+

महिला भलिबलमा अक्सनपछि उत्साह : कुन खेलाडी कति रकममा अनुबन्ध भए ?

२०८२ साउन  २ गते २३:३१ २०८२ साउन २ गते २३:३१
महिला भलिबलमा अक्सनपछि उत्साह : कुन खेलाडी कति रकममा अनुबन्ध भए ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट महिला भलिबल लिगमा पहिलो पटक खेलाडी अक्सन गरिएको छ।
  • ६ फ्रेन्चाइज टिमले ७-७ खेलाडी अनुबन्ध गरेका छन्।
  • ६८ खेलाडीमध्ये ४२ खेलाडी अक्सनबाट अनुबन्ध भएका छन्।

२ साउन, काठमाडौं । नेपाल राष्ट्रिय खेल भलिबल, त्यसमा पनि उपलब्धि र चर्चाका हिसावले अगाडि रहेको महिला भलिबल । अनि महिला फ्रेन्चाइज लिग र खेलाडी अक्सन ।

नेपालको भलिबलको कुरा गर्दा यी चार कुरा अब मुख्य चर्चाको विषयको रुपमा रहनेछ । नेपाली खेलकुदमा क्रिकेट र फुटबलमा अक्सन भइसकेपनि भलिबलमा पहिलो पटक अक्सन भएको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि नेपाली भलिबलको इतिहासमै फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) पहिलो पटक आयोजना भएको थियो । दोस्रो संस्करणसम्म आइपुग्दा इडब्लुभिएलले खेलाडीको अक्सन गरेर अर्को इतिहास नै रचेको छ ।

नेपालमा महिला भलिबल पुरुषको तुलनामा बढी चर्चामा छ । त्यसैले फ्रेन्चाइज लिग र त्यसमा पनि महिला खेलाडीकै लागि पहिलो पटक अक्सन भयो ।

यसले महिला खेलाडी मात्र नभएर नेपाली भलिबल संघ, समर्थक देखि भलिबल स्टेकहोल्डरहरु पनि सबै जना उत्साहित भएका छन् ।

अक्सनमा ६ फ्रेन्चाइज टिमका मार्की प्लेअर, मुख्य प्रशिक्षक, टिम ओनर देखि ब्राण्ड एम्बासडर लगायत भलिबल संघका पदाधिकारीहरु समेत उपस्थित थिए ।

६ वटै फ्रेन्चाइजले अक्सनअघि नै आफ्ना मार्की खेलाडी र मुख्य प्रशिक्षक नियुक्त गरिसकेका थिए ।

अक्सनमा सबै ६ टिमले ७-७ खेलाडी अनुबन्ध गरेका छन् । इडब्लुभिएलमा हरेक टिममा १२ खेलाडी हुने प्रावधान छ । जसमा हरेक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् भने एक खेलाडी ट्यालेन्ट हन्टबाट टिममा राख्नुपर्नेछ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अक्सन ऐतिहासिक भएको बताए ।

यस्तै खेलाडीहरु पनि पहिलो पटक अक्सन टेबलमा बस्दा उत्साही र नर्भस दुवै भए ।

पहिलो पटक भएकोले अक्सन टेबलमा बस्ने खेलाडी प्रशिक्षकका लागि अक्सन आफैँमा अनौठो थियो । ‘सुरुमा राम्रो भइरहेको थियो । पछि लक्की ड्र मा आफूले छानेको खेलाडी नपाएपछि अली नर्भस पनि भएँ’ लुम्बिनी लाभाजका मार्की प्लेअर तथा राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले भनिन् ।

अक्सन भएकोले खेलाडीका लागि खर्च गर्ने रकममको लिमिट पनि राखिएको थियो । जसले गर्दा एकै खेलाडीलाई म्याक्सिमम लिमिटमा एक भन्दा बढी टिमले बिड गर्दा लक्की ड्र गरिएको थियो । त्यसमा विशेष गरी काठमाडौं स्पाइकर्स र लुम्बिनी केही हदसम्म अली भाग्यमानी भयो भने साविक विजेता कर्णाली र मधेश युनाइटेड अलि अनलक्की भयो ।

काठमाडौं स्पाइकर्सकी मार्की उषा भण्डारीले अक्सन सोचेजस्तो नै भएको बताइन् । ‘अक्सन राम्रो भयो । हामीले लगभग सोचेकै जस्तो खेलाडीहरु पायौँ । एक जना भने पाएनौँ’ उनले भनिन् ।

मधेश युनाइटेडकी मार्की निरुता ठगुन्नाले भने अक्सनमा चाहेको केही नपाउँदा केही अभागी बनेको बताइन् । ‘समग्रमा अक्सन अनुभव धेरै राम्रो भयो । तर हामीले चाहेको केही खेलाडी भने लक्की ड्र ले गर्दा पाएनौँ । अब राम्रो विदेशी खेलाडी ल्याएर टिम बलियो बनाउनेछौं’ उनले भनिन् ।

यस्तै अन्य टिमका मार्की खेलाडीहरुले कर्णाली यशविसका सुमित्रा रेग्मी, ललितपुर क्विन्सकी सलिना श्रेष्ठ र पोखरा निन्जाजकी प्रगती नाथले अक्सनको माहोल रमाइलो भएको र टिम राम्रै बनेको जवाफ दिए ।

ऐतिहासिक अक्सनमा कुन खेलाडीले कति रकम पाए?

महिला भलिबलमा फ्रेन्चाइज लिग आयोजनापछि नै खेलाडीहरुले आर्थिक रुपमा पनि आर्जन गरेका छन् । खेलाडीको अक्सन हुँदा बोलकबोलमार्फत खुला रुपमै सम्बन्धित टिमले खलाडीहरु अनुबन्ध गरेका छन् । जसले गर्दा कुन खेलाडीले कति रकम पाए भन्ने थाहा समेत हुनेछ ।

६ वटै टिमका मार्की खेलाडी समान १ लाख ७२ हजार पाँच सयमा अनुबन्ध भएका छन् । त्यसबाहेक क्याटेगोरी ए, बी र सी का खेलाडीहरु अक्सनबाट अनुबन्ध गरिएको हो ।

क्याटेगोरी ए मा रहेका खेलाडीको बेस प्राइज १ लाख १५ हजार थियो भने अक्सनमा टिमले म्याक्सिमम १ लाख ३२ हजार ५०० सम्म बोली लगाएको थियो । यस्तै क्याटेगोरी बी को बेस प्राइज १ लाख र म्याक्सिमम १ लाख १५ हजारसम्म तथा क्याटेगोरी सी का खेलाडीको बेस प्राइज ५० हजार र म्याक्सिमम ५७ हजार ५०० सम्म बोली लगाएका थिए ।

क्याटेगोरी ए मा अनसोल्ट भएका खेलाडीहरु क्याटेगोरी बी र क्याटेगोरी बी मा अनसोल्ड भएका खेलाडीहरु स्वत क्याटेगोरी सी मा घटुवा भएर अक्सन गराइएको थियो ।
हरेक टिमले क्याटेगोरी ए बाट १ खेलाडी अनुबन्ध गर्दा क्याटेगोरी बी र सी बा६ समान ३ खेलाडी अनुबन्ध गरेका थिए ।

ओरिजनल क्याटेगोरी सी मै रहेका जम्मा ४ खेलाडी मात्र अक्सनमा टिमले अनुबन्ध गर्दा ओरिजिलन क्याटेगोरी बी मा रहेका तर अनसोल्ड भएर सी मा घटुवा भएका १४ खेलाडी क्याटेगोरी सी मार्फत अनुबन्ध भए ।

अक्सनमा कूल ६८ खेलाडी समावेश भएकोमा सबै क्याटेगोरी गरेर ४२ खेलाडीमाथि अक्सनमा बोली लाग्यो र विभिन्न टिममा अनुबन्ध भए । २६ खेलाडी भने अनसोल्ड रहे अर्थात कुनै टिममा अनुबन्ध भएनन् ।

कर्णाली यशविस

सुमित्रा रेग्मी (मार्की) : १ लाख ७२ हजार ५००
सफिया पुन : १ लाख ३२ हजार ५००
रश्मित दुरा : १ लाख
जसन महतो : १ लाख
पुजा थारु : १ लाख
नेबिका चौधरी : ५७ हजार ५००
रेबिका लामा तामाङ : ५० हजार
एलिशा भोजु : ५० हजार

पोखरा निन्जाज

प्रगति नाथ (मार्की) : १ लाख ७२ हजार ५००
पुनम चन्द : १ लाख ३२ हजार ५००
मिना सुनार : १ लाख १५ हजार
सुनिता खत्री : १ लाख
गरिमा बोहरा : १ लाख १५ हजार
एन्जिला प्रधान : ५७ हजार ५००
निशा महर : ५७ हजार ५००
भावना तामाङ : ५३ हजार

ललितपुर क्विन्स

सलिना श्रेष्ठ (मार्की) : १ लाख ७२ हजार ५००
संगम महतो : १ लाख ३२ हजार ५००
लक्ष्मी चन्द : १ लाख १५ हजार
सुनिता राई : १ लाख
सलिना बुढामगर : १ लाख १५ हजार
निशा चौधरी : ५० हजार
सृष्टि खड्गी : ५७ हजार ५००
भावना डाँगी : ५७ हजार ५००

लुम्बिनी लाभाज

अरुणा शाही (मार्की) : १ लाख ३२ हजार ५००
कामना विष्ट : १ लाख ३२ हजार ५००
एलिशा मानन्धर : १ लाख १५ हजार
शान्तिकला तामाङ : १ लाख १५ हजार
जेनिशा बिक : १ लाख
रोमा महतो : ५० हजार
रिकजना भोटे : ५० हजार
अनुशा चौधरी : ५० हजार

काठमाडौं स्पाइकर्स

उषा भण्डारी (मार्की) : १ लाख ७२ हजार ५००
कविता भट्ट : १ लाख ३२ हजार ५००
मनिषा चौधरी : १ लाख १५ हजार
यमुना रसाइँली : १ लाख
रिमा कुँवर : १ लाख
बालमिका आचार्य : ५७ हजार ५००
कमला पुन : ५७ हजार ५००
आशिका क्षेत्री : ५० हजार

मधेश युनाइटेड

निरुता ठगुन्ना (मार्की) : १ लाख ७२ हजार ५००
आरती सुवेदी : १ लाख १५ हजार
कोपिला राना : १ लाख १५ हजार
सरस्वती कट्टेल : १ लाख
उषा विष्ट : १ लाख
बबिता बोहरा : ५० हजार
बसन्ती साउद : ५७ हजार ५००
स्नेहा ठगुन्ना : ५० हजार

इडब्लुभीएल अक्सन
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय