News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-२० महिला फुटबल टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले साफ च्याम्पियनसिप जितेर फर्कने बताएका छन्।
- गुरुङले २ वर्षअघि फाइनलमा पराजित भएको स्मरण गर्दै यसपटक नतिजा बदल्न सक्ने बताए।
- प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका र भुटान सहभागी छन् र डबल राउण्ड रोविन लिगमा खेल हुनेछ।
२६ असार, काठमाडौं । नेपाली यू-२० महिला फुटबल टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले साफ च्याम्पियनसिप जितेर फर्कने बताएका छन् । बंगलादेशमा भोलिदेखि सुरु हुन लागेको प्रतियोगिता अघिको प्रेस कन्फेरेन्समा उनले यस्तो बताएका हुन् ।
‘हामीले राम्रो तयारी गरेका छौं, यहाँ सबै टिम उतिकै राम्रा छन्, तर पनि हामी जित्न भनेर आएका हौं र जित्छौं पनि’ उनले भने । गुरुङले यू-२० टोलीको प्रदर्शनले सिनियर टिमका लागि पनि खेलाडी ब्याकअप तयार गर्न महत्वपूर्ण हुने बताए ।
उनले २ वर्षअघि फाइनलमा बंगलादेशसँग पराजित भएको सम्झना गर्दै यसपटक त्यो नतिजा बदल्न सक्ने बताए ।
यस च्याम्पियनसपमा नेपाल, आयोजक बंगलादेशसहित श्रीलंका र भुटानको सहभागिता छ ।
चार टिम मात्र सहभागी भएकोले डबल राउण्ड रोविन लिगको आधारमा खेलहरु हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाइमा खेल्नेछ ।
दोस्रो खेलमा नेपालले १३ जुलाईमा बंगलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ ।
यो प्रतियोगिता एएफसी यू-२० महिला एसियन कप छनोटको तयारीको रुपमा रहेको एन्फाले जनाएको छ ।
नेपाली टोली : बिर्सना चौधरी (कप्तान) लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
प्रतिक्रिया 4