News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डले लर्ड्समा भएको तेस्रो टेस्टमा भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको छ।
- १९३ रनको लक्ष्य पछ्याएको भारत १७० रनमै समेटियो।
- रविन्द्र जडेजाले धैर्यपूर्वक खेले पनि जितका लागि पर्याप्त भएन।
३० असार, काठमाडौं । इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित निकालेको छ ।
लर्ड्स मैदानमा भएको तेस्रो टेस्टको पाँचौं दिन तेस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको हो। पाँच दिनसम्म उतारचढावले भरिएको खेल अन्ततः इंग्ल्यान्डले जित्दै रोमाञ्चक अन्त्यमा पुर्यायो।
१९३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम पारीमा १७० रनमै समेटियो। रविन्द्र जडेजाले अविजित ६१ रनको संघर्षपूर्ण पारी खेले पनि पर्याप्त हुन सकेन । जसप्रीत बुमराह र मोहम्मद सिराजले पनि धैर्यपूर्वक खेलेर जडेजालाई साथ दिएका थिए, तर जितको लागि त्यो पर्याप्त भएन।
अन्तिम विकेटको रूपमा सिराज ३० बल खेलेपछि दुर्भाग्यपूर्ण तरिकाले बोल्ड भए, बल ब्याटमा लागेपछि भुँइमा झरेर रोल हुँदै विस्तारै स्टम्पमा गएर ठोक्किएको थियो। त्यो नै खेलको अन्तिम क्षण बन्यो।
खेल सकिएपछि मैदानमा प्रतिस्पर्धाभन्दा ठूलो भावना देखिएको थियो। खेलभरि आक्रोश र स्लेजिङ भइरहे पनि अन्त्यमा इंग्ल्यान्डका खेलाडीहरूले सिराजलाई सान्त्वना दिए। जडेजाको कौशलताको पनि उनीहरूले सम्मान गरेका थिए ।
इंग्ल्यान्डका जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले ३–३ विकेट लिए। ब्राइडन कार्सले २ विकेट लिँदा शोएब बशिर र क्रिस वोक्सले एक–एक विकेट लिए।
खेलको पहिलो पारीमा दुवै टोलीले समान ३८७ रन बनाएका थिए। इंग्ल्यान्डका लागि जो रुटले शतक बनाए भने जेमी स्मिथ र ब्राइडन कार्सले अर्धशतक योगदान दिए।
भारतले पनि जवाफी पारीमा ३८७ रन नै बनायो जहाँ केएल राहुलले १०० रनको शतकीय इनिङ्स खेले। उनलाई ऋषभ पन्त (७४) र जडेजा (७२) ले राम्रो साथ दिएका थिए।
दोस्रो पारीमा इंग्ल्यान्ड १९२ रनमा समेटियो। जो रुटले फेरि सर्वाधिक ४० रन बनाए। भारतका लागि वासिङ्टन सुन्दरले ४ विकेट लिए भने जसप्रीत बुमराह र मोहम्मद सिराजले २–२ विकेट लिए। नितीश रेड्डी र आकाश दीपले एक–एक विकेट लिँदै इंग्ल्यान्डलाई कम स्कोरमा रोक्न मद्दत गरे।
भारतको दोस्रो पारी सुरुवातमै डगमगायो। आइतबारको अन्त्यसम्म ४ विकेट गुमाएर ५८ रनमा सीमित भएको भारतको अवस्था कमजोर थियो। केएल राहुलले ३९ रन बनाए । तर त्यसपछि भारतले नियमित अन्तरालमा विकेट गुमाइरह्यो ।
अन्त्यमा बुमराह र सिराजले धैर्यता देखाएपनि जितसम्म भने भारत पुग्न सकेन ।
प्रतिक्रिया 4