News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७-० गोलअन्तरले जित निकालेको छ।
- मीना देउवाले ह्याट्रिक गरेकी थिइन् भने पूर्णिमा राईले २ र समिक्षा मगर तथा सरिता कुमारीले १-१ गोल गरे।
- प्रतियोगितामा बंगलादेश शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।
३१ असार, काठमाडौं । मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले हराएको हो ।
भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीनाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोल गरे । पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र थप्यो ।
खेलको आठौं मिनेटमा मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले नेपालको अग्रता दोब्बर पारिन् ।
४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रतामा पुर्याइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै अग्रता अझ फराकिलो बनाइन् ।
नेपालले छैटौं गोल गर्न भने ७० मिनेटसम्म कुर्नुपर्यो । ७०औं मिनेटमा मीनाले गोल गर्दै ह्याट्रिक पनि पूरा गरिन् र नेपाल ६-० ले अघि बढ्यो । इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमा गोल गर्दै नेपाललाई ७-० को अवस्थामा पुर्याइन् ।
नेपालले यीबाहेक पनि अन्य धेरै अवसरहरू पाउँदा गोलमा परिणत भने गर्न सकेन ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने नेपालको ३ खेलमा ६ अंक भएको छ । तेस्रो स्थानमा रहेको भुटानको ३ अंक छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया 4