+
+
Shares

बेड नम्बर ३२२ : एक बुबाको अन्त्यहीन वेदना

छोरा सुनिलको उपचार खर्च जुटाउन बिहान उठ्नेबित्तिकै बैठा टाउकोमा टोपी घचघच्याउँदै अस्पताल परिसर वरपर हात फैलाउँछन् । कसैले ५ रुपैयाँ दिन्छ, कसैले १० । एक दिनमा २०० जुट्यो भने उनको लागि त्यो नै ठूलो दिन हुन्छ । केही औषधि किन्न त्यसैबाट टार्ने कोसिस उनी गर्छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ असार २७ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदई वैठा छोरा सुनिलको उपचारका लागि वीर अस्पतालमा करिब एक वर्षदेखि चक्कर लगाइरहेका छन्।
  • डा. राजीव झाका अनुसार सुनिलको टाउकोमा १० सेन्टिमिटरको ट्युमर थियो, तीन चरणमा शल्यक्रिया गरी हाल किमोथेरापी र रेडियसन थेरापीमार्फत उपचार भइरहेको छ।
  • आर्थिक अवस्था कमजोर भएका कारण छोरा सुनिलको उपचार खर्च जुटाउन वैठा विरानो शहर काठमाडौंमा संघर्ष गरिरहेका छन् ।

२७ असार, काठमाडौं । गत साताको कुरा, डा. नम्रता खड्कासँग अन्तर्वार्ताका लागि वीर अस्पताल पुगेका थियौं ।

अक्सर अस्पताल उराठलाग्दो कोलाहलले घेरिएको जस्तो लाग्छ मलाई । त्यसमाथि वीर अस्पतालको आफ्नै वेदना छ । असंख्यको भीड, कुरुवाको पंक्ति, बिरामीको छटपटी, एम्बुलेन्सको साइरन, चिकित्सकको हतारो । त्यो निस्सासिंदो परिवेश हेर्दा लाग्छ, देश नै बिरामी छ ।

जसै हामी अन्तर्वार्ता सुरु गर्दै थियौं, ढोकामा मधेशी मूलका एक अधबैंसे पुरुष देखापरे । होचो कद, थोत्रो लुगा, खिइएको चप्पल । अनुहार मलिन र थकित देखिन्थ्यो ।

उनले मातृभाषामा वरिष्ठ न्यूरोसर्जन डा. राजीव झासँग केही कुरा गरे । अनि हातमा मुठा पारेर बोकेको कागजात डाक्टरको अघिल्तिर राखिदिए ।

डा. झाले फटाफट कागजमा हस्ताक्षर गर्दै हामीतर्फ हेरेर भने– ‘उहाँ भदई बैठा । अस्पताल बसेको वर्ष दिन बितिसक्यो । छोराको टाउकोमा ट्युमर छ । अस्पताल प्रशासनलाई भनेर होस् या स्टाफले नै केही रकम उठाएर उपचारलाई निरन्तरता दिने प्रयास गरिरहेका छौं । तैपनि….।’

बैठा दम्पतीको जीवन निष्पट अँध्यारो छ । किनकि हरेक बिहान उनीहरूका लागि कहिल्यै सामान्य हुँदैन । बेला–बेलामा छोरोको मुख हेरेर भक्कानिन्छन् ।

डाक्टरले कुरा सकेकै थिएनन् । भदई बैठाको आँखा टिलपिल भयो र निमेषभरमै तरर्र आँसु चुहियो ।

कोठामा सन्नाटा छायो । न हामीसँग केही भन्ने कुरा थियो, न डाक्टरसँग । भदई बैठाको आँसुको भाषाले भनिरहेको थियो, ‘गहिरो पीडाको अन्त्यहीन कथा बोकेर बाँचिरहेको छु ।’

त्यसबेला बैठा सिटीस्क्यानको रकम छुट गराउनका लागि चिकित्सकको सिफारिसका लागि पुगेका रहेछन् । ‘छोरा बाँचोस् भनेर बाँचिरहेको छु’, बैठाको आँसु रोकिएन । त्यो गहभरी छचल्कियो ।

बेड नम्बर ३२२ 

न्यूरो वार्ड । बेड नम्बर ३२२ । छोरा (सुनिल) बेडमा हलचल गर्न सकेका छैनन् । छेउमा बसिरहेकी आमा एकोहोरो टोलाएकी छिन् । छोराको हात समाउँदै मौनतामा आँसु तप्प–तप्प चुहाउँछिन् ।

उनको जीवन निष्पट अँध्यारो छ । किनकि हरेक बिहान उनका लागि कहिल्यै सामान्य हुँदैन । बेला–बेलामा छोरो हेरेर भक्कानिन्छिन् ।

उनको हृदयमा अरू कुनै चाहना छैन । छोरोले फेरि एक पटक ‘आमा’ भन्दै बोलाओस् । जिन्दगीको सबैभन्दा ठूलो खुशी त्यही हो । तर यथार्थ निकै कठोर छ । बेडमा सुतिरहेको छोरो न बोल्न सक्छ, न हिंड्न ।

उनका लागि काठमाडौं उपचारको केन्द्र जीवन र मृत्युको बिन्दु बनेको छ । तीन पटकको जटिल शल्यक्रिया । दशौं पटक सिटीस्क्यान, विभिन्न चेकजाँच । झोलाका झोला औषधि सेवन गर्दा पनि उपचार अझै अधुरो छ ।

चिकित्सकले भनेका छन् – उपचार जारी छ । अझै कति समय लाग्ने हो, यकिन छैन । अब त बैठा दम्पतीलाई अस्पताल नै घर जस्तै भइसक्यो ।

टुटेको सपना

गत भदौको कुरा हो, सुनिल अघिपछिको भन्दा बढी बोल्न, हिंडडुल गर्न थाले । कहिलेकाहीं बेस्सरी टाउको दुखेको सुनाउँथें । विस्तारै आँखाको दृष्टि पनि कमजोर हुँदै गयो । व्यवहारमा केही असहज परिवर्तन देखा पर्‍यो । त्यसपछि परिवारले अनौठो मान्दै अस्पताल लैजाने निधो गरे ।

दोस्रो हप्ता रौतहट पिपरा राजवाडाबाट रात्रि बसमा काठमाडौंको यात्रा तय भयो । झिसमिसेमा गाडीले कलंकी उतारिदियो । अब कहाँ जाने ? के गर्ने कुनै मेसो पाएनन् । बैठा दम्पतीले  पहिलो पटक काठमाडौंमा पाइला टेकेका थिए ।

गाउँमा कसैले भनेको थियो – पाटन अस्पताल जानु उपचार गराउँदा धेरै खर्च लाग्दैन । तर  कहाँबाट जाने, कुन गाडी चढ्ने ? थाहा छैन । रनभुल्लमा परेर बाटोको छेउमा बसे । एकछिनमा एक ट्क्यासी अगाडि आइपुग्यो । उनले पाटन अस्पताल जानुहुन्छ भनेर सोधे । चालकले ७०० लाग्छ भन्दै ट्याक्सीमा चढाए । केही बेरमा अस्पताल अगाडि पुगे । बलतल्ल सोधपुछ गर्दै ओपीडी टिकट काटे । चिकित्सकले  एमआरआई गर्न सुझाव दिए । केहीबेर पछि आएको रिपोर्ट हेर्दै चिकित्सकले भने– अप्रेशन गर्नुपर्ने हुनसक्छ । एक पटक वीरमा सर्जरी गर्ने डाक्टरलाई देखाउनू ।

भदई हतार–हतार वीर अस्पतालतिर लागे । त्यतिबेला दिउँसोको तीन बजेको थियो । उनको लक्षणको आधारमा त्यसै दिन भर्ना गर्ने निर्णय भयो । केही दिनपछिको सिटीस्क्यान रिपोर्ट हेर्दै डाक्टरले भने  ‘टाउकोभरि ट्युमर छ । अप्रेशन गर्नुपर्छ । नगरे पछि गाह्रो हुन्छ । फुट्यो भने ज्यानै जान सक्छ ।’

