
५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।
अरुण मगरको २६औं स्मृति दिवसका अवसरमा स्रष्टा सम्मान एवं बृहत सांस्कृतिक कार्यक्रममा मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राणतत्व भएको बताए ।
‘संस्कृतिभित्र प्राण छ, हामी खुला संग्र्रहालयका रूपमा बाँचिरहेका छौं, हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो,’ उनले भने ।
मन्त्री पाण्डेले नेपालमा हाल १ सय ३१ भाषा बोलिने बताउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे । उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत हुन १ सय ५ निवेदन प्राप्त भएका छन् ।
‘हामी अतिथि देवो भव: भन्ने संस्कारमा विश्वास राख्छौं, अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,’ मन्त्री पाण्डेले भने ।
देउडा, कौणा र विभिन्न जातीय नृत्यलाई अब मूलधार पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ छ । उनले संस्कृति सम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्याएका प्रेमबहादुर थापालाई विशेष सम्मान गरियो ।
प्रतिक्रिया 4