्यानलाई टोलीमा समेटिसकेका छन्।
सुपर इन्जेलिजेन्स ल्याबका लागि करोडौंको बोनस बाँड्दै जुकरबर्ग
मेटाले स्थापना गर्ने सुपर इन्टेलिजेन्स ल्याबको नयाँ टोलीमा लगभग सबैजसो दिग्गज प्रविधि कम्पनीहरुबाट कोही न कोही अब्बल जनशक्तिलाई सामेल गरिसकिएको छ। ओपन एआईका सीईओ साम अल्टम्यानले एक पोडकास्टमा दाबी गरे अनुसार मेटाले उनीहरुका शोधकर्ताहरुलाई १० करोड डलरसम्मको साइनिङ बोनस दिइरहेको छ । यसबाट सहजै बुझ सकिन्छ कि उक्त प्रोजेक्ट मार्क जुकरबर्गका लागि निकै महत्वाकांक्षी रहेको छ ।
मेटा सुपरइन्टेलिजेन्स ल्याब्सका बारेमा मार्क जुकरबर्गले एक मेमो लेखेका छन्। त्यसमा उनले भनेका छन् – एआईको प्रगति तीव्र हुँदै जाँदा सुपरइन्टेलिजेन्सको विकास पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। यो मानव जातिका लागि एक नयाँ युगको सुरुवात रहेको जुकरबर्गको विश्वास छ।
के हो जुकरबर्गको योजना ?
मार्क जुकरबर्गका अनुसार अब सम्पूर्ण संगठनलाई Meta Superintelligence Labs (MSL) भनेर चिनिनेछ। यसको मुख्य उद्देश्य मेटाका हालका एआई मोडेलहरूको नयाँ पुस्ता तयार गर्नु हो । यो टोलीको नेतृत्व अलेक्जेन्डर वाङले गर्नेछन्, जसले हालै प्रमुख एआई अधिकृतको रुपमा मेटामा काम सुरु गरेका छन् ।
उनीसँगै न्याट फ्राइडम्यान पनि यो टोलीमा जोडिएका छन्। उनी हालैमात्र मेटामा प्रवेश गरेका हुन् र अब एआई प्रोडक्ट र व्यवहारिक प्रविधि सम्बन्धी शोधको क्षेत्रमा काम गर्नेछन्।
त्यस्तै, मेटाको उक्त सुपरइन्टेलिजेन्स टोलीमा च्याट जिपिटी, O4 Mini, एन्थ्रोपिक लगायतका प्रमुख एआई कम्पनीमा काम गरिसकेका अनुभवी व्यक्तिहरू पनि समावेश गरिएका छन्।
यसबाट एउटा प्रश्न उठ्छः आखिर मार्क जुकरबर्गले यी सबैलाई लिएर के गर्न चाहन्छन् ? यसको जवाफ उनले आफ्नै मेमोमा दिएका छन्।
मार्कले भनेका छन्, ‘एआईको प्रगति अगाडि बढिरहँदा मानिसहरूले अब सुपरइन्टेलिजेन्समा काम गर्न सुरु गर्नेछन्। यौ दौडमा मेटा सबैभन्दा अगाडि रहन चाहन्छ।
उनको नयाँ टोलीले कम्पनीका सबै एआई मोडेलहरूको नयाँ पुस्तामा काम गर्नेछ। मेमोमा मार्कले स्मार्ट ग्लास र वेयरेबल प्रविधिका बारेमा पनि उल्लेख गरेका छन्। स्मार्ट ग्लासको क्षेत्रमा मेटा अहिले अन्य कम्पनीहरूभन्दा अगाडि छ र यसले कम्पनीलाई पहिलो पहलकर्ता हुनुको लाभ दिइरहेको छ ।
मेटा सुपरइन्टेलिजेन्स ल्याब्समा पनि मार्क त्यस्तै अग्रसरता देखाउन चाहन्छन् । उनी हरेक व्यक्तिका लागि एक व्यक्तिगत सुपरइन्टेलिजेन्स बनाउने प्रयासमा छन्। यो त्यस्तो एआई हुनेछ जसले हरेक मानिसको साथमा उनीहरूको आवश्यकता अनुसार काम गरोस् ।
तयार हुँदैछ AGI
सरल भाषामा भन्नुपर्दा मार्क जुकरबर्गले Meta Superintelligence Labs मा Artificial General Intelligence (AGI) को विकास गर्ने प्रयासमा छन्। उक्त सुपर एआईले मानिसले जस्तै सोच्न, बुझ्न र निर्णय लिन सक्नेछ ।
यो केवल च्याटबोट जस्तो सीमित हुने छैन। यसले आफ्नो अनुभवबाट सिक्नेछ र त्यसको आधारमा प्रयोगकर्तालाई उपयोगी जानकारी दिन सक्नेछ ।
वास्तवमा भविष्यमा कुनै दिन फिल्महरूमा देखिएजस्तै एआईको विकास हुनेछ जुन सधै मानिससँग हुनेछ र हामीलाई संसारभरको ज्ञानका आधारमा दिशानिर्देश गर्नेछ। हालै आएको मार्भेलको वेब सिरिज आइरन हर्टमा पनि यस्तै एआई देखाइएको छ ।
यसअघि पनि आइरन म्यान जस्ता फिल्महरूमा यस्तै एआई देख्न पाइन्छ, जसले इशारामै काम गर्छ। यस्ता एआईलाई स्क्रिन वा डिस्प्ले चाहिंदैन र तिनीहरू केवल च्याटबोट होइनन्। यस्ता सुपर एआई हाम्रा साथी, सहयोगी र विशेषज्ञका रूपमा काम गर्ने सहयोगी एआई हुनेछन् ।
अर्थात्, हामीलाई भविष्यमा यस्तो सहयात्री मिल्ने सम्भावना छ, जसले हरेक कुरामा हामीलाई साथ दिनेछ र समस्याको समाधान दिनेछ ।
प्रतिक्रिया 4