News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले जमैकाको सबिना पार्कमा भएको तेस्रो टेस्टमा वेस्टइन्डिजलाई १७६ रनले हराउँदै ३-० ले श्रृंखला क्लिनस्वीप गरेको छ।
- मिचेल स्टार्कले ९ रन मात्र दिएर ६ विकेट लिए र आफ्नो १००औं टेस्टमा ४०० विकेट पूरा गरे भने स्कट बोल्यान्डले ह्याट्रिक पुरा गरे।
- वेस्टइन्डिज १४.३ ओभरमै २७ रनमा अलआउट भयो जुन टेस्ट क्रिकेट इतिहासमा दोस्रो कम योगफल हो।
३१ असार, काठमाडौं । मिचेल स्टार्कको ६ विकेट तथा स्कट बोल्यान्डको ह्याट्रिकमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई २७ रनमै अलआउट गर्दै ३ खेलको शृंखला क्लिनस्वीप गरेको छ।
अस्ट्रेलियाले जमैकाको सबिना पार्कमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजलाई १७६ रनले हराउँदै ३–० ले श्रृंखला आफ्नो बनाएको हो।
अस्ट्रेलियाले दिएको २०४ रनको लक्ष्य पछ्याउँदा वेस्ट इन्डिज १४.३ ओभरमै २७ रनमा अलआउट भयो। यो स्कोर टेस्ट क्रिकेट इतिहासमा दोस्रो कम योगफल हो।
स्टार्कले आफ्नो १००औं टेस्टमा ४०० विकेट पनि पूरा गरे । उनले ९ रन मात्र दिएर ६ विकेट लिए । उनले पहिलो ओभरमै तीन विकेट लिएर वेस्ट इन्डिजलाई ०-३ को अवस्थामा पुर्याएका थिए । पहिलो बलमै जोन क्याम्पबेललाई आउट गरेपछि केभलोन एन्डरसनलाई एलबीडब्लु र ब्रान्डन किङलाई बोल्ड गर्दै धमाकेदार सुरुवात गरे।
दोस्रो ओभरमा उनले मिकाइल लुइसलाई आउट गर्दै आफ्नो ४००औं विकेट पूरा गरे र त्यसपछि शाइ होपलाई पनि आउट गर्दै ५ विकेट पूरा गरे । यस क्रममा उनले १५ बलमै पाँच विकेट लिए, जुन टेस्ट इतिहासमै सबैभन्दा छिटो हो।
स्टार्कपछि बोल्यान्डले पनि कमाल गरे। उनले लगातार तीन बलमा ग्रिभ्स, शमार जोसेफ र जोमेल वारिकनलाई आउट गर्दै ह्याट्रिक पुरा गरे । बीचमा जोश हेजलवूडले पनि १ विकेट लिए । वेस्ट इन्डिज २६-९ मा हुँदा स्टार्कले अन्तिम विकेट लिँदै ६ विकेट पूरा गरे ।
यसअघि अष्ट्रेलियाले पहिलो इनिङ्समा २२५ रन बनाएको थियो जहाँ स्टीभ स्मिथले ४८ र क्यामरुन ग्रिनले ४६ रन बनाए। वेस्ट इन्डिजका शमार जोसेफले ४ तथा जस्टिन ग्रिभ्स र जेडन सिल्सले ३-३ विकेट लिएका थिए ।
जवाफमा वेस्ट इन्डिज पहिलो इनिङ्समा १४३ रनमा अलआउट भयो, जहाँ जोन क्याम्पबेलले सर्वाधिक ३६ रन बनाए। बोल्यान्डले ३ विकेट लिँदा हेजलवूड र प्याट कमिन्सले २-२ विकेट तथा मिचेल स्टार्क र बियू वेबस्टरले १-१ विकेट लिएका थिए ।
दोस्रो इनिङ्समा ८२ रनको अग्रताका साथ ब्याटिऽ थालेको अस्ट्रेलिया १२१ रनमा समेटियो, जहाँ ग्रीनले पुनः ४२ रन योगदान दिए। बलिङतर्फ वेस्ट इन्डिजका अल्जारी जोसेफले ५ विकेट र शमार जोसेफले ४ विकेट लिए ।
यसअघि पहिलो टेस्ट १५९ रनले जितेको अस्ट्रेलियाले दोस्रो टेस्ट १३३ रनले जितेको थियो ।
प्रतिक्रिया 4