
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली कारागारमा शनिबार दिउँसो कैदीबन्दीहरूबीच विवाद हुँदा नाइके खगेन्द्र बोगटी कुटपिटमा परेका छन्।
- बोगटीमाथि कपिल श्रेष्ठको समूहले कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ र घाइते बोगटी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।
- प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बाल नरसिंह राणाले घटनाको अनुसन्धान गरी अहिले विवाद साम्य भइसकेको जानकारी दिएका छन्।
२८ असार, धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच विवाद भएको छ । शनिबार दिउँसो कारागारका नाइके खगेन्द्र बाेगटीमाथि कुटपिट भएपछि विवाद भएको हाे ।
प्रहरीकाअनुसार कुटपिटमा परेका बाेगटीकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनकाे नाक र मुखमा चाेट लागेको प्रहरीले जनाएको छ ।
बाेगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठकाे समूहले कुटपिट गरेकाे कारागार प्रशासनले जनाएको छ ।
घटना भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गाेगनबहादुर हमाल र प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा कारागार पुगेका छन् ।
एसपी राणाले कैदीबन्दीहरूबीच समान्य विवाद भएको बताउँदै अहिले साम्य भइसकेको बताए । सुरक्षा स्रोतकाअनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी हमालले गरेकाे निरीक्षणकाे क्रममा ब्लक ए मा रहेका कैदीहरूसँग माेबाइल फेला परेकाे थियो ।
त्यसपछि शुक्रबार ब्लक ए मा रहेका ७ जना कैदीबन्दीलाई ब्लक बी मा सारिएको थियो ।
तर, कारागारका नाइके बाेगटीले आफू जेलरकाे मान्छे हुँ भन्दै रवाफ देखाएको भन्दै श्रेष्ठकाे समूहले कुटपिट गरेको थियो तर प्रहरीले भने कैदीबन्दीबीच धकलधाकल हुँदाखेरि नाईकेलाई चाेट लागेको दाबी गरेकाे छ ।
प्रमुख अधिकारी हमालले पनि समान्य विवादले घटना भएको बताउँदै अहिले साम्य भइसकेको जानकारी दिएका छन् ।
कैदीबन्दीहरूले जेलर बसन्त खत्रीविरूद्व नाराबाजी समेत गरेका छन् ।
उनीहरूले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनाेमानी गरेकाे भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रतिक्रिया 4