३० असार, काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशन समयमै गर्न र पार्टीभित्र समूहगत कटुता हटाउन दुई चरणमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारे । पहिलो चरणको महाधिवेशनबाट संघीय सभापति छान्ने र आम चुनावपछि मातहतका संरचनामा अधिवेशन गर्ने विकल्प उनले अघि सारेका हुन् ।
नेता रिजालसँग उनले ल्याएको नयाँ प्रस्ताव, पार्टी महाधिवेशन, सरकारको एकवर्षे कार्यकाल, पूर्व राष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेश लगायत विषयमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ९ महिनापछि बसेर २३ असारमा सकियो । बैठकले पार्टीलाई के दियो ?
महामन्त्री गगन थापासँग हाँस्दै तर गम्भीरतापूर्वक भनेको थिएँ कि, ९ महिनामा त बच्चा जन्मिने बेला हुन्छ, खासै बोल्ने उत्साह पनि छैन । पार्टीका बैठकहरू कर्मकाण्डी हुन थाले । मूल नेतृत्वले भनेका कुरालाई अनुमोदन गर्ने औपचारिकताका लागि मात्रै पार्टीका बैठकहरू हुन थाले ।
अहिले १६७ जना केन्द्रीय सदस्य छन्, उनीहरूका लागि बोल्ने समय ७ मिनेट छुट्याइएको थियो । ७ मिनेट बोल्दा यसरी बोल्छु भन्ने औपचारिकतामा मात्रै सीमित हुने बैठक भयो । त्यसपछि पदाधिकारीले प्रशिक्षणमा जस्तो पट्यारलाग्दो गरी बोल्नुभयो । हाम्रो सभापति बोलेर खासै केही हुन्छ भन्ने कुरामा विश्वास नगर्ने मान्छे हुनुहुन्छ । उहाँले भरसक बोल्नै नपरिकन पार्टी बैठक अनुमोदनको औपचारिकता पूरा गरेर टुङ्गिने हुन थाल्यो ।
लामो पट्यारलाग्दो भाषण गर्ने समय पदाधिकारीलाई मात्र प्राप्त हुने, सभापतिलाई त्यसमा अभिरुचि नहुने, अरूलाई ७ मिनेटको ज्याकेट जुन बनाएको हुन्छ, फरर्र आफ्नो कुरा गरेर हिंड्ने प्रकृतिको भयो ।
बैठकमा विधान संशोधन गरेर दुई चरणमा महाधिवेशन गरौं भनेर प्रस्ताव राख्नुभएछ, त्यो भनेको के हो ?
सभापति शेरबहादुर देउवाजी आफ्नो दोस्रो कार्यकाल पूरा गर्दै हुनुहुन्छ । अर्को कार्यकालका लागि उहाँलाई विधानले नै रोक लगाएको छ । उहाँले नै विधान संशोधनको चाहना राख्नुभयो भने पनि त्यो सहज हुन्छ जस्तो मलाई लाग्दैन र उहाँको पनि त्यत्रो उत्कट चाहना देखिन्न । चाहना राख्दा पनि त्यो बाटोमा पार्टी जान तयार छ जस्तो लाग्दैन ।
पार्टीमा सभापति असाध्यै बलियो हुनुहुन्छ । उहाँले भनेको कुरा हुन्न भनेर अर्को बाटोमा पार्टीलाई अगाडि लैजान न त संख्याको बहुमत छ न वैचारिक रूपमा त्यस्तो नेतृत्व गर्न सक्ने आँट नै छ । क्षमता त होला, आँट किन छैन भने भोलि सभापति बन्ने आकांक्षाले । सभापतिबाट सहयोग प्राप्त गर्ने अथवा इनाम प्राप्त गर्ने चाहना राख्ने कसैका लागि पनि उहाँलाई चिढ्याउने बाटो उपयुक्त हुँदैन ।
