
६ साउन, काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयको सिस्टम डाउन गराएर सेवाग्राहीसँग खुलेआम घुस उठाउने कम्पनी रजिष्ट्रार ईश्वरकुमार गिरीले अनलाइनखबरकर्मीलाई नै घुस खुवाउने प्रयास गरेका छन् ।
कम्पनी रजिष्ट्रार कार्यालयको भित्री सूचना दिने भन्दै अधिकृतस्तरका दुई जना कर्मचारी पठाएर उनले अनलाइनखबरकर्मी जनार्दन बराललाई घुस दिने प्रयास गरेका हुन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एक कफी शपमा कम्पनी रजिष्ट्रार गिरीले पठाएका दुईजना अधिकृतहरू रविन कार्की र भीमप्रसाद पराजुलीले घुस दिने प्रयास गरेका हुन् ।
ती दुई अधिकृतहरूलाई आफूले पठाएको कम्पनी रजिष्ट्रार गिरी पनि अनलाइनखबरसँगै स्वीकार गरेका छन् ।
अनलाइनखबरले कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरूले सेवाग्राहीसँग खुलेआम घुस खाने गरेको विषयमा निरन्तर समाचार प्रकाशित गरेपछि त्यसलाई प्रभावित पार्न रजिष्ट्रार गिरीले अनलाइनखबरकर्मीलाई नै घुस दिने प्रपञ्च रचेका हुन् ।
यसरी भयो घटना
अनलाइनखबरमा ‘कम्पनी रजिस्ट्रार कार्यालयमा खुलेआम घुस : कर्मचारी सरुवा गरेर चोख्याउने खेल’ शीर्षकको समाचार प्रकाशित भएपछि कम्पनी रजिष्ट्रार कार्यालयका सहायक रजिष्ट्रार रविन कार्कीले फोन गरेर ‘राम्रो समाचार लेख्नुभयो, भोलि तपाईंलाई थप सूचना दिन्छु भेट्नुपर्छ,’ भनेका थिए ।
‘उपसचिवहरू निर्णय गर्छन्, हामीलाई सरुवा गरेर अन्याय गरियो’ समेत भनेपछि हामी उनीहरूसँग मगलबार दिउँसो भेट्न तयार भयौं ।
सोही अनुसार, बानेश्वरस्थित एक कफी शपमा भेट भएको थियो । कार्कीले अर्का सहायक रजिष्ट्रार भीमप्रसाद पराजुली समेत लिएर आएका थिए ।
उनीहरूसँग केहीबेर कुराकानी भयो । निस्कने बेला अनलाइनखबरका प्रतिनिधि बाथरुममा प्रवेश गरेका थिए । कार्की पनि सोही बाथरुममा प्रवेश गरे ।
त्यतिबेलै उनले पछाडिबाट अनलाइनखबरका प्रतिनिधिको खल्तीमा हात हाले । फर्केर हेर्दा, कार्कीले केही रकमको बिटो खल्तीमा राखिदिइसकेका थिए ।
त्यसपछि अनलाइनखबरकर्मीले ‘तपाईंले के सोचेर मेरो खल्तीमा पैसा हाल्नुभयो ?’ भन्दै प्रश्न गरे । ‘पत्रकारले पैसा खाएर समाचार लेख्छन् भन्ने लाग्यो तपाईंलाई ?’ भनेर प्रतिप्रश्न गर्दा ‘त्यस्तो होइन हजुर’ भन्दै रकम आफैंले राखे ।
अनलाइनखबरको फिल्ड रिपोर्टिङका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयको ट्वाइलेटमा घुसको कारोबार हुने गरेको देखिएको थियो । सो कार्यालयमा जसरी घुसको कारोबार हुने गरेको हो, ठ्याक्कै त्यही शैलीमा कम्पनी रजिष्ट्रार गिरीले पठाएका अधिकृतहरूले घुस दिने प्रयास गरेका थिए ।
त्यसपछि अनलाइनखबरकर्मीले ‘तपाईंहरू भर्खरै शाखा अधिकृतमा नाम निकाल्नु भएको रहेछ, लामै करिअर सोचेर लोकसेवा पास गर्नुभयो होला । अहिले जे गर्नुभयो, त्यो बिल्कुल गलत गर्नुभयो । यस्तै गर्नुभयो भने तपाईंहरूको करिअर कुनै पनि बेला धरापमा पर्ला विचार गर्नुस्,’ भन्दै सम्झाएर पठाएका थिए ।
तर, आजै साँझ कम्पनी रजिष्ट्रार कार्यालयले अटोमेटेड रुपमा पत्रहरू जारी गर्ने निर्णयका बारेमा बुझ्न अनलाइनखबरकर्मीले कम्पनी रजिष्ट्रार गिरीलाई पनि फोन गरेका थिए ।
त्यसक्रममा गिरी स्वयंले ‘मैले आज तपाईंलाई भेट्न केटाहरू पठाएको थिएँ, भेट भयो नि हैन ?’ भनेर सोधे ।
‘को केटाहरू ?’ भनेर अनलाइनखबरकर्मीले प्रश्न गर्दा उनले रविन कार्कीको नाम लिए ।
जो दिउँसो बाथरुममै घुस रकम बोकेर प्रवेश गरेका थिए ।
‘ए ती तपाईंले पठाएका मान्छे पो हुन् ?,’ भनेर अनलाइनखबरकर्मीले सोध्दा उनले ‘हो मैले नै पठाएको हो’ भनेर स्वीकार पनि गरेका छन् । जसको रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ । गिरीले यसो भनेपछि मात्रै सूचना दिने नाममा सुनियोजित रुपमा कार्यालयका कर्मचारीहरूलाई प्रयोग गरेर उनले अनलाइनखबरकर्मीलाई घुस दिन खोजेको खुलेको हो ।
त्यसपछि अनलाइनखबरकर्मीले सहायक रजिष्ट्रार कार्कीलाई फोन गरेर यसबारे पुन: सोधखोज गरिएको थियो ।
सो क्रममा उनले उल्टै पत्रकारको नियत बुझ्न त्यस्तो काम गरेको बताए ।
‘पत्रकारहरू पनि विभिन्न किसिमका हुन्छन्, कोही कस्ता हुन्छन्, कोही कस्ता हुन्छन् । तपाईंको नियत के रहेछ, पैसा खाएर समाचार लेख्नुहुँदो रहेछ कि रहेनछ भनेर चेक गर्न त्यसो गरेको हुँ,’ उनले अनलाइनखबरसँग भने । यसको रेकर्ड पनि अनलाइनखबरसँग सुरक्षित छ ।
अनलाइनखबरकर्मीले रजिष्ट्रार गिरी र सहायक रजिष्ट्रार कार्कीसँग यति कुरा गरेपछि भने यी दुवैले पटकपटक फोन गर्दै समाचार नलेखिदिन भन्दै अनुरोध गरेका छन् ।
त्यसका साथै उनीसँगै आएका अर्का सहायक रजिष्ट्रार पराजुलीले पनि फोन गरेर त्यो समाचार नलेखिदिन अनुरोध गरे । कम्पनी रजिष्ट्रार गिरीले त घुस रकम बोकेर आउने दुवै कर्मचारीलाई भोलि नै कारबाही गर्ने भन्दै समाचार नलेख्न पटकपटक दबाब दिइरहेका छन् ।
कार्की र पराजुली दुवैले पटकपटक फोन गरेर गलत बुझाई भएको भन्दै ‘अहिल्यै वा भोलि बिहान भेटेर कुरा गरौं,’ भन्ने प्रस्ताव पनि अनलाइनखबरकर्मीलाई अनुरोध गरेका छन् ।
जुन कुरा हामीले अस्वीकार गरेका छौं ।
प्रतिक्रिया 4