+
+
Shares

विद्या भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गर्नुभएको थियो, यो वर्षको पनि भइसक्यो : कर्ण थापा

‘ओली–भण्डारीबीच कुनै कित्ताकाट छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १७:१४

४ साउन, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए ।

तर, हिजो र अस्ति दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एक वर्ष अघि नै भएको र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।

‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाले सञ्चारकर्मीसँग भने ।

उनले शुक्रबार र शनिबार बसेको पार्टी बैठकमा सदस्यताबारे निर्णय नभएको पनि बताए ।

‘कसले के भन्नुभयो थाहा छैन । तर, हिजो कुनै निर्णय भएको होइन । पेन्डिङमा होइन । हिजो त्यस्तो निर्णय भएको होइन,’ थापाले भने ।

अहिले ओली र भण्डारीबीच वार्ता जारी छ । थापाका अनुसार, दुवै जना एक्लाएक्लै छलफलमा छन् । सचिवालय र पोलिटब्युरो बैठकमा आएको सुझाव अनुसार नै उनीहरूबीच वार्ता चलिरहेको उनले बताए ।

‘उहाँहरूले छलफल गर्नुअघि बस्यौं । दुवै जना प्रफुल्ल मुद्रामा हुनुहुन्छ । लामो सहयात्राका कुराहरू पनि गर्नुभयो । अहिले राजनीतिक वार्तामा प्रवेश गर्नुभएको छ । उहाँहरू दुई जनाबीच मात्रै छलफल भइरहेको छ,’ थापाले भने ।

पार्टीभित्र द्वन्द्व समाधान हुन नसक्ने अवस्थामा पुगेको जस्तो आफूलाई नलागेको पनि उनले बताए ।

उनले दुई जनाबीच कुनै कित्ताकाट नभएको पनि जिकिर गरे ।

‘अहिले कुनै पनि कित्ताकाट छैन । पछि महाधिवेशनबाट को के मा उठ्ने कसरी अघि बढ्ने भन्नेबारे हुन्छ । अहिले कुनै कित्ताकाट छैन,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?