७ बुँदेमा अन्तर्निहित सहमति अनुसार सभापति प्रधानमन्त्री बन्ने, प्रधानमन्त्री बन्दाखेरि नै पार्टीको महाधिवेशन सम्पन्न गर्ने, प्रधानमन्त्री भएरै देशको आम निर्वाचन पनि गर्ने जिम्मेवारी पूरा गर्ने । कांग्रेसले कुरेर बस्नलाई खोला वारि होइन खोला पारिको भाग लिन पनि तयार भएको रूपमा उभिनुभएको छ । सहमति गम्भीरतापूर्वक नै सोचेर गर्नुभएको होला ।
मैले यतिका धेरै नेतासँग संगत गरें । प्रधानमन्त्रीमा मातृकाप्रसाद कोइरालादेखि के.आई. सिंह बाहेक सबै प्रधानमन्त्रीसँग मेरो राम्रै संगत भयो । त्यसबाट मैले देखेको सभापति जस्तो राजनीतिलाई कसरी अगाडि लिएर जाने कुराको मूल्यांकन अरूमा देखिनँ । आफ्ना सहयोगी, समूह, कांग्रेस पार्टी, नेपालको लोकतान्त्रिक शक्तिलाई कसरी अगाडि बढाउने भन्ने चेतना उहाँको जस्तो अरूसँग मैले देखिनँ । उहाँ जस्तो बाठो कोही देखिनँ ।
सभापतिका व्यक्त/अव्यक्त रहेका कुरालाई ध्यानमा राख्यो भने बढी बुझ्न सकिन्छ । उहाँले तेस्रो पल्ट लड्दिनँ भन्नुभएको छ । सभापति बन्न चाहने सबै नेताले उहाँको सहयोगको ठूलो अपेक्षा राखेका छन् । उहाँसँग कोही पनि विद्रोह गर्न तयार छैनन् भन्ने पनि उहाँले बुझ्नुभएकै छ ।
कांग्रेसलाई भोट हालौं कि नहालौं भनेर सोच्ने मतदाताले आजको दिनमा कांग्रेसमा नयाँ ऊर्जा, जोस, जाँगर सहित नयाँ कलेबरमा आउँछ कि उही पुरानो रूपमै आउँछ भनेर हेर्छ । चिनेका भन्दा नचिनेको जोसुकै भए पनि तिनलाई विकल्प मान्न तयार छौं भनेर स्वीकार्नेहरू पनि छन् । पार्टीको नेतृत्वमा जान चाहने मान्छेले पनि चुनावमा जाँदा देशलाई नेतृत्व दिने बेलामा नयाँ नेता बोकेर जान्छ भन्ने कुरालाई कहीं न कहीं सम्प्रेषित गर्नुपर्छ ।
त्यसैले पार्टीमा देउवाको निरन्तरता सँगसँगै कांग्रेसको परिवर्तनको चाहनालाई पनि मूर्त रूप दिन सकिन्छ भन्ने खालको सन्देश र भरोसा दिनुपर्छ । त्यो भरोसा दिन सकिएन भने आम निर्वाचनमा हामीलाई कठिनाइ हुने हुँदा दुई पृथक् विषय आन्तरिक जीवनमा माग हुन्छ । सभापति देउवाको निरन्तरताका विषयमा बढी ध्यान पुर्याएर उहाँलाई अलिकति पनि अप्ठ्यारो नपारिकन काम गर्यो भने सहज हुन्छ ।
तपाईंले ल्याएको प्रस्ताव अनुसार विधान संशोधन भए महाधिवेशन हुने र गुटगत समस्या समाधान पनि हुन्छ त ?
आम निर्वाचनसम्म सभापति देउवाको पदमा रहिरहने चाहना, आम निर्वाचनमा पार्टीलाई लिएर जाने, विकल्पको राजनीतिमा अरूतिर नगएर कांग्रेसले कांग्रेसलाई परिमार्जन, रूपान्तरण गराउन यो प्रस्ताव ल्याएको हुँ । वास्तवमा ‘रियल कांग्रेसको हार्ट एण्ड सोल’ नै स्वीकार गर्दै अगाडि बढ्ने चिन्तनमा जोड्न खोजेको हो मैले ।
६ महिनाभित्र महाधिवेशन हुनुपर्छ तर, जतिसुकै कुरा गरे पनि नहुने परिस्थिति अगाडि आइरहेको छ । त्यो परिस्थितिलाई डिफेन्ड गर्ने एकथरी मान्छे होलान् । एकथरीले यो गल्ती भयो भन्लान् । तर क्रियाशील सदस्यकै टुङ्गो लागेको छैन । असोजमा क्रियाशीलको टुङ्गो लगाएर पार्टीले मंसिरमा त महाधिवेशन गर्न सक्दैन ।
त्यसैले एक वर्ष म्याद थपिन्छ भन्ने कुरा स्पष्ट छ । अझ नेपालको संविधानले त अर्को ६ महिना पनि दिन्छ । कहीं न कहीं चिन्तन गर्ने हो भने यसबाट मुक्ति कसरी प्राप्त गर्ने त ? कांग्रेसले नयाँ नेतृत्व यो हो भनेर देखाउन पनि सकियोस्, देउवाको सहयोग प्राप्त गर्न चाहनेले सहयोग पनि प्राप्त गर्न सकून् ।
२०८३ साल मंसिरमा महाधिवेशन गर्दा सोही वर्ष चैत वा अर्को वर्ष वैशाखमा स्थानीय चुनाव हुन्छ । कांग्रेसले आफ्नो वडा वडाको निर्वाचन र महाधिवेशन गरेर पार्टीभित्र नयाँ कार्यसमिति त आउँछ, तर पार्टीको सबै तहमा निर्वाचन सम्पन्न गर्दाको वैमनस्यता र द्वेषको भावना लिएर आम चुनावमा जानुपर्ने हुन्छ । स्थानीय तहको निर्वाचनमा जाँदा एकअर्कालाई हराउने गरी तिक्तता हटाएर जानुपर्दछ । स्थानीय तहको निर्वाचन परिणामको तिक्तताले संघ र प्रदेशको निर्वाचनसम्म पार्ने असर रोक्नुपर्ने हुन्छ ।
अब त्यसको उपायमा कांग्रेसमा नयाँ नेतृत्वको अनुभव पनि देखाउन सकियोस् । देउवाको निरन्तरता चुनावसम्म पार्टीमा सभापतिका रूपमा हुने गरी सम्मान गर्दै अगाडि जान पनि सक्छौं । क्रियाशील सदस्य वा सिधैं क्षेत्रीय प्रतिनिधिहरू मार्फत महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न सकिन्छ । ती महाधिवेशन प्रतिनिधिले मात्रै केन्द्रीय सभापतिको निर्वाचन गर्न पाउँछन् ।
तपाईंले भने अनुसार केन्द्रीय सभापति चयन गर्न पहिलो चरणको महाधिवेशन गर्ने र आम निर्वाचन भइसके पछाडि अर्को चरणको महाधिवेशन गर्ने ?
केन्द्र र सातवटा प्रदेशको पनि नेतृत्व चयन गर्न सक्नुहोला । किनभने, देशको संविधानमा पाँच वर्षभित्र पार्टीको संघीय र प्रादेशिक संरचनाको निर्वाचन हुनुपर्छ भनेर लेखिएको छ । सभापतिको मात्रै निर्वाचन गर्यौं भने नयाँ नेतृत्व भयो । देउवा पार्टीको सभापति भइराख्नुहुन्छ । नयाँ आउने सभापतिको कार्यकाल आम निर्वाचनपछि सुरु गर्ने मेरो प्रस्ताव हो ।
आम निर्वाचनअघि १५औं महाधिवेशन गरेर निर्वाचित हुने सभापतिले राष्ट्रिय चुनावपछि कार्यकाल सुरु गर्ने ?
चुनावी सरकारको नेतृत्व गर्ने गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्नुभएको छ । देशलाई देखाउने सहमति भनेको सार्वजनिक दस्तावेज हो । निर्वाचित सभापतिको कार्यकाल आम निर्वाचनपछि सुरु हुनेछ । आम निर्वाचन सकिंदासम्म वर्तमान कार्यसमितिले काम गरिरहेको हुन्छ ।
तर, आम दुनियाँले नयाँ कांग्रेस सभापति चुनाव अघि नै देखिसकेको हुन्छ । बाहिर एकदम स्पष्ट अनुहार चुनाव अघि नै आउँछ । नयाँ आउने सभापतितिर ध्यान सबैको भएपछि विकल्पमा कांग्रेससँग नयाँ नेतृत्व हुन्छ । कांग्रेसको विधान कसरी संशोधन गर्ने ? उसले सञ्चालन गर्न खोजेको कांग्रेस कस्तो हुन्छ ? उसले आम निर्वाचनभन्दा अगाडि आफ्नो घोषणापत्र प्रस्तुत गर्ने बेलामा प्रस्तुत गर्न सक्ने भयो । अहिले भएको कार्यसमिति प्रभावित गरेर यस्तो कांग्रेस बनाउँदै छलफल लिएर जान सक्ने भयो ।
कांग्रेसको विभाग, पार्टीसँग केन्द्र, प्रदेश र स्थानीयसँग सम्बन्धमा के हुने छलफल लिएर नयाँ सभापतिले लिएर जानसक्ने भयो । कांग्रेसका भ्रातृ र शुभेच्छुक के हुने छलफल हुने भयो । अहिले त यी भ्रातृ संस्थाहरूले पार्टीलाई अगाडि बढाउने भन्दा यिनैको बोझबाट कांग्रेस सकिने भयो । जनसम्पर्क समितिसँग सम्बन्ध के हुने ? निजामती लगायतका विभिन्न पेशा व्यवसायका शुभेच्छुक संस्थाहरू बारे नयाँ आउने सभापतिले नीति तय गर्नुहोला । म्याग्दी, मोरङ, मनाङ, नेपालगञ्जमा संगठन गर्ने मान्छेले एउटै खालको संगठन संरचना खोजी नगर्ला ।
नयाँ सभापतिसँग छलफल गर्नका लागि लामो समय प्राप्त हुन्छ । त्यो समय उपयोग गरेर उसले एउटा दस्तावेज र नीति लिएर आओस् । त्यसपछि आउने निर्वाचनमा पार्टीको प्लाटफर्मलाई प्रभावित गरोस् ।
यो प्रस्ताव २०८३ अघि महाधिवेशन गर्ने उद्देश्यले राख्नुभयो । कतिपय नेताहरू आम चुनावपछि महाधिवेशन गर्नुपर्ने तर्क गर्नुहुन्छ ?
मैले सकेसम्म त्यही चिज रोक्नका लागि कोसिस गरेको हो । सभापति बनाइसकेपछि १० जनाले म सभापति बन्छु भनेर १० वटा कुरा गर्न पनि परेन । सभापति छानिसकेको हुन्छ । त्यो भइसकेको सभापतिलाई हटाउँछु भन्न पाइएन ।
नयाँ बन्ने सभापतिले कसरी सहकार्य स्थापित निर्माण गर्ने र अर्को पाँच वर्ष कसरी पार्टी सञ्चालन गर्ने, सोचिरहेको हुन्छ । त्यसै किसिमले नयाँ कलेबर, नयाँ नेतृत्व, नयाँ ढंगले स्मार्ट तरिकाले चलाउने कांग्रेस बनाउन सकिन्छ भन्ने चाहनाले यो प्रस्ताव गरेको हुँ ।
पार्टीभित्र साधारण काम छ । सभापति देउवाको समर्थन जुटाउन सक्यो भने साधारण हिसाब गरे पनि कम्तीमा एक तिहाइ समर्थन त सभापति शेरबहादुर देउवाको रहन्छ ।
आउटगोइङ सभापतिसँग एक तिहाइ महाधिवेशन प्रतिनिधि सँगै रहन्छन् ?
आजको दिनमा त उहाँसँग त्योभन्दा ठूलो संख्या छ । देउवाले सभापतिमा आउन चाहनेलाई समर्थन गर्दा कम्तीमा एक तिहाइ महाधिवेशन प्रतिनिधिको समर्थन प्राप्त हुनेछ भन्ने मलाई लाग्छ । मैले आकलन त गर्न पाएँ नि !
तर, कांग्रेस नेताहरू त स्वयं देउवा नै उठ्ने अवस्था नहुँदा उनले भनेकै स्थानमा मत दिन प्रतिनिधि बाध्य हुँदैनन् भन्दैछन् । पछि देउवाले मत ट्रान्सफर गराउन सक्दैनन् भन्छन् नि ?
शेरबहादुर देउवाले त्यस्तो व्यक्तिलाई समर्थन गर्नु बाध्यता के होला जसलाई उहाँले ट्रान्सफर गर्न सक्नुहुन्न । उहाँले नचाहेको मान्छेलाई गर्नुहोला र उहाँले ट्रान्सफर ? कसले नेतृत्व दिन सक्छ र जित्न सक्छ, उहाँले मज्जाले बुझ्नुभएकै छ । यस्ता कुरा सबैभन्दा बुझ्ने मान्छे हो उहाँ । आजको दिनमा पनि, कम्तीमा एक तिहाइ मत आफूले समर्थन गरेको व्यक्तिलाई सभापति बनाउने पक्षमा पार्न देउवाले सक्नुहुन्छ । एकातिर देउवाको लिगेसी पनि कायम रहने, अर्कोतर्फ आम निर्वाचन पछाडि विकल्पको नेतृत्व पनि देखिने हुन्छ ।
अर्को प्रसङ्ग, सबैभन्दा ठूलो दल बनेको कांग्रेसको काम कम्युनिष्टहरूलाई बोकेर सत्ताको नेतृत्वमा पुर्याउने भइरहेको छ । यो सरकार बनेको एक वर्ष भयो । यो सरकारको कार्यशैलीबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?
एक वर्षमा जुन गति र ढंगले चलेको छ, त्यही गति र ढंगले अर्को अढाइ वर्ष चल्ने हो भने कांग्रेस, एमाले र देशलाई खति हुन्छ । यो एक वर्षको अनुभवबाट अब आउने अढाइ वर्ष अझ राम्रोसँग सञ्चालन गरौं । राम्रोसँग सञ्चालन गर्नका लागि हामीलाई बहुमतको चिन्ता छैन । सरकार कसैले बदल्दिन्छ भन्ने चिन्ता पनि भएन । त्यसैले मान्छेले गर्ने भनेको आजसम्मको अनुभवबाट खारिएर भोलि झन् राम्रो गर्ने हो । एक वर्ष गज्जब भयो भन्ने एकथरी मान्छे छन् ।
दुई दलले गरेको सातबुँदे सहमतिको कार्यान्वयन गर्न कांग्रेसले पहलकदमी लिन नसकेको त हो नि ?
प्रधानमन्त्रीले के के न भयो जसरी उहाँले आँकडा प्रस्तुत गर्नुभएको छ । त्यो आँकडा एक–एक वटा केलाएर कुरा गर्न सकिन्छ । आजको एक वर्षको अनुभवबाट अझ राम्रोसँग चलाउनलाई कहाँ कहाँ हाम्रो के ढंग पुगेन ? कांग्रेस एमाले मिलेर संविधान १० वर्षको अनुभवबाट के के विषयमा संशोधन गर्नुपर्छ ? यसमा छलफल भएको छैन ।
ठूला पार्टीहरूले कसैसँग गठबन्धन नगरी चुनाव लड्नका लागि निर्वाचन प्रणालीमा कसरी परिवर्तन गर्ने ? यो मुखले भन्ने कुरा मात्र होइन । कामले नै गठबन्धन बनाउन नपर्ने गरी कानून निर्माणमा लाग्ने हो । यही तरिकाको संविधान, यही निर्वाचन प्रणाली हुँदा गठबन्धन बन्छ बन्छ, त्यो कस्तो बन्छ भन्ने मात्रै कुरा हो ।
कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरिसकेको छ । तपाईं गठबन्धन फेरि पनि हुनसक्ने बताउनुहुन्छ ?
त्यो निर्णयले मात्र केही पनि हुँदैन । त्यो निर्णय त अर्को बैठकले परिवर्तन गर्न सक्छ नि स्वार्थमा । त्यसैले त्यो निर्णय गर्नुपर्ने आवश्यकता नै नहुने गरी निर्वाचन प्रणालीमा संशोधन गर्न सकिन्छ । संवैधानिक आयोगहरू कसरी चले ? तिनको नियुक्ति कसरी हुने ? अख्तियारलाई स्थानीय तहसम्म हेर्न सक्ने कसरी बनाउने ? संघ र प्रदेशको सम्बन्धलाई कसरी अझ गहिरो बनाएर प्रदेशहरू अझ राम्रोसँग काम गर्न सक्ने गरी त्यसलाई परिभाषित गर्ने ? यस्ता थुप्रै चिज संविधान संशोधनको कार्यबाट मात्रै पुग्छौं ।
संविधान संशोधन पनि दुइटा फेजमा गर्न सकिन्छ । एउटा आउने आगामी आम निर्वाचनभन्दा अगाडि गरिसक्नुपर्ने काम र निर्वाचनपछि पनि सक्ने गरी छुट्याएर संविधानको संशोधन गर्नुछ । यो सबै काम नगरिकन कांग्रेस एमालेले के भनेर चुनावमा जाने ?
दुई दलको सहमति अनुसार कांग्रेस सभापति देउवालाई अहिलेका प्रधानमन्त्री केपी ओलीले पद हस्तान्तरण नगर्ने चिन्ता र आशंका पार्टीभित्र देखिन्छ । सहमति अनुसार देउवा प्रधानमन्त्री हुनबाट रोकिने अवस्था देख्नुहुन्छ ?
ओली र देउवालाई यो सहमतिभन्दा बाहिर जानुपर्ने र गए बापतमा आफ्नो स्वार्थ सिद्ध हुने कारण म देखिराखेको छैन । यो सहमति पालना गर्नमै उहाँहरूको अभिरुचि भएको देख्छु । दोस्रो कुरा, हाम्रो पालो आउने बेला हुँदै जाँदा ओलीजीले धोका दिन्छन् भनेर हिंड्नु चाहिं कांग्रेसको पालो नआओस् भनेर माला फिराए जस्तो भयो नि ! त्यसैले ओलीजीले धोका दिनुहुन्न । दिने परिस्थिति हुन पनि दिन्नौं, बहाना पनि दिंदैनौं । उहाँले धोका दिनुहुन्छ भन्ने मलाई लाग्दैन ।
अलिकति छ भने पनि उहाँलाई त्यो शंकाको सुविधा दिनु त हाम्रो मूर्खता मात्रै हुन्छ । त्यसैले ओलीजीलाई कुनै पनि बहाना नदिइकन कांग्रेसको पालोसम्म पुर्याउने काम गर्नुपर्नेछ । आफैंलाई बिगार गर्ने तर्क गर्दै हिंडेर आफैं नाश गर्ने तर्क गर्ने मान्छेहरूलाई थप बल पुर्याउन किन तर्क गर्नुपर्यो ?
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा प्रवेशको विषय कांग्रेस बैठकमा पनि केही नेताले उठाउनुभयो । उहाँको सक्रिय राजनीतिमा फिर्तीबारे तपाईंको विश्लेषण के छ ?
यसलाई दुइटा अर्थमा हेर्नुपर्छ । व्यक्तिको कुरा गर्दा एमालेमा को नेता हुन्छ भन्ने कुरामा धेरै अभिरुचि हामीले राख्नुपर्ने जरुरत छैन । जोसुकै मान्छे होस् हाम्रो सामान्य अभिरुचिको विषय भयो । किनभने नेपालको एउटा प्रमुख राजनीतिक दल हो । एमालेको नेता के हुन्छ भन्नेले आउने दिनको राजनीतिलाई परिभाषित गर्छ ।
त्यस बाहेक अहिले बृहत् तरिकाले लोकतन्त्रलाई यसले के गर्छ त भन्ने हिसाबबाट हेर्नुपर्ने आवश्यकता छ । राजनीतिको एउटा ढोकाबाट निस्क्यो भने शीतलनिवास पुगिने, अर्को ढोकाबाट निस्क्यो भने कुनै राजनीतिक पार्टीको मुख्यालयमा पुगेर त्यसको अध्यक्ष बन्ने कार्यले नेपालको राजनीतिमा दीर्घकालीन रूपमा असर गर्छ । त्यसले नेपालको लोकतन्त्रलाई धेरै बलियो बनाउँदैन । त्यसैले एमालेमा को नेता हुन्छ भन्ने कुराबाट होइन कि त्यो बाटोबाट लोकतन्त्र, संविधान, राष्ट्रपति बनाउने अवधारणालाई अझ बिगार गर्छ । आजको दिनमा राजनीति कारोबारी भयो भनेका छौं । यसले राजनीतिलाई अझ बढी कारोबारी बनाउँछ भन्ने मेरो चिन्ता हो ।
गिरिजाप्रसाद कोइरालाले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा चार जना मान्छेको नाम लहरै लिनुभएको थियो– शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महत, रामवरण यादव । रामचन्द्र पौडेललाई बोलाएर सोध्ने बित्तिकै राष्ट्रपति नबन्ने भनेर भाग्नुभयो । उहाँले मेरो प्रधानमन्त्री बन्ने इच्छा मरिनसकेकोले राष्ट्रपति हुन तयार छैन भन्नुभयो ।
हाम्रो संविधानमा राष्ट्रपतिको अवधारणा फरक बनायौं । जस्तो, कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्यो, कसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको । संविधानले तोकेको अधिकार र सीमाभित्र रहने राष्ट्रपतिको परिकल्पना गरेर संविधान बनायौं ।
त्यो राष्ट्रपति भनेको एउटा ढोकाबाट निस्किँदाखेरि राष्ट्रपति भवन शीतलनिवास पुग्ने, अर्को ढोकाबाट निस्किँदाखेरि पार्टीको मुख्यालयमा पुग्ने परिकल्पना गरेको होइन । त्यो परिकल्पनाबाट नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई फाइदा हुन्न ।
पूर्वराष्ट्रपति राजनीतिमा आउँदा प्रणाली अझ बढी कारोबारी बन्ने दिशामा जान्छ । त्यो दिशामा गयो भने संविधान अझ कमजोर बनाउँछ । यसरी हामीले संविधानको धरातल कमजोर बनाउँछौं भन्ने चिन्ता हो ।
पार्टी सभापति देउवा विधान अनुसार चल्न नसकेको पहिलेदेखि नै भनिंदै आएको विषय भयो । उहाँको दोस्रो कार्यकालसँगै निर्वाचित दुई महामन्त्रीको कार्यकाल चार वर्ष पुग्न लाग्दैछ । उहाँहरूले सभापतिलाई कति विधान अनुसार हिंडाउन सक्नुभयो ? उहाँहरू नै कति विधान अनुसार चल्न सक्नुभयो ?
यस विषयमा कुरा गर्नलाई असहज महसुस हुन्छ । उहाँहरू महामन्त्री भएको साढे तीन वर्ष भयो । सुरु–सुरुका दिनमा मैले अलिकति खुलेर नै उहाँहरूको टिप्पणी र आलोचना गरें । यसो गर्दा उहाँहरूलाई अन्ध समर्थन गर्ने साथीहरूले गाली गर्दै भन्नुभयो, ‘ए मिनेन्द्र रिजाल चुनाव हारेको रिस अझै पनि मरेको छैन । कति ईष्र्या गर्छौ ? अब यिनी युवाहरूलाई छोडेर तिमी नातिनातिना खेलाएर बसे हुन्छ । किन गाली गर्नुभएको ?’
मसँग प्रतिस्पर्धा गरेर नेतृत्वमा पुग्नुभएका युवाहरूसँग मेरो स्वाभाविक अपेक्षा पनि हुनेभयो । यो बाटोमा जानुस् भनेर मैले आलोचना टिप्पणी गर्न पनि भएन । शेखरजीले देउवाजीको आलोचना, टिप्पणी गर्दा अथवा पूरै बाँकी कांग्रेसले सभापतिको आलोचना, टिप्पणी इत्यादि गर्न मिल्ने तर महामन्त्रीहरूलाई यो बाटोमा हिंड्नुस् भनेर टिप्पणी गर्दाखेरि एकथरी अन्धभक्त साथीहरूले कराउन थाले । यो विषयमा धेरै बोल्नलाई मन लागेन ।
अहिले यतिसम्म भन्छु– हिजो पार्टीमा अलि बढी क्रियाशील, अलि बढी नेतृत्वमा प्रभावित गरेर बसेको बेला थियो । म पनि त्यो प्रभाव बढी राखेर बस्थें । त्यतिबेलामा उहाँहरूले निरन्तर रूपमा भन्नुभयो– पार्टीलाई विधिमा चलाउँछौं, विधिभन्दा बाहिर पार्टी चल्नुहुँदैन ।’
विधिमा भएन भनेर त्यतिखेर कार्यसम्पादन समिति पनि भंग भएको होइन र ? संसदीय समिति विधिभन्दा बाहिर गएर संख्या तोकेको भनेर भंग गर्नुपर्छ भन्दा त्यो पनि भंग भयो । बैठक सभापतिको घरमा गर्ने कि नगर्ने, प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासमा गर्ने कि नगर्ने, केन्द्रीय कार्यालयमा गएर कि नगएरै बैठक गर्ने ? यी सबै अनेक कुरा उठाइयो । ती सबै विधि अनुसार चलाउँछु भनेको ठाउँमा पुगेपछि उहाँहरू (महामन्त्रीहरू) ले आत्मसमीक्षा गर्नुपर्ला नि ! अब त्यसको सबै दोष जति देउवाको टाउकोमा हालेर उम्किन त नमिल्ला । त्यो मात्रै भन्न खोजेको हो मैले । तर त्योभन्दा बढी टिप्पणी गरेर यो उमेरमा मैले फेरि किन अन्धभक्त साथीहरूको गाली खाने ? योभन्दा बढी टिप्पणी गर्न चाहन्नँ ।
फोटोः शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4