+

महिला क्रिकेटको वान डे प्रतियोगिता यसै वर्ष गर्छौँ : क्यान अध्यक्ष चन्द

२०८२ असार  ३० गते ८:३६ २०८२ असार ३० गते ८:३६
महिला क्रिकेटको वान डे प्रतियोगिता यसै वर्ष गर्छौँ : क्यान अध्यक्ष चन्द

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले यस वर्ष महिला क्रिकेटको एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन्।
  • चन्दले महिला क्रिकेटको विकास र ओडिआई मान्यता पाउनका लागि एकदिवसीय प्रतियोगिता आवश्यक रहेको उल्लेख गरे।
  • क्यानले अक्टोबरमा महिला ५० ओभरको इलिट कप आयोजना गर्ने कुरा क्यालेन्डरमा समावेश गरेको थियो।

३० असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको पनि एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका छन् ।

विरा एजुकेसन कन्सलट्यान्सीले नेपाली महिला राष्ट्रिय टिमकी उपकप्तान पुजा महतोलाई ब्राण्ड एम्बासडर घोषणा गर्ने कार्यक्रममा क्यान अध्यक्ष चन्दले महिला क्रिकेटको एकदिवसीय क्रिकेट यसै वर्ष आयोजना गर्ने बताएका हुन् ।

उनले महिला क्रिकेटको विकास गर्न र महिलाको पनि ओडिआई मान्यता पाउनका लागि एकदिवसीय क्रिकेट प्रतियोगिता आवश्यक रहेको जनाएका हुन् ।

‘मैले एउटा घोषणा धनगढीमा पनि गरेको थिएँ । महिला क्रिकेटका लागि वान डे सुरु गर्छौं यसपालि’ अध्यक्ष चन्दले भने, ‘किनभने देशमा हामी महिलाको वान डे गर्दैनौं । तर हामीले ओडिआई मान्यता दिएन भनेर आईसीसीलाई भन्ने हामीसँग आधार हुँदैन ।’

चन्दले यस वर्ष कम्तीमा पनि चार टिम सहभागी गरेर एकदिवसीय महिला क्रिकेट गर्ने जानकारी दिए । ‘यस वर्ष पटक कम्तीमा चार टिमको ओडिआई प्रतियोगिता आयोजना गरेर महिला क्रिकेटलाई अघि बढाउछौं’ उनले भने ।

महिला क्रिकेटको पनि एकदिवसीय प्रतियोगिता गरेपछि महिलाको ओडिआई मान्यता पाउन आधार बन्ने चन्दको भनाई छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक क्यालेन्डरमा पनि महिलाको ५० ओभरको इलिट कप प्रतियोगिता गर्ने भनेर समावेश गरेको छ । क्यालेन्डरमा अक्टोबरमा उक्त प्रतियोगिता गर्ने उल्लेख छ ।

पछिल्लो समयमा नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको सफलताले नेपाली महिला क्रिकेट फेरि एक पटक हाइटलाइट भएको छ ।

नेपाली यू-१९ महिला क्रिकेट टिमले गत वर्ष पहिलो पटक आईसीसी यू-१९ महिला क्रिकेट विश्वकप खेलेर इतिहास रचिसकेको छ । त्यस टिमको कप्तान पुजा महतो नै थिइन् ।

यस्तै इन्दु बर्माको कप्तानीमा रहेको सिनियर महिला टिमले महिला टी-२० विश्वकपको एसियन क्वालिफायर पार गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएर अर्को ऐतिहासिक सफलता हात पारिसकेको छ ।

सन् २०२६ मा इंग्लयाण्डमा हुने महिला टी२० विश्वकपका लागि अब नेपाली महिला टोलीले १० टोली सम्मिलित ग्लोबल क्वालिफायर खेल्नेछ । त्यसमा शीर्ष चार स्थानमा रहने टोलीले महिला टी२० क्रकेट विश्वकप खेल्नेछ ।

यसैगरी क्यान अध्यक्ष चन्दले महिलाको पनि एनपीएल आयोजना गर्ने योजना पनि रहेको बताए । महिलाको एनपीएल कहिले हुन्छ भन्ने प्रश्नमा चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको रिभेन्यु आएपछि त्यसैबाट महिला क्रिकेटमा लगानी गर्ने बताए ।

‘चाहिने कुरा भनेको पैसा नै हो । एनपीएलको पहिलो सिजनमा नाफामा छैन । घाटामा नभएपनि धेरै नाफा छैन । एनपीएलको रिभेन्यु आएपछि त्यसो पैसा महिला क्रिकेटमा पनि लगानी गर्ने हो’ चन्दले भने ।

चतुरबहादुर चन्द महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय