+
+
Shares

सविधान संशोधनको लागि सुरुमा कांग्रेसले कार्यदल बनाउँछ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १७:४६
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र कार्यदल गठन गरी संविधान संशोधनको काम सुरु गर्ने जानकारी दिए।
  • उनले संघीयता समीक्षा गर्दै संघमा ७/८ मन्त्रालय पर्याप्त हुने र प्रदेशले सिर्जना र जिम्मेवारीबोध गर्नुपर्ने उल्लेख गरे।

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको लागि सुरुमा कांग्रेसले पार्टीभित्र कार्यदल गठन गरेर काम सुरु गर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त जानकारी दिएका हुन् ।

‘अस्तिको केन्द्रीय समितिको बैठकबाट हामीले दुइटा महत्वपूर्ण निर्णयहरू गरेका छौं, हामी कांग्रेस पार्टीभित्रै एउटा कार्यदल बनाउँछौँ। त्यो कार्यदलले पार्टीभित्र पनि सघन छलफल गर्छ, पार्टीको मत बनाउँछ,’ उनले भने, ‘पार्टीको मत बनाइसकेपछि त्यो कार्यदलले नेकपा एमालेसँग मिलेर सात बुँदामा व्यक्त भएको ढंगले अर्को कार्यदल बन्छ र त्यहाँ गएर पार्टीको दृष्टिकोण राख्छ।’

महामन्त्री थापाले कांग्रेस र एमालेका साझा दृष्टिकोणहरू बनिसकेपछि मात्रै माओवादीलगायतका अरू दलहरूसँग संवाद गर्ने बताए ।

‘यसरी देशलाई हामी संविधान संशोधनको बाटोतिर लिएर जान्छौँ, हाम्रो बुझाइ प्रष्ट छ,’ उनले भने ।

संघीयताको झन्डै एक दशक लामो अभ्यासको क्रममा प्रदेश चल्ने तरिका र संघ सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको सबै अनुभव गरिएको थापाले बताए ।

उनले यही अनुभवको आधारमा संघीयताबारे निर्मम भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै भने, ‘संघीयता चलाउनका निम्ति हामीले केही कुराहरू संघले सबैभन्दा बढी छोड्नुपर्ने छ।’

महामन्त्री थापाले लामो छलफलपछि संघमा ७/८ वटा मन्त्रालय भए पुग्ने निष्कर्षमा पुगेको बताए । ‘संघमा जम्मा सात-आठवटा मन्त्रालय भए पुग्छ। संघीयतामा देश गइसकेपछि सबै अधिकार माथि लगेर हामीले माथि लगेर राखिरहेका छौँ। त्यहाँबाट सुरुवात गर्नुपर्छ,’ उनले भने ।

प्रदेशहरूले संघकै जस्तो कपी गरिरहेको उल्लेख गर्दै भने, ‘त्यहाँ कुनै सिर्जना छैन, त्यहाँभित्र कुनै जिम्मेवारीबोध छैन, प्रदेशका सन्दर्भमा मेरा आफ्ना प्राथमिकताहरू छन् भन्ने केही पनि छैन, खाली त्यो माथि संघले के दिन्छ भनेर हात थापेर कुरेर बसेको जस्तो भएको छ।’

उनले हाम्रो संविधानले कल्पना गरेको संघीयता यस्तो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?