News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थामा महिलाले शारीरिक, हर्मोनल, सामाजिक र आर्थिक तनावको सामना गर्नुपर्छ, जसले शिशुको मस्तिष्क र व्यवहारमा गहिरो प्रभाव पार्न सक्छ।
- गर्भावस्थामा योग, हल्का व्यायाम र परिवारसँग खुल्ला कुरा गरेर तनाव कम गर्नुपर्छ र शरीरको परिवर्तनलाई सकारात्मक रूपमा स्वीकार गर्नुपर्छ।
गर्भावस्था महिलाको जीवनको विशेष समय हो, जसमा शारीरिक र मानसिक दुवै प्रकारका परिवर्तनहरू हुन्छन् । यो अवधिमा आमाको मानसिक स्वास्थ्य उनीहरूका लागि मात्र नभई गर्भमा रहेका शिशुका लागि पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । गर्भावस्थाको समयमा आमाले तनाव लिँदा शिशुको मस्तिष्क र व्यवहारमा गहिरो प्रभाव पार्न सक्छ भन्ने कुरा केही अनुसन्धानले देखाएको छ ।
गर्भावस्थाको समयमा महिलाहरूले विभिन्न प्रकारका तनावहरूको सामना गर्नुपर्छ, जस्तै शारीरिक परिवर्तन, हर्मोनल परिवर्तन, सामाजिक दबाब, आर्थिक चिन्ता र पारिवारिक जिम्मेवारीहरू । यी कारणहरूले गर्दा तनावलाई बढाउन सक्छन् । यसबाहेक, पहिलो पटक आमा बन्न लागेका महिलाहरूमा अनिश्चितता र डरको भावनाले पनि तनावको कारण बनाउन सक्छ । यो समयमा परिवार र समाजको सहयोग अत्यन्त आवश्यक हुन्छ ।
गर्भावस्थामा तनाव लिँदा शिशुलाई के हुन्छ ?
गर्भावस्थामा प्रत्येक महिलाले खुसी र स्वस्थ रहनुपर्छ । यदि खुसी रहिन् भने भ्रूणमा यसको सकारात्मक असर पर्छ । गर्भावस्थामा खुसी रहँदा भ्रूणको शरीरका सबै अङ्गहरू राम्रोसँग विकास हुन्छन् । तर, गर्भावस्थामा तनाव लिइन् भने यसले शिशुको शारीरिक स्वास्थ्यमा मात्र नभई मस्तिष्कमा पनि नकारात्मक असर पार्न सक्छ । यस्तो अवस्थामा शिशुको मस्तिष्क विकास सुस्त गतिमा हुन सक्छ, जसले गर्दा पछि गएर बच्चालाई सोच्ने, बुझ्ने वा कुनै निर्णय लिनमा धेरै समय लाग्न सक्छ ।
तनावले शिशुलाई मानसिक स्वास्थ्य समस्याहरू हुन सक्छ
यदि गर्भावस्थामा धेरै तनाव लिइयो भने यसले बच्चाको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । लान्सेट जर्नल वा अन्य अध्ययनहरूका अनुसार, गर्भावस्थामा धेरै तनाव लिनाले शिशुलाई पछि गएर न्यूरोडेभलपमेन्टल डिसअर्डरको सामना गर्नुपर्ने हुन सक्छ । केही अवस्थामा शिशुलाई अटिजमको पनि सामना गर्नुपर्ने हुन सक्छ । साथै, केही अवस्थामा बच्चालाई संवेगात्मक परिवर्तन वा व्यवहारमा पनि परिवर्तन देखिन सक्छ ।
तनावका कारण आमाहरूको शरीरमा कोर्टिसोल जस्ता हर्मोनहरूको स्तर बढ्छ, जुन प्लेसेन्टामार्फत शिशुसम्म पुग्न सक्छ । यसले शिशुको मस्तिष्कको विकासमा बाधा पुर्याउन सक्छ । यसबाहेक, मातृ तनावले शिशुको निद्रा, सिक्ने क्षमता र सामाजिक व्यवहारलाई पनि प्रभावित गर्न सक्छ ।
गर्भावस्थामा धेरै तनाव लिँदा हुने अन्य हानी
गर्भावस्थामा धेरै तनाव लिनु अन्य तरिकाले पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । गर्भवती महिलाले तनाव लिनाले बच्चाको तौल पछि गएर बढ्न सक्छ ।
यस्तो अवस्थामा शिशुलाई सिक्न र बुझ्नमा पनि कठिनाइ हुन सक्छ ।
गर्भावस्थामा तनाव लिनाले कहिलेकाहीँ समयभन्दा अगावै प्रसव हुने जोखिम पनि बढ्न सक्छ, यद्यपि यो केही अवस्थामा मात्र हुन्छ । केही अवस्थामा शिशुको जन्मँदा तौल कम हुन सक्छ ।
गर्भावस्थामा तनाव लिनाले केही बच्चाहरूको रोग प्रतिरोधक प्रणालीमा पनि असर पर्न सक्छ ।
गर्भावस्थामा खुसी रहन के गर्ने ?
योग दिमागलाई तनावमुक्त राख्न निकै राम्रो मानिन्छ । त्यसैले गर्भावस्थामा योग गर्नुपर्छ, जसले शरीरको लचकता पनि बढाउँछ । आफ्नो योग प्रशिक्षकसँग गर्भावस्थामा गर्न सकिने योगबारे जानकारी लिनुपर्छ । यसबाहेक हल्का हिँड्ने र हल्का व्यायामले पनि तनावमुक्त रहन सकिन्छ । योग र व्यायामले शरीरमा एन्डोर्फिन नामक हर्मोन बढाउँछ, जसले दिमागलाई राहत दिन्छ ।
गर्भावस्थामा तनाव हुनु सामान्य कुरा हो, तर आमाले यो समयमा तनावलाई मनमा दबाएर राख्नु हुँदैन । यदि कुनै कुराले चिन्ता छ भने परिवारसँग खुल्ला कुरा गर्नुपर्छ र समाधान खोज्नुपर्छ । यो समयमा तनाव, चिन्ता र डर बढाउने कुनै पनि कामबाट बच्नुपर्छ । आफ्ना नजिकका साथी वा परिवारसँग कुरा गरेर मन हल्का गर्नुपर्छ ।
गर्भावस्थामा शरीरको आकार बदलिन्छ, पेटको आकार बढ्छ र कहिलेकाहीँ स्ट्रेच मार्क्स लिएर महिलाहरू चिन्तित हुन्छन् । यसबारे सकारात्मक सोच राख्नुपर्छ, यो कुरालाई स्वीकार गर्नुपर्छ र समयसँगै यी सबै कुरा ठिक पनि हुन्छन् । त्यसैले आफ्नो शरीरलाई लिएर धेरै सोच्नु हुँदैन ।
प्रतिक्रिया 4