
९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव राखेको छ ।
प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा सम्बन्धी विधेयक राष्ट्रिय सभामा छ । राष्ट्रिय सभामा संशोधन राखेर माओवादी केन्द्रका सांसदहरूले कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव राखेका हुन् ।
कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने सम्बन्धी प्रावधान हो ।
प्रतिनिधि सभाले सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ अफ पिरियडको प्रावधान लाग्ने प्रावधानसहित विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको छ । जसमा संशोधन राखेर माओवादी सांसदहरूले कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्याउने प्रस्ताव राखेका हुन् ।
यस्तो प्रस्ताव राख्ने सांसदहरू हुन्– सुरेश कुमार आलेमगर, उर्मिला अर्याल, गंगा कुमारी बेलवासे, गोपी बहादुर सार्की अछामी, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, तारामान स्वाँर, नरबहादुर विष्ट, मनरूपा शर्मा, राधेश्याम पासवान, रेनु चन्द र श्रीकृष्ण प्रसाद अधिकारी ।
यी सांसदहरूले विधेयकको दफा ८२ को उपदफा ४ मा यस्तो संशोधन प्रस्ताव राखेका हुन् । ‘उपदफा (४) प्रतिवेदनअनुसार कायम भएको उपदफा (५) मा रहेका “दुई वर्षसम्म’’ भन्ने शब्दहरूको सट्टा “तीन वर्षसम्म’’ भन्ने शब्दहरू राखी यसैको खण्ड (क) मा रहेका “नियुक्ति बाहेकको’’ भन्ने शब्दहरू झिक्नु पर्ने’ विधेयकको दफा ८२ को उपदफा ४ मा उनीहरूको संशोधन छ ।
प्रतिनिधि सभाले विधेयकको दफा ८२ मा उपदफा ४ थपेर २ वर्ष कुलिङ अफ पिरियड राख्ने गरी पास गरेर राष्ट्रिय सभामा पठाएको छ । त्यसमा लेखिएको छ, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अबंधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन ।’
यसमा रहेको २ वर्षको अवधिलाई ३ वर्ष पुर्याउनुपर्ने प्रस्ताव माओवादी केन्द्रले राखेको हो ।
प्रतिक्रिया 4