+
+
Shares

ग्रामीण विकास लघुवित्त विवाद : मर्जर निर्णय खारेज गर्न सेयरधनी र कर्मचारीको माग  

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाका संस्थापक सेयरधनी र कर्मचारीले सर्लाहीको समाज लघु वित्तसँग गरेको मर्जर निर्णय खारेज गर्न माग गरेका छन्।
  • संस्थापक महिला सेयरधनीहरूले सूचना नदिइ निर्णय गरिएको भन्दै प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाललाई ध्यानाकर्षण गराएका छन्।
  • नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि मर्जर खारेज गर्न ज्ञापनपत्र बुझाएको छ र नेपाल राष्ट्र बैंकलाई नियमनमा ध्यान दिन आग्रह गरेको छ।

१ साउन,बुटवल । नेपाल ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड संस्थापक सेयरधनी र कर्मचारीले हालै सम्पन्न दशौं साधारण सभाको निर्णय खारेज गर्न माग गरेका छन् ।

गत २८ असारमा सम्पन्न दशौं साधारण सभाले सर्लाहीको समाज लघु वित्तसँग गरेको मर्जरको निर्णय गरेको थियो ।

उक्त साधारणसभामा आफूहरूलाई सूचना र सहभागी हुन नदिई निर्णय गरिएको भन्दै खारेजीको माग गर्दै संस्थापक महिला सेयरधनीहरूले प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय स्तरको लघुवित्त संस्थाले ३ जिल्ला कार्यक्षेत्र भएको संस्थासँग मर्ज गर्ने निर्णय औचित्यहीन भएको भन्दै तत्काल खारेज गर्न शेयरधनी महिलाहरूको माग छ ।

ध्यानाकर्षण पत्र बुझाउदै संस्थापक महिला सेयरधनी तथा पूर्वसञ्चालक जमुना ढकालले सञ्चालक समितिले प्रहरी लगाएर सेयरधनीलाई रोकेर अन्यायपूर्ण ढंगले साधारण सभा गरेको आरोप लगाउँदै उक्त साधारणसभाको निर्णय मान्य नभएको बताइन् ।

लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक समेत रहेकी ढकालले साधारण सभाको निर्णय तत्काल सच्याउन माग गर्दै अन्यथा महिला सेयरधनीहरू सशक्त आन्दोलनमा जाने चेतावनी दिइन् ।

‘पटकपटक स्थान परिवर्तन गरेर, अधिकांश महिला सेयरधनी र कर्मचारीलाई गुमराहमा पारेर साधारणसभा गरिएको छ, प्रवेशका लागि छुट्टै पास चाहिन्छ भनेर झुक्याउने, जानकारी पाएर पुगेका सेयर सदस्यलाई प्रहरी लगाएर रोकेर गरिएको साधारणसभा र त्यसको निर्णय मान्य छैन,’ ढकालले भनिन्ऽ ‘२०५२ सालदेखि महिला सेयरधनीले मेहनत र दुःख गरेर माथि पुर्‍याएको संस्थामा केही वर्षयता बेथिति बढेको छ, त्यसमा प्रश्न उठ्छ भनेर जालझेल गरिएको छ ।’

असन्तुष्ट सेयरधनी महिलाले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझाउँदै सेयरधनी महिला पुनम लिगलले नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको साधारण सभालाई मान्यता नदिन माग गरिन् ।

‘हतियारसहितका प्रहरी तैनाथ गरेर, संस्थासँग असम्बन्धित व्यक्तिहरू भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र सेयरधनीलाई प्रवेशमा रोक लगाएर पनि साधारण सभा हुन्छ ?’ लिगलले भनिन्, ‘सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि तत्काल छानबिन गरी कारबाही हुनुपर्छ ।’

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले केही महिना अघि ५ सय ५० जना कर्मचारीलाई एकैपटक अपारदर्शी ढंगले नियुक्त गरेको, महँगा गाडी खरिद गरेको, संस्थाको सञ्चालक समितिको बैठक केन्द्रीय कार्यालय बुटवलमा नगरी काठमाडौंका तारे होटेलहरूमा गरेको, प्रमुख कार्यकारी अधिकृत काठमाडौं जाँदा आफू जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको लगायत संस्थाको हित विपरीत आर्थिक अपचलन गरेको विषयमा छानबिन हुनुपर्ने सेयरधनी लिगलले माग गरेकी छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कटुवालले भने पर्याप्त पूचना दिन नसकेको र प्रहरी परिचालन गरेर रोकेको विषयमा क्षमा याचना गरेको तर अन्य विषय नेपाल राष्ट्र बैंकको नीति,निर्देशन अनुसार नै गरेको दाबी गरे ।

यसैबीच नेपाल ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा क्रियाशिल आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनले पनि मर्जर खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

संगठनले साधारणसभाकै दिन कालो ब्यानर टांगेर विरोध जनाएको थियो । संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले सर्लाहीमा केन्द्रीय कार्यालय रहेको तीन जिल्ला कार्यक्षेत्र भएको २ करोड २८ लाख पूँजी भएको समाज लघुवित्तसँग ७७ जिल्ला कार्यक्षेत्र र ९८ करोड २५ लाख पूँजी भएको संस्थाले मर्जर गर्नुपर्ने कुनै आवश्यकता र औचित्य नै नभएको तर्क गरे ।

मर्जर अनुचित छ भन्दै संगठनले असार १३ गते नै संस्थालाई ध्यानाकर्षणपत्र बुझाएपनि जबरजस्ती गरिएको उनको भनाइ छ ।

‘यो कुनै व्यक्तिको कार्यकाल दोहोर्‍याएर निजी स्वार्थ पूरा गर्न रचिएको नाटक हो, यसले संस्था, सेयरधनी र कर्मचारी कसैलाई फाइदा हुँदैन,’ उनले भने, ‘कमजोर वित्तीय हैसियत भएको संस्थासँग समान अनुपात (रेसियो) मा मर्जर गर्न तयार हुनुले गम्भीर प्रश्न उठेको छ, यस्तो गलत रबैयाप्रति नियामक निकाय नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’

हेर्नुहोस् माग पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?