+
+
Shares

गाजामा युद्ध अपराध भइरहेको जिकिर, एक तिहाइ मानिस भोकै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १३:०५

१० साउन, काठमाडौं । एक अमेरिकी नागरिकले गाजामा स्पष्ट रूपमा आफूले युद्ध अपराध देखेको बताएका छन् ।

बीबीसीसँगको कुराकानीमा उनले मानवीय रूपमा यस्तो क