ती शब्दहरूले उनको मन छियाछिया बनायो । टाउको अप्रेशन पनि हुन्छ ! जीवनमा पहिलो पटक सुनेका थिए । अस्पताल टेकेका थिएनन् । परिवारमा कसैलाई दुई पैसाको औषधि किनेर खुवाउनुपरेको थिएन ।

उसो त मेडिकल साइन्सका गहिरो कुरा उनको कल्पना बाहिरको थियो । त्यसपछि उनले मनमनै अठोट गरे – जसरी भए पनि छोरोलाई बचाउनुपर्छ ।

तर एक वर्ष बित्न लाग्यो । बैठा दम्पती निको हुने आशाको पर्खाइमा छन् ।  यस बीचमा टाउकोका जटिल तीन वटा शल्यक्रिया भइसके । हरेक पटक यस्तो लाग्छ कि अब छोरो निको भएर घर जानेछ । तर हुन्छ उल्टो ।

ट्युमरका कारण गरिएको तीन वटा शल्यक्रियापछि उनको बोलीचाली नै गुम्यो । ‘अहिले बोल्दै–बोल्दैन । धेरै बोलायो भने कुनै बेला उँ–उँ मात्र गर्छ’, यति भन्दै गर्दा छोरोतर्फ हेर्दै भदई डाँको छोडेर रोए ।

‘नातिको मुख नदेखिकन मर्न चाहन्नँ’

बनिबुतो गरेर जेनतेन गुजारा गर्दै आएका थिए, भदई । जग्गा–जमिन छैन । खोलाको छेउमा सानो झुपडी छ । दिनभर मेलापात गरेर जुटाएको पैसाले परिवारको रातको छाक टार्थे । तर त्यतिले कहाँ पुग्थ्यो र ! ज्याला मजदुरीका लागि कहिले पन्जाब पुग्थे, कहिले बिहार । धान, गहुँ रोप्थे, काट्थे । परिवारको चुलो बाल्थे । अहिले त्यो सबै सपना जस्तै भयो ।

न घर गएका छन्, न काम गर्न सकेका छन् । उनलाई गाउँ फर्कन मन लाग्छ, तर छोरो स्वस्थ नभएसम्म त्यो बाटो बन्द छ ।

घरमा बुबा एक्लै छन् । केही वर्ष अगाडि आमा बितिन् । गत वैशाखमा मात्रै छोरीको विवाह गरे । छोरीकै विवाहका लागि भएको एक टुक्रा जमिन समेत बेच्नुपर्‍यो । धन्न छोरी १२ पास भएकाले ठूलो तिलक (दाइजो) दिनुपरेन ।

चिकित्सकको सल्लाहमा चार दिनका लागि छोरीको विवाहका लागि सुनिललाई लिएर रौतहट पुगेका थिए । तर विडम्बना भोलिपल्ट नै छोरा बेहोस भए । हतारहतार रातारात काठमाडौं ल्याउनुपर्‍यो । त्यसपछि सुनिलको स्वास्थ्य दिनप्रतिदिन बिग्रियो ।

त्यसअघिसम्म अलिकति बोल्थे, हिंड्थे । अहिले त्यो सबै सकिएको छ । उनी बोल्न सक्दैनन्, ट्वाइलेट र पिसाब समेत बेडमै गर्छन् । आवाज हराइसकेको छ । आशा भने अझै बाँकी छ ।

एकातिर छोराको हालत दिनप्रतिदिन बिग्रँदो छ, अर्कोतिर बुढा भएका बुबाले कसरी रात कटाइरहेका होलान् भन्ने कुराले उनलाई कम्ता पिरोलेको छैन ।

केही समयअघि घरमा फोन गर्दा ८० वर्षका बुबाले रुँदै भनेका थिए, ‘नातिको मुख नै नदेखी मर्ने भएँ ।’

‘बुबाको अन्तिम इच्छा नै नातिको मुख हेर्ने छ । तर पैसा नभएका कारण यहाँ आउन सक्नुभएको छैन’, यति भन्दै गर्दा भदईका आँसु गलासम्म पुगिसकेका हुन्छन् ।

अनि घडी बेचे 

बिहान उठ्नेबित्तिकै उनी टाउकोमा टोपी घचघच्याउँदै अस्पताल परिसर वरपर हात फैलाउँछन् । कसैले ५ रुपैयाँ दिन्छ, कसैले १० । एक दिनमा २०० जुट्यो भने त्यो नै ठूलो दिन हुन्छ । केही औषधि किन्न त्यसैबाट टार्ने कोशिश गर्छन् । तर न्यूरो जस्तो जटिल समस्याको उपचार गर्न एक–दुई सयले कहाँ सम्भव हुन्थ्यो र !

कतिपयले हेपेर पनि मुटु नै फुट्ला जसरी तुच्छ शब्द बोल्छन् । ‘छोराको निहुँ गरेर रक्सी खान मागेको होला । यत्रो ज्यान छ, काम गर्नु नि !’ तर के गर्नु यो विरानो शहरमा न उनको कोही आफन्त छन्,  न काम नै पाउँछन् । मजदुरी गर्न नभौंतारिएका पनि होइनन्, तर कसैले पत्याएनन् ।

‘छोरो बचाउनु छ, लाज मानेर बस्न मिल्दैन । हिजो २७० रुपैयाँ उठेको थियो,’ उनी भन्छन्, ‘त्यसैले छोराको औषधि किनें ।’ तर आफू चाहिं ? ‘कहिलेकाहीं दिनभर पानी पिएरै बस्छु । राति भोकै सुत्छु’, भदईले तप्–तप् आँसु खसाल्दै भने ।

छेउमा बसेर कुरा सुनिरहेकी उनकी श्रीमती पनि टोलाइरहेकी छिन् । बिहान–बेलुका श्रीमान् श्रीमतीलाई छाक टार्न समेत मुस्किल छ ।

बैठाले छोरा सुनिलको उपचारका लागि भएको थोरै जमिन पनि बेचिसकेका छन् । श्रीमतीका गहना पनि बेचिसके । अब उनको नाममा केही छैन ।

केही दिन अगाडिको घटना हो, सिटीस्क्यान गर्नुपर्ने भयो । त्यसका लागि १५ हजार लाग्ने भयो । तर त्यो पैसा जुटाउन महाभारत नै पर्‍यो ।

केही समय अगाडि किनेको ३० हजारको फोन थियो । त्यसैलाई बेच्ने निर्णय गरे । हातमा भएको घडी पनि बेचे । केही पैसा अस्पतालकै डाक्टरले सहयोग गरे । जसोतसो त्यसबेलाको समस्या टारे ।

बैठाले छोरा सुनिलको उपचारका लागि भएको थोरै जमिन पनि बेचिसकेका छन् । श्रीमतीका गहना पनि बेचिसके । अब उनको नाममा केही छैन ।

उनको अवस्था देखेर वीरका डाक्टरले कहिले औषधिको पैसा दिन्छन्, कहिले परीक्षण नि:शुल्क मिलाइदिन्छन् । तर फार्मेसीमा करिब एक लाख तिर्न बाँकी छ । फार्मेसीका कर्मचारीले पटक–पटक बाँकी पैसा तिर्नु अनि मात्रै औषधि लैजानु भन्छन् । तर उनको लागि त्यो पैसा फर्स्योट गर्नु चट्टान फोर्नुभन्दा गाह्रो छ ।

‘धेरै दु:ख भोग्नुपर्‍यो । कहिले जिन्दगीमा नभोगेको, यस्तो दु:ख कसैलाई नहोस् ।’ उनी त्यस्तो दिनको पर्खाइमा छन्– छोरोले शय्याबाट उठेर मुस्कुराउँदै बाबा भनोस् । घरमा हिंड्दै जान सकोस् । त्यस पल उनले भुल्नेछन्, वर्षौं–वर्षदेखि अस्पतालमा बिताएका अनिंदा रातहरू ।

एउटै प्रश्न – के गरिबका छोराछोरीको उपचार नहुने हो ?

शायद अस्पतालमा बैठा दम्पतीलाई नचिन्ने कम नै होलान् । दिन बित्छ, रात आउँछ । अस्पताल आउजाउ गर्ने बिरामीका आफन्तले फलफूल बोकेर कोही न कोही बिरामी भेट्न आइरहन्छन् । तर उनको छेउमा कहिल्यै कोही आउँदैनन् ।

भदईलाई थाहा छैन, कहिलेसम्म यो शय्यामा रात कटाउनुपर्ने हो । यहीं बित्यो जिन्दगीको एक वर्ष । त्यहीं बित्यो होली, छठ, दशैं–तिहार जस्ता चाडपर्व ।

गन्यमान्य नेता भन्छन्– अस्पताल राज्यले चलाउँछ । तर भदई जस्ता हजारौं बाबुहरूका लागि राज्य त कहिल्यै आएको जस्तो लाग्दैन ।

हामीकहाँ पहुँच, पैसा भएकालाई उपचार छ । निमुखा गरिबका लागि उपचारको सपना पनि टाढा हुन्छ । जसको सपना सरकारको आँखाले देख्दैन, जसको आँसु स्वास्थ्य नीतिले पुछ्दैन । उनको पीडामाथि नीति बोल्दैन, बजेट काम लाग्दैन । काम लाग्छ भने अस्पतालको कम्पाउन्डमा भेटिने सहृदय मान्छेहरू ।

‘डाक्टर साहेबले त कर्तव्य गरिरहनुभएको छ’ उनी भन्छन्, ‘अब बाँकी भगवानको हातमा छ ।’ तर अन्तत: उनीसँग एउटै सवाल छ – के गरिबका छोराछोरीको उपचार नहुने हो ? पैसा नहुनु अपराध हो ?

०००

डा. राजीव झा भन्छन्, बिरामी (सुनिल) वीर अस्पताल टाउको दुख्ने, बान्ता हुने, आँखा देख्न कम भएर आएका थिए । त्यसपछि उनको सिटीस्क्यान गराउँदा  ब्रेनभित्र ठूलो ट्युमर फैलिएको देखियो । करिब टाउको पाँच भागमध्ये एक भाग ट्युमरले नै ओगटेको थियो । दिमागको दुवैतिर फैलिएको, अगाडि, पछाडि चारैतिर फैलिएको अवस्थामा ट्युमर थियो ।

ट्युमर दिमागको सबै भागमा फैलिने कमै हुन्छ । यो डरलाग्दो ठाउँको ट्युमर हो । यसलाई क्रेनियोफेरेन्जियोमा भनिन्छ । यस्ता ट्युमर क्यान्सरयुक्त हुँदैनन् । तर क्यान्सर नभए पनि यसको रूप क्यान्सरभन्दा पनि खतरा हुन्छ ।

डा. राजीव झा ।

करिब १० सेन्टिमिटरको ट्युमर थियो । ट्यमुरलाई हटाउनका लागि तीन चरणमा शल्यक्रिया भयो । पहिलो सर्जरीमा ट्युमरको सबैभन्दा कडा र दृष्टिमा असर पुर्‍याएको भाग हटाए । त्यसपछि बिरामीको बोली र दृष्टिमा सुधार देखा पर्न थालेपछि दोस्रो सर्जरीबाट बाँकी ट्युमर हटाइयो । तेस्रो चरणमा ट्युमरका कारण मस्तिष्कमा पानी जम्ने समस्या देखिएपछि भेन्ट्रिकुलोपेरिटोनियल  सट राखी ट्युमरबाट छुट्टिने पानी बाहिर निकाल्न पाइप राखिएको छ ।

ट्युमरले जहाँ पानी फाल्छ पाइपको सहायताले बाहिर तानिरहेका छौं । ट्युमर पलाइरहेका कारण किमोथेरापी र रेडियसन थेरापी समेत दिइएको छ । हाल सुनिलको अवस्था सुधारोन्मुख भए पनि पूर्ण रूपमा ठिक हुन अझै दुई–चार महिना लाग्ने देखिन्छ ।

सम्भव भएसम्मको उपचारमा सहुलियत दिएका छौं । केही अस्पताल प्रशासनबाट, केही व्यक्तिगत तहबाट सहयोग गरिरहेका छौं ।

( भदई बैठा सम्पर्क नम्बर : ९८२५२२४०१३  )

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?