+
+
Shares

त्रिवि दीक्षान्त समारोहको मोडालिटी फेरियो, संस्थान र संकाय अनुसार हुने

अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असार २७ गते १९:५९
दशरथ रङ्गशालामा गत १३ पुसमा आयोजित त्रिविको ५०औं दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरू । फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह अब अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने निर्णय गरेको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभाले समारोहको मोडालिटी परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो।
  • रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले आर्थिक वर्ष २०८२/८३ देखि नयाँ मोडालिटी लागु हुने बताए।

२७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ ।

अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको त्रिविको सभाले फरक–फरक समयमा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको हो ।

गत १३ पुसमा दशरथ रंगशालामा १४ हजार ३०८ जना विद्यार्थीलाई दीक्षित गर्दा अस्तव्यस्त भएपछि त्रिविले समारोहको मोडालिटी नै फेरेको हो ।

‘ठूलो तामझाम नगरी विद्यार्थीलाई दीक्षित गर्न लागेका हौँ । एकै पटक गर्दा ट्राफिक जाम र सुरक्षा चुनौती पनि भयो । अब अध्ययन संस्थान र संकायको फरक–फरक समयमा गर्ने निर्णय भएको छ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने, ‘एकै पटक रंगशालामा गर्दा सुरक्षामा गाह्रो भयो ।’

दशरथ रङ्गशालामा गत १३ पुसमा आयोजित त्रिविको ५०औं दीक्षान्त समारोह । फाइल तस्वीर

यसअघि त्रिविले कुलपति बोलाएर सबैलाई एकै दिन दीक्षित गर्ने गरेको थियो । दीक्षान्त समारोह व्यवस्थित नभएको भन्दै प्रश्न उठ्ने गरेको थियो । दीक्षान्त समारोहलाई व्यवस्थित गर्न फरक-फरक समयमा गर्न लागिएको त्रिविले जनाएको छ ।

‘सबैभन्दा धेरै म्यानेजमेन्टको छ त्यो एक दिन गर्ने । इन्जिनियरिङको आफ्नै कम्पाउन्डभित्र गर्दा भयो । कानुनको एक दिन गर्ने…। जति पनि संकाय र संस्थान छन् सबैको छुट्टाछुट्टै गर्नै सभाबाट पारित भएको छ,’ रजिस्ट्रार रिजाललले भने ।

एउटा समारोहमा भने कुलपति बोलाएर गर्ने तयारी त्रिविको छ । ‘डिन कार्यालयले आफ्नो क्षेत्रमा काम गरेको धुरन्धर व्यक्तिलाई बोलाएर दीक्षान्त समारोह गर्दा हुन्छ । सबैमा कुलपति बोलाउने होइन । एउटा कुनै समारोहमा कुलपति बोलाउने भन्ने हो । जस्तै- पीएचडीमा उपकुलपति बोलाउँदा भयो । संसारभरि नै छुट्टाछुट्टै दीक्षान्त समारोह गर्ने चलन पनि छ,’ रिजालले भने ।

त्रिविले यही आर्थिक वर्ष २०८२/८३ देखि नयाँ मोडालिटी लागु गर्ने भएको छ । ‘१५ पुसभित्र दीक्षान्त समारोह गर्न सबैलाई निर्देशन दिन्छौं,’ उनले भने, ‘यो वर्ष झन ८९ हजार विद्यार्थीको ग्रेसलिस्ट पारित भएको छ । एकैपटक दीक्षान्त समारोह गर्न गाह्रो हुन्छ ।’

दशरथ रङ्गशालामा गत १३ पुसमा आयोजित त्रिविको ५०औं दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरू । फाइल तस्वीर

८९ हजार विद्यार्थीले लिए ट्रान्सक्रिप्ट

यो वर्ष त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट ८९ हजार १९१ जना विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् । यो संख्या १ असार २०८१ देखि २०८२ जेठ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरेर ट्रान्सक्रिप्ट लिएका हुन् । जसमध्ये संकाय अन्तर्गत ७७ हजार २६३ अर्थात ८६.६३ प्रतिशत र अध्ययन संस्थान अन्तर्गत ११ हजार ९२८ अर्थात् १३.३७ प्रतिशत विद्यार्थी छन् ।

पारित भएको ग्रेसलिस्ट अनुसार सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायमा छन् । व्यवस्थापन संकायमा ४३ हजार ६१० अर्थात् ४८.९० प्रतिशत हो । शिक्षाशास्त्र संकायमा १६ हजार ४६७ जना अर्थात् १८.४६ प्रतिशत, मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार ८५१ जना अर्थात् १६.६५ प्रतिशत विद्यार्थी छन् ।

त्यसैगरी कानुन संकायमा २ हजार ३३५ जना अर्थात् २.६२ प्रतिशत, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ७ हजार ४६४ जना अर्थात् ८.३७ प्रतिशत, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा १ हजार ४६३ अर्थात् १.६४ प्रतिशत, चिकित्साशास्त्र अध्ययन संस्थानमा २ हजार २८० जना अर्थात् २.५६ प्रतिशत, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४७६ जना अर्थात् ०.५३ प्रतिशत र वन विज्ञान अध्ययन संस्थानमा २४५ जना अर्थात् ०.२७ प्रतिशत छन् ।

उच्च शिक्षा तहका आधारमा स्नातकमा ७० हजार ५८६ जना, पीजीडीएसमा १३२ जना, स्नातकोत्तरमा  १७ हजार ८८२ जना, एमफिलमा ४२३ जना र विद्यावारिधि/डिएम/एमसिएचमा १६८ जनाले अध्ययन पूरा गरेका छन् ।

८९ हजार १९१ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने छन् । तर दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले फारम भर्ने भर्नुपर्ने हन्छ ।

समयमै नतिजा

त्रिविले समयमा नै परीक्षा र नतिजा प्रकाशित गरेका कारण यो वर्ष ट्रान्सक्रिप्ट लिने विद्यार्थीको संख्या बढेको दाबी गरेको छ ।

रजिस्ट्रार रिजालले वार्षिक परीक्षा तालिका अनुरूप परीक्षाफल समयमा नै प्रकाशित गर्ने लक्ष्य हासिल भइरहेको दाबी गरेका छन् ।

‘परीक्षा सम्पन्न भएको १०० दिनभित्र परीक्षाफल प्रकाशित गर्न सफल भइसकेको छ,’ उनले भने, ‘शैक्षिक पात्रोको प्रभावकारी रूपमा कार्यान्वयन र परीक्षा प्रणालीमा उल्लेख्य सुधार गरिएको छ । परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूको क्षमता अभिवृद्धि गरी १० वटा सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गरिएको छ ।’

त्रिवि रजिस्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फाराम,  ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागी आवेदन फाराम, शैक्षिक कागजातमा नाम/थर/रजिस्ट्रेसन लगायत सच्याउने फाराम,  विभिन्न सिफारिस पत्र, प्रमाणपत्रहरूको प्रमाणीकरण र प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाट नै लिन सकिने छ ।

शैक्षिक क्यालेन्डरलाई कडाइकासाथ पालना गरिएको रजिस्ट्रार रिजालले बताए । ‘गुणस्तरीय शिक्षण सिकाइ, परीक्षा सञ्चालन र नतिजा प्रकाशन मिति समेत तोकी कडाईका साथ शैक्षिक पात्रोलाई कार्यान्वयनमा ल्याइएको छ,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?