
News Summary
Generated by OK AI. Editorially reviewed.- विद्या भण्डारीले पूर्वराष्ट्रपतिको सेवा–सुविधा त्यागेर नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेपछि देउवा र ओलीबीच सत्ता सहकार्यमा नयाँ लालजोडी बनेको छ।
- एमाले अध्यक्ष केपी ओलीले विद्याको इन्ट्रीबारे स्पष्टीकरण दिँदै भने, 'पछिल्लो समय मेरा विरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ।'
- विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्किनुले देउवामा छटपटी र बेचैनी उत्पन्न भएको छ, जसले कांग्रेस–एमाले बीचको राजनीतिक सम्बन्धमा असर पार्न सक्छ।
देउवा र प्रचण्डको हुँदाखाँदाको लालजोडी अचानक टुटेपछि समयले अर्को लालजोडी जुटाइदियो– उनै देउवा र ओलीको । अहिले यो लालजोडी खुब जुटेको छ, सत्ता, सत्ता अनि सत्ताका लागि ।
खुब प्यार छ, सत्ताका लागि । खुब डर छ, सत्ता यताउता होला कि भन्ने । कहिलेकाहीं बाहिरफेर पात हल्लिन्छ, लालजोडी स्पष्टीकरण दिन्छन्, अहँ सत्ता केही हुन्न । केही हुनेवाला छैन । हल्लिनेवाला छैन । दायाँबाट बायाँ सुम्पिएको सत्ता समय आएपछि बायाँबाट दायाँ सर्छ । बस्, हुने यत्ति हो ।
कतिसम्म भने लालजोडीका एक सदस्यको पार्टी अध्यक्ष पद गुम्ने हो कि भन्ने पीर–चिन्ताले अर्का सदस्यको मुटु खान्छ । रातभर निद्रा लाग्दैन । त्यस्तो किन भयो होला ? कुरा ‘ओपन सेक्रेट’ जस्तै छ ।
खासमा विद्या भण्डारीले पूर्वराष्ट्रपतिको सेवा, सुविधा त्यागेर राष्ट्र र जनताका लागि सारा जीवन समर्पण गर्ने उद्घोष गरेर आफ्नो पूर्व पार्टी नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेपछि बालुवाटारमा भन्दा ठूलो भुइँचालो बूढानीलकण्ठमा गएको रहेछ । त्यो भुइँचालोको धक्का सानेपासम्म कति पुगेको छ ? समयले बताउने छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विद्यालाई राजनीतिमा आउन नदिन एमाले अध्यक्ष केपी ओलीसँग साउती मारेको घटनाले नै राजनीतिमा विद्याको इन्ट्रीले देउवा कति छटपटीमा रहेछन् भन्ने छर्लङ्ग भएको छ ।
देउवाको अघिल्तिर किस्तीमा सजिएको एउटा मगमग बासनादार लड्डु छ, सत्ता नामको । त्यसलाई ग्रहण गर्न उनी व्यग्र प्रतीक्षारत छन् । त्यसका लागि समय लाग्नेवाला छ । तर उनलाई डर छ, कतै त्यो समय नआउने पो हो कि ? वा समयको हुरीले त्यसलाई तासको घर बनाइदिने हो कि ! धेरै सुन्ने, थोरै बोल्ने गुण भएका उनले रामैसँग बुझेका छन्, त्यसका लागि उनका परम मित्र लालजोडी बलियो भइराख्नुपर्छ । परम मित्र लालजोडीका लागि योभन्दा बढी शुभ के चिताउनु ? जस्तो उनका परम मित्रको पनि सदिच्छा छ । अर्थात्, मनमुटु मिलेको छ । यता च्वास्स हुँदा उता दुख्छ, उता छिस्रिक्क भए यता ! वाह् लालजोडी होस् त यस्तो !
राजनीतिबाट बिदा लिएर घरमा आराम लिनुपर्ने अवस्थाका देउवाको चाहना पूरा गरिदिन एमाले अध्यक्ष केपी ओलीको पार्टीमा एकछत्र पकड हुनुपर्छ, जुन विद्याको इन्ट्री भइसकेको अवस्थामा सम्भव देखिंदैन
उत्तर र दक्षिण दुईतिर मुख फर्किएका राजनीतिक प्राणीको यस्तो मधुर मिलनलाई संसारकै आठौं आश्चर्य मानेर रमाइलो हेर्न बाहेक जनता–जनार्दनले के गर्न सक्नु र ! थाहा छैन, यो लगनगाँठो कतिन्जेलका लागि हो ।
स्पेन पुगेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग युरोपस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग राख्नका लागि धेरै विषय हुनसक्थे । स्पेन जाने बेला विद्याको भाषण समेत सुन्न रुचि नराखेका ओलीले त्यहाँ पुगेपछि विद्याको इन्ट्रीबारे स्पष्टीकरण दिन कति जरूरी थियो ? तर ओलीले बोले, ‘पछिल्लो समय मेरा विरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’ (अनलाइनखबर डटकम, २० असार) तर कुरा छ्याङ्ग थियो ।
अब ओलीको अर्को बोली सुन्न पाइने छ, किनकि विद्याले स्पष्टै बोलिसकिन्, हो; अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा आएकी हुँ ।
केपी ओलीलाई स्पष्ट थाहा छ, विद्या भण्डारी हिजो एमालेभित्रका ‘दश भाइ’ जस्तै या कुनै एघारौं भाइ होइनन् । न त भीम रावल जस्तै, न त विन्दा पाण्डे जस्तै । विद्या विद्या नै हुन् । ‘म क्लास दोहोर्याउँदिनँ’ भन्ने ओलीका लागि बालुवाटार र बालकोटको चिसो हावामा डकार्दै छाती पिटी–पिटी रुवावासी गर्नेहरूका चित्त बुझाउन मदन भण्डारीको लिगेसी बोकेकी विद्या, पूर्वराष्ट्रपतिको सेवा–सुविधा त्यागेर देश र जनताको सेवाको लागि मैदानमा आएकी विद्यालाई साइड लगाउन सजिलो छैन । ओलीसँग एउटै विकल्प छ, देश र कम्युनिष्ट पार्टीको सुन्दर भविष्यका लागि विद्यालाई नेतृत्व सुम्पने, सम्मानजनक बिदाइ लिने । पार्टीको एउटा अभिभावक भएर बस्ने ।
एकातर्फ परिस्थिति यो ढंगले विकास भइरहेको छ । अर्कोतर्फ विद्याको इन्ट्रीले झस्किएका देउवा उनलाई बारबन्देज लगाउन ओलीलाई गुहारिरहेका छन् । आफैं राजनीतिबाट बिदा लिएर घरमा आराम लिनुपर्ने अवस्थाका देउवाको यो चाहना पूरा गरिदिन एमाले अध्यक्ष केपी ओलीको पार्टीमा एकछत्र पकड हुनुपर्छ, जुन विद्याको इन्ट्री भइसकेको अवस्थामा अब आएर सम्भव देखिंदैन । र, राजनीतिका चतुर खेलाडी ओलीले पार्टीको सक्रिय राजनीतिबाट बिदा लिने बेला देउवाको इच्छा पूरा गर्नकै लागि त्यस्तो दुस्साहस पनि नगर्लान् । आखिर ओलीभित्र पार्टीप्रतिको अगाध स्नेह छ, जसको कारण अबको अध्यक्षका लागि निर्विकल्प मानिएकी विद्यालाई स्वयम् उनैले प्रस्ताव गरेर अगाडि बढ्नेछन् ।
ठिक छ, राजनीतिमा इमानदारी हुनुपर्छ । एमालेले सहमति गरेको छ, उसले देउवालाई चुनावी सरकारको प्रधानमन्त्री बनाउँदा राजनीतिक इमानदारीको सन्देश पनि जान्छ । तर के २०८४ को चुनावमा सत्ता सहकार्य गरेकै आधारमा कांग्रेस–एमाले बीच चुनावी तालमेल सम्भव छ ? आठौं आश्चर्यको भाग–२ मञ्चन हुन सम्भव छैन । दुई ध्रुवतिर फर्किएका दुई मुख्य राजनीतिक शक्ति सत्ता सहकार्य गरेकै अवस्थामा चुनावमा जाँदा परिणाम के होला यो भोलि देखिने कुरा हो । तर एउटा कुरा के चाहिं पक्का छ भने यसले यस्तो असन्तोष पैदा गराउने छ, नेपालमा राजनीतिक ध्रुवीकरणको शुरुआत यही बिन्दुबाट हुनेछ । राजनीतिक कोर्स करेक्सनका लागि यो राम्रै हुनेछ ।
एउटा नेताले कति समय पार्टीको नेतृत्व गर्दा वा कति पटक प्रधानमन्त्री बन्दा देश समृद्ध बन्छ ? अहिले सारा जनताको मन पोलेको प्रश्न हो यो । तर जवाफ छैन । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि नेपालका कम्युनिष्ट पार्टीभित्र ‘जनवादी केन्द्रीयता’को नाममा आन्तरिक प्रतिस्पर्धालाई नेतृत्वले नचाहँदा प्रतिबन्ध जस्तै छ । कसैले शिर उठाए नेतृत्वले उसको दशकौं लामो त्याग, तपस्या र राजनीतिक जीवन अनुशासनको नाममा किनारा लगाउन कुनै आइतबार कुर्नुपर्दैन । त्यसैले अब हाम्रो बेला भयो भनेर कोही पनि आँ…सम्म गर्न सक्ने अवस्था छैन ।
जननेता मदन भण्डारीले प्रतिपादन गरेको नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ले कल्पना समेत नगरेको विषय हो यो । सहमतिको नाममा जबर्जस्ती निर्णय थोपर्ने र सास नजाउन्जेल पद नछोड्ने प्रवृत्तिले देश, जनता र स्वयम् दलको पनि भलो गर्दैन । यो मामलामा आफूलाई अग्रगामी मान्ने कम्युनिष्टहरूले भन्ने गरेका ‘बुर्जुवा’ भन्दा उनीहरू नै बढी लोभी देखिएका छन् । यस्तो अवस्थामा मुख्य भनिएका राजनीतिक दलको नेतृत्वका लागि एउटा तेज बोकेको ओजस्वी व्यक्ति, एउटा नायकको जन्म हुनु अपरिहार्य छ । जसले विशेषगरी नेपालका कम्युनिष्ट पार्टीहरूको ओरालो यात्रालाई रोक्न सकोस्, उकालोतिर गियर बढाउन सकोस् ।
विद्या भण्डारी पुन: सक्रिय राजनीतिमा इन्ट्री हुँदै गर्दा देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको स्पष्ट पारेकी छिन् । मदनका सपनालाई सबैभन्दा नजिकबाट सँगालेकी र सात वर्ष राष्ट्रपति हुँदा देश दु:खेको हेरेकी विद्याले सानो सपना, हिम्मत र साहसका साथ यो निर्णय लिएकी पक्कै होइनन् भन्ने विश्लेषण गर्न सकिन्छ । यो हिम्मत र सपनालाई नेकपा एमालेको उच्च नेतृत्वले रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ । कार्यकर्तामा सञ्चारण भएको उत्साहमा थप उत्साह थप्नुपर्छ र पार्टीलाई एकढिक्का र अझै बलियो बनाएर लैजान सके मात्र जनताका सपना पूरा गर्न सम्भव हुन्छ । संसदीय व्यवस्थामा जनताको मन र मत जितेर मात्र सत्ताको तालाचाबी हातमा पाइन्छ । जहाँ जनतालाई सधैं रुमानी सपना देखाउने मात्र होइन साँच्चिकै समतामूलक समाज निर्माण गर्न सकियोस् ।
अहिलेको एमालेमा त्यस्ता बहादुर नेता छैनन् जसले नेतृत्वलाई भन्न सकुन्— ‘अब हामी नेतृत्व गर्छौं, तपाईं हाम्रो अभिभावक भएर बस्नुपर्यो ।’
विडम्बना, भावी नेतृत्वको बहस चलिरहँदा नेकपा एमालेका केही व्यक्ति प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरेर छाती पिटी–पिटी रुन थालेका छन् । रुवावासीको आवाज बाहिरसम्मै आएको छ । कतिपय बुज्रुकहरू नेतृत्वमा विद्याको आकांक्षाले पार्टी नै विभाजन हुनसक्ने भन्दै प्रोपोगाण्डा फैलाउन उद्यत भइरहेका छन् । खाइपाइ आएको सेवा–सुविधा गुम्ने, ओलीको नाममा गर्न पाइने गुटबन्दी र रजगजबाट हात धुनुपर्ने संशयले त्यस्ता बुज्रुकहरूको नीद हराम भएको उनीहरूका तल्लो स्तरका अराजनीतिक आरोपले पुष्टि गर्छ । ओलीलाई पनि आफ्ना ‘गणेशहरू’प्रति अधिक प्रेम छ । एमालेमा ओलीले विश्राम लिए हुन्थ्यो भन्नेमा धेरैको मतैक्यता छ । जनमतले पनि नयाँ र आशालाग्दो नेतृत्व चाहेको छ । तर एमालेमा अहिले कोही त्यस्तो बहादुर नेता छैन जसले भन्न सकुन्, ‘अब हामी नेतृत्व गर्छौं, तपाईं हाम्रो अभिभावक भएर बस्नुपर्यो ।’ यस्तो परिस्थितिमा विद्या भण्डारीको इन्ट्री आफैंमा अर्को पुस्ताका लागि सुखद् सन्देश हो, नेतृत्व हस्तान्तरणको अवसर हो । यसलाई व्यवस्थापन गरेर लैजानसके राजनीतिक नेतृत्वमा जनताले अहिले महसुस गरेको ग्याप पुर्ने अवसर पनि छ । त्यसका लागि विद्या भण्डारीसँग यो देश कस्तो बनाउने, आफ्नो पार्टी एमाले कस्तो बनाउने, वामपन्थी आन्दोलनलाई कसरी सम्हालेर लैजाने भन्ने सुस्पष्ट दृष्टिकोण र लक्ष्य हुनैपर्छ ।
अनि देउवा ! देउवालाई विद्याको इन्ट्री किन दुख्यो ? एमालेमा विद्याको इन्ट्रीबाट देउवा किन झस्किएका छन् ? विद्याको इन्ट्रीले देउवामा किन यतिसारो छटपटी पैदा गर्यो ? एमालेमा विद्याको इन्ट्रीसँगै देउवाको मुटु दुखेबाट यस्ता दर्जनौं प्रश्न उब्जिएका छन् ? के विद्या कुनै अमूक पार्टी गठन गरेर सक्रिय राजनीतिमा आएको भए देउवामा यतिविधि छटपटी हुन्थ्यो ? उत्तर सिधा छ, अवश्यै हुन्थेन । सिधा सिधा यसका दुई वटा कारण छन् । एउटा, छैटौं पटक प्रधानमन्त्री बनेर रेकर्ड लेखाउने अवसर गुम्ला कि भन्ने डर । अर्को, विद्या भण्डारी आफ्नो पूर्व पार्टी र अहिलेको अवस्थामा नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमालेको सक्रिय राजनीतिमा इन्ट्री हुँदा पार्टी अध्यक्ष बन्ने, एमाले थप बलियो बन्ने र विद्याको नेतृत्वमा नेपालका वामपन्थीहरू एकै ठाउँमा उभिनसक्ने सम्भावनाले देउवामा पलाएको भय । यसले उनलाई सम्भवत: रातमा निद्रा न दिनमा भोकको अवस्था आएको हुनसक्छ । राजनीतिका चतुर खेलाडी मानिने देउवाले विद्यालाई एमालेको सक्रिय राजनीतिमा आउनबाट रोक्न ओलीसँग साउती मार्नुका मुख्य कारण यसभन्दा अलि पर अरू पनि हुन सक्छन् । मुख्यगरी देखिने कारण चाहिं यिनै हुन् । तर एमालेभित्र विकसित परिस्थितिले देउवाको बेचैनी घट्नेवाला देखिंदैन ।
प्रतिक्रिया 4