
२ साउन, काठमाडौं। जनवरीदेखि अहिलेसम्म इरानले १४ लाखभन्दा बढी अफगानी नागरिकलाई जबर्जस्ती देशबाट निकालेको छ ।
संयुक्त राष्ट्रसंघ (यूएन) को शरणार्थी निकायका अनुसार इरान र अफगानिस्तानको सीमामा दैनिक करिब २० हजार अफगान नागरिकलाई जबर्जस्ती फर्काइँदैछ।
यो क्रम विशेषगरी गत महिनाको इरान–इजरायल १२ दिने युद्धपछि बढेको हो। इरानले २४ जुनदेखि ९ जुलाईसम्मको १६ दिनभित्रै ५ लाखभन्दा बढी अफगानहरूलाई देश निकाला गर्यो।
इरानले मार्च २०२५ मा अवैध रूपमा बसिरहेका अफगानीहरूले जुन ६ जुलाईसम्म देश छोड्नुपर्ने र नछाडे निकालिने घोषणा गरेको थियो । इरानी अधिकारीहरूले अफगानीहरू इजरायल र अमेरिका लागि जासुसी, आतङ्कवादी हमला तथा ड्रोन बनाउने गतिविधिमा संलग्न रहेका आरोप लगाउँदै आएका छन् ।
धेरै अफगानीहरूले आफूहरूलाई कुटपिट गरिएयो, पैसा खोसिएयो र नाबालिगहरूलाई आमाबुबाविना नै अफगानिस्तान पठाइएको बताएका छन् ।
‘हामीलाई फोहोरझैँ फालियो’
न्यूयोर्क टाइम्ससँग कुरा गर्दै अफगानीहरूले आफूहरूसँग पर्याप्त समान न कुनै भविष्यप्रति आशाको अवस्था रहेको बताएका छन् ।
४२ वर्षदेखि इरानमा श्रमिकको रूपमा काम गरेका मोहम्मद अखुन्दजादाले भने, ‘मैले ४२ वर्ष इरानमा पसिना बगाएँ, मेरो घुँडा भाँचियो र अब मसँग केही बाँकी रह्यो र ?
एक निर्वासित अफगानी बशीरले भने, ‘अधिकारीहरूले मसँग १७ हजार रूपैयाँ मागे, दुई दिन डिटेन्सन सेन्टरमा राखे, खाना र पानी दिइएन। गालीगलौज गरे।’
अर्का युवकले थपे, ‘मेरो बुबालाई जासुसीको आरोपमा समातेर कैद गरियो, खाना न पानीको अवस्था भयो, अनि पछि अफगानिस्तान पठाइयो।’
गार्जियनसँग कुरा गर्दै एक अफगानी महिलाले भनिन्, ‘अधिकारीहरू राति आए। बच्चाहरूका लुगा समेत ल्याउन दिएनन्। हामीलाई फोहोरझैँ फालियो। बाटोमा बैंक कार्डबाट पैसा निकालियो। पानीको बोतलको ८० रूपैयाँ र स्यान्डविचको १७० रूपैयाँ लिइयो।’
बढ्यो जातीय आक्रमण
इजरायलसँगको युद्धपछि इरानमा अफगानीहरूमाथि जातीय घृणा बढेको छ। कयौं अफगानीहरूमाथि गालीगलौज, छुरा आक्रमण र ज्याला खोसिनेसम्म भएको उनीहरूले अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूसँग कुराकानीको क्रममा भनेका छन् ।
बैंक, अस्पताल, स्कुल र पसलहरूले समेत सेवा दिन अस्वीकार गरिरहेका छन्। तेहरानमा कार्डबोर्ड फ्याक्ट्रीमा काम गर्ने एब्राहिम कादरीले भने, ‘मलाई ‘फोहोरी अफगान’ भन्दै कुटियो, छुरा प्रहार गरियो।’
उनकी आमा गुल दास्ता फजिली भन्छिन्, ‘चारवटा अस्पतालले उसलाई उपचार दिन मानेनन् किनभने ऊ अफगान थियो।’
तेहरानमा कम्प्युटर इन्जिनियर फराहले भनिन्, ‘छिमेकका केटाहरूले मलाई र मेरो ४ वर्षे छोरालाई आक्रमण गरे।’
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)
प्रतिक्रिया 4