News Summary
Generated by OK AI. Editorially reviewed.- नेविसंघको १२औं महाधिवेशन ९ वर्षदेखि हुन सकेको छैन र अध्यक्ष दुजाङ शेर्पाले ३ वर्षदेखि जिम्मेवारी सम्हाल्दै महाधिवेशन गर्न असफल भएका छन्।
- नेविसंघले हाल विधान संशोधन गरेर पार्टीलाई बुझाइसकेको छ र मंसिरको दोस्रो साता महाधिवेशन गर्ने तयारीमा छ।
- नेविसंघले विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गर्दै स्ववियु चुनाव गराएको छ र शिक्षा क्षेत्रमा सक्रिय भूमिका खेलेको छ।
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) को महाधिवेशन लामो समयदेखि हुन सकेको छैन । आन्तरिक किचलोका कारण १२औँ महाधिवेशन पटक पटक सर्दै आएको छ । ९ वर्षअघि तत्कालीन अध्यक्ष रञ्जित कर्णले नेविसंघको महाधिवेशन गराएर नैनसिंह महरलाई जिम्मेवारी हस्तान्तरण गरेदेखि निविसंघले निर्वाचित अध्यक्ष पाएको छैन । तदर्थ समितिमै सीमित छ ।
३ वर्षयता नेविसंघ अध्यक्षको जिम्मेवारी दुजाङ शेर्पाले सम्हालिरहेका छन् । महाधिवेशन गर्ने जिम्मेवारी लिएर अध्यक्ष बनेका शेर्पाको कार्यकाल पटकपटक म्याद थप्दै लम्ब्याइएको छ । तर महाधिवेशन गर्न उनी असफल हुँदै आएका छन् । यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरकर्मी कौशल काफ्लेले नेविसंघ अध्यक्ष शेर्पासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
३ वर्षअघि नेविसंघ अध्यक्ष बनेलगत्तै तपाईंले ‘गतिहीन नेविसंघलाई अधिवेशनमार्फत ट्र्याकमा ल्याउँछु भन्नुभएको थियो । नेविसंघ ट्र्याकमा आयो त ?
३ वर्ष अगाडिको हाम्रो भेट मलाई याद छ । त्यतिबेला ट्र्याकभन्दा बाहिर गएको विद्यार्थी आन्दोलनलाई सम्हाल्ने, विधिबद्ध महाधिवेशनमार्फत ह्यान्ड ओभर गर्ने भनेर जिम्मेवारी पाएको थिएँ । यो ३ वर्षमा धेरै हदसम्म विद्यार्थी आन्दोलनलाई एउटा लयमा ल्याउन र सर्वसाधरणसँग टुटेको भरोसा कायम गर्न सफल भएँ भन्ने लाग्छ ।
लामो समय हुन नसकेको स्ववियु चुनाव गराउन सफल भयौँ । यसले विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गर्ने, ‘अकाउन्टेबल’ बनाउन हामी सफल भयौं । जहाँसम्म नेविसंघको महाधिवेशन गर्न सकिएन भन्ने कुरा छ, स्ववियु चुनावलगायत अन्य महत्वपूर्ण काममा लाग्नु परेकोले यता काम गर्न भ्याइएन । अब चाहिँ १२औं महाधिवेशनको तयारीमा जान्छौं ।
अरू विद्यार्थी संगठनले त स्ववियु निर्वाचनसँगै आफ्नो अधिवेशन पनि गर्न भ्याए त । आफ्नो गर्न नभ्याउने, अनि अरूको चुनावमा गइरहँदा असहज महसुस भएन ?
तपाईंले भन्नुभएको कुरा एकदम ठिक हो । तर भुल्न नहुने कुरा, नेविसंघ देशको पुरानो र विशाल संगठन हो । हाम्रो अन्य संगठन, अन्य पार्टी जस्तो छैन । यहाँ धेरै वैचारिक समूह छन् ।
सबैलाई मिलाएर लैजानुपर्ने भएकाले हामीले समयअनुकूल विधान संशोधन नै गर्न सकेका थिएनौँ । अहिले विधान संशोधन गरेर पार्टीलाई बुझाइसक्यौँ । यो सबै मिलाएर लैजाँदा हाम्रोमा देखिएभन्दा अलि जटिल छ ।
पार्टीको केन्द्रीय निर्देशन समितिले नेविसंघको अधिवेशन गर्ने भनेर पार्टीको केन्द्रीय समितीले निर्णय गर्छ । यसले तपाईंलाई वर्तमान नेविसंघ कार्यसमितिको अध्यक्ष हुँ भन्न असहज महसुस हुन्छ कि हुन्न ?
यसमा असहज हुनुपर्ने कारण छैन । नेपाल विद्यार्थी संघको महाधिवेशन हुनु भनेको पार्टीको पनि मिनी महाधिवेशन हुन जस्तै हो । त्यसैले पार्टीले डिसिजन लिनु स्वाभाविक हो । यसअघि पनि हामीलाई पार्टीले नै महाधिवेशन रोकेर स्ववियु निर्वाचनमा फोकस हुनु भनेको थियो ।
अहिले स्ववियु सकियो, अब महाधिवेशनमा केन्द्रित हुन भनेको छ । बरु पार्टी भित्रकै अन्तरसंघर्षले नेविसंघ छायामा परेको कारण हामीमा केही न केही ढिलासुस्ती भएको हो ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई नेविसंघले आफ्नो मुलमन्त्र ठान्छ । तर तपाईंकै संगठन चिठीको भरमा चलिरहेको छ । आन्तरिक लोकतन्त्र पनि ध्वस्तै भयो भन्ने आरोप छ नि ?
त्यस्तो हैन । म आइसकेपछि धेरै लामो समयदेखि अधिवेशन हुन नसकेका ठाउँले नयाँ नेतृत्व पाएका छन् । सिन्धुपाल्चोक नेविसंघको १२/१५ वर्षदेखि अधिवेशन हुन सकेको थिएन । काठमाडौँ र रसुवा जिल्लाको अवस्था पनि त्यस्तै थियो । यही समस्या ५० भन्दा धेरै जिल्लामा थिए ।
यी ठाउँमा के गर्ने भन्ने अधिकार नेविसंघ केन्द्रीय अध्यक्षलाई छ । खाली भएको ठाउँमा संयोजक तोक्ने भनेर अधिकार दिएको छ । र, त्यही अधिकारलाई मैले प्रयोग गरेको हो, त्यो पनि पार्टीबाट परामर्श गरेर । पार्टीको स्थानीय नेतृत्वसँग समन्वय गरेरै यी कुरा गरिएको छ । पहिलाजस्तो तल्लो तहमा समन्वय नगरी सिधै अध्यक्ष तोकेको छैन ।
यही कुरा चुनावबाट गराउँदा झन् राम्रो हुन्थ्यो हैन र ?
चुनाव गराउन सबैभन्दा महत्वपूर्ण भनेको विधान हो । भर्खरै केन्द्रीय समितिबाट विधान परिमार्जनसहित पास भएर हाम्रो हातमा आयो । अब काम गर्न सहज हुन्छ ।
मस्यौदा समितिले तयार पारेको विधान नेविसंघको केन्द्रीय समितिबाट राय नलिई सिधै पार्टी केन्द्रीय समितिले पास गर्यो भन्ने छ नि ?
यो गलत हो । मैले एक वर्षदेखि विधान समिति बनाउन खोज्दै गर्दा केही साथीहरूले डिस्टर्ब गर्नुभयो । फरक वैचारिक समूहको नाममा खाली डिस्टर्ब गर्ने र संगठनलाई हरेक कुरामा डेडलक मात्र बनाउन चाहने नियत छ ।
उहाँहरूले भन्नुभयो होला । तर विधान बनाउने कुरामा हामीले हाम्रो केन्द्रीय कार्यलयमा सबै केन्द्रीय सदस्यलाई निम्त्याएर छलफल गरेका हौँ । मेसेज पनि गरेको हो । को आउनुभयो, को आउनुभएन, त्यो हामीले जान्ने कुरा भएन ।
त्यस्तै, ७७ जिल्लाका अध्यक्षसँग पनि जुम मिटिङमार्फत छलफल गरेका थियौँ । अर्कोतर्फ, जसले जे भने पनि विधान बनाउने पार्टीले नै हो । र, त्यसलाई चाहिँ अब पार्टीले परिमार्जन गरेर पास गरिसकेको छ । केके परिमार्जन भएको छ भन्ने कुरा हामीसँग आइपुगेको छ ।
भनेपछि नेविसंघको विधान परिमार्जनसहित पास भइसक्यो । तर त्यसमा के छ भन्ने नेविसंघ अध्यक्षलाई नै अहिलेसम्म थाहा छैन ?
थाहा छैन । तर जे भए पनि विधान बन्यो । यो हाम्रो सफलता हो ।
प्रसंग बदलौं । तपाईंहरू जहिले पनि ‘कलम र मसाल अंकित झण्डामुनि एक भएर बसौँ’ भन्ने जस्ता भाषण गर्नुहुन्छ । व्यवहारमा भने कलम बिर्सेर मसाल मात्र सम्झन थाल्नुभयो भनिन्छ नि ?
नेविसंघले कलम र मसाललाई सँगसँगै लिएर गइरहेको छ । आज शिक्षा विधेयकको बारेमा को बोलिरहेको छ ? हामीले बोलिरहेका छौँ । यसमा देशव्यापी बहस कसले गरायो ? नेपाली कांग्रेसको संसदीय दलदेखि शिक्षा समितिमा हामीले बारबार छलफल गराएका छौँ । हामीले हरेक जिल्लामा डिस्कोर्स चलाएका छौँ । क्याम्पस क्याम्पसमा विद्यालय शिक्षा विद्यालयको बारेमा बहस गर्नु भनेर सर्कुलर जारी गरेका छौँ ।
भूकम्प गएको कति वर्ष बित्यो ? तर आज पनि काठमाडौं उपत्यकाको मुख्य क्याम्पसमा रातो स्टिकरमै विद्यार्थी पढिरहेका छन् । यसको बारेमा ध्यानाकर्षण कसले गरिरहेको छ ? त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटको आधारमा हुनुपर्छ भनेर कसले अभियान चलायो ?
रिसर्च एन्ड डेभलपमेन्टमा सरकारले लगानी वृद्धि गराउनुपर्छ भनेर कसले बोलिरहेको छ ? विश्वविद्यालयका ढिलासुस्तीमा पनि बोलिरहेका छौँ । बारम्बार प्रश्न गरिरहेका छौँ । कलम छोडेको भन्न मिल्दैन ।
यसैमा मैले अर्को बुँदा थपिदिएँ, ‘मेरो शिक्षा, मेरो प्रश्न अभियान ।’ तर यस्ता अभियान र प्रश्न बारम्बार हैन, बार तोकेर उठाउनुहुन्छ । जबजब विद्यालयले विद्यार्थीबाट शुल्क लिने समय हुन्छ, त्यो बेला नै चल्छ । त्यसपछि बिर्सनुहुन्छ भनेर तपाईंकै संगठनका कार्यकर्ताले भनेको सुनिन्छ । सबै बार्गेनिङबाट सेटल हुन्छ रे नि ?
मेरो शिक्षा मेरो प्रश्नको कारणले त आज शिक्षा क्षेत्रमा जुन ब्रह्मलुट भइरहेको थियो, विद्यार्थीलाई शोषण गरिएको थियो, अभिभावकको हात-खुट्टा बाँधेर जुन मनपरी भइरहेको थियो आज धेरै हदसम्म कम भएको छ । तपाईंले बार्गेनिङको कुरा गर्नुभयो, यो झुटो आरोप हो । यदि पुष्टि भए म राजनीतिबाटै सन्यास लिन्छु । त्यस्तै नेविसंघका कुनै केन्द्रीय सदस्यले यस्तो गरेको प्रमाण छ भने दिनुहोला, तत्काल हामीले अनुशासनको कारबाही गर्छौँ ।
तपाईंहरूकै आदर्श व्यक्ति बीपी कोइरालाले भन्नुभएको रहेछ, ‘शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो ।’ तर आज बीपीको यो विचारलाई कहाँ पुर्याइदिनुभयो है ?
हामीले उहाँको विचारलाई आत्मसात गरेका छौँ । त्यसैले यही डिस्कोर्सको पद्धति बसाल्नुपर्छ, विद्यार्थीलाई वैचारिक बनाउनुपर्छ भनेर स्ववियु निर्वाचन गराएका हौँ । यसअघिको नेविसंघले त्रिविमा विश्वविद्यालय विमर्श भन्ने कार्यक्रम गरेका थियो ।
यस्ता परम्परालाई अझ सशक्त रूपमा अगाडि बढाउनु भनेर एउटा लुज फोरम बनाएका छौँ । नेपाल डिस्कोर्स फोरम बनाएको छौं । यसले जिल्लाजिल्लामा महोल बनाउँदैछ । हामीले बाहुबलभन्दा पनि शैक्षिक संस्थालाई वैचारिक बनाउने प्रयास गरेका छौँ ।
उसोभए दलहरूले विश्वविद्यालयमा सेना खडा गरे भनेर टिप्पणी गर्ने समाजशास्त्री चैतन्य मिश्रहरू गलत हुन् त ?
केही कमजोरी विद्यार्थी संगठनबाट नभएका हैनन् । यो पक्षमा सुधार आवश्यक छ । त्रिभुवन विश्वविद्यालय सुध्रिएन भने अरू विश्वविद्यालय सुध्रन गाह्रो हुन्छ । यसलाई सेन्टर अफ एक्सेलेन्स बनाउन सकिएन भने अन्यत्र पनि त्यो सम्भव हुँदैन । त्यसका लागि हामीले पहल गर्ने हो । गरिरहेका छौँ ।
कस्तो पहल हो ? अस्ति भर्खरै नेविसंघबाटै निर्वाचित स्ववियु सभापतिहरूले त्रिवि उपकुलपति कार्यलय तोडफोड गरेको घटना बिर्सनुभयो ? मिति याद छैन भने मैले सम्झाइदिएँ, जेठ १४ गते ।
त्यो गलत भयो । हामीले त्यसपछि स्ववियुको लागि टीओआर पनि बनाएका छौँ । यसमा कानुनी रूपमा आवश्यक कारबाही पनि भएको छ । तर सानो कुरोलाई लिएर अरू राम्रा कुरा ओझेल पार्नुहुन्न । हामीले त्रिविमा समयमा रिजल्ट नआउनेदेखि कति कुरा सुधारको पहल गरेका छौँ । चाहे त्रिविलाई क्यालेन्डरमा हिँडाउन होस् वा सेवा अयोगहरू खुलाउन मिहिनेत गरेका छौँ । यी कुरा अनदेखा गर्न मिल्दैन ।
एउटैले नेविसंघ भनेर क्याम्पसमा ताला ठोक्दिन्छ । तपाईंहरू त्यो नेविसंघले हैन भनिदिनुहुन्छ, जिम्मा लिनुहुन्न । फेरि तिनै नेता कतिपय आन्दोलनमा सँगै देखिनुहुन्छ । आम विद्यार्थीलाई किन अन्योलमा पारिदिनुभएको ?
नेपाल विद्यार्थी संघ विशाल संगठन हो । हामीसँग गोलमेडलिस्टदेखि रेगुलर विद्यार्थी पनि हुनुहुन्छ । सबैको आ-आफ्नो स्वभाव हुन्छ । जो विद्यार्थी नेविसंघको अनुशासन न्दा बाहिर गएको छ, उसलाई कारबाही गरेका छौँ । स्पष्टीकरण सोधेका छौँ ।
तर, कहिलेकाहीँ कसैले व्यक्तिगत स्वार्थको लागि नेविसंघको झण्डा प्रयोग गरिदिन्छ । त्यसलाई हामी स्वीकार गर्दैनौँ । हाम्रा कतिपय ‘मुभमेन्ट’मा कोही साथीहरू आउनुहुन्छ भने नआउनु भन्न पनि मिल्दैन । भएको त्यही होला, अन्योलमा राखेको हैन ।
त्रिवि उपकुलपति मेरिटोक्रेसीको आधारमा चाहिन्छ, प्रतिस्पर्धात्मक हुनुपर्छ भनेर अभियान चलाउनुभयो । तर त्यस्तो भएन । अब त्यो अभियान के हुन्छ ? कि पार्टीले भाग पाएपछि सबै सकिन्छ ?
यसअघि प्रतिस्पर्धा गरेर आउनुभएको उपकुलपति जो हुनुहुन्थ्यो, उहाँलाई राजीनामा दिन बाध्य बनाउँदा नेविसंघ मात्र बोल्यो । जबकि, उहाँ कांग्रेसनिकट हुनुहुन्थेन । त्यसैले हामी पार्टीभन्दा पनि मान्छे राम्रो चाहियो भन्छौँ । अहिले खोजेको पनि त्यही हो । संस्था बलियो हुनुपर्छ भन्ने हाम्रो कुरा हो ।
अब अहिले विश्वविद्यालयले नयाँ उपकुलपति पाइसकेको छ । दीपक अर्याल सरको क्षमतामा कुनै प्रश्न छैन । अब हामीले हेर्ने भनेको उहाँको कर्म हो । तर जुन प्रक्रिया उपकुलपति नियुक्तिको लागि सुरु भएको थियो, त्यो नभएकोमा दु:ख प्रकट चाहिँ गरेका हौँ ।
पछिल्लो समय सरकारका यत्रा काण्ड सार्वजनिक भइरहेका छन् । खै यी मुद्दामा नेविसंघ कतै देखिँदैन नि ?
पहिला पनि हामीलाई आरोप लाग्ने गर्थ्यो- विद्यार्थी संगठन पेट्रोलको भाउ बढ्दा मात्र आन्दोलन गर्छन् भनेर । शैक्षिक मुद्दामा भन्दा बढी राजनीतिक मुद्दामा केन्द्रित भए भनिन्थ्यो । अहिले हामी शैक्षिक मुद्दामा केन्द्रित छौँ । त्यसो भन्दैमा पछिल्ला घटनामा बोलेकै छैनौँ भन्ने हैन ।
चाहे हिजो हाम्रा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा होस् वा अहिले, महँगी लगायतका विषयमा आन्दोलन गरेका छौँ । हिजो कांग्रेसकै समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि बालुवाटार घेराउजस्ता आन्दोलन गरेकै हो । त्यसैले बथितिविरुद्ध नेविसंघ सधैँ उभिन्छ । राजनीतिकभन्दा शैक्षिक मुद्दामा धेरै केन्द्रित भएकाले त्यस्तो लागेको हुनसक्छ ।
तपाईंको मित्र संगठनका निवर्तमान अध्यक्ष समिक बडालले त ‘विद्यार्थी आन्दोलनबाट बिदा हुँदै गर्दा…’ भनेर अनुभव साटिसक्नुभयो, जो तपाईंभन्दा पछि अनेरास्ववियुको अध्यक्ष हुनुभएको थियो । त्यसरी कम्प्लिट अनुभव तपाईंले चाहिँ कहिले सुनाउने ?
हामीले पार्टीलाई कात्तिक मसान्तसम्मको समय मागेका थियौँ । पार्टीले चाहिँ कात्तिकमा उपनिर्वाचन लगायतका कार्यव्यस्तताका कारण मंसिरको दोस्रो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न भनेको छ । मंसिरको दोस्रो साता महाधिवेशन हुन्छ । त्यसपछि मलाई पनि विद्यार्थी आन्दोलनबाट बिदा भएको देख्न पाउनुहुन्छ ।
प्रतिक्रिया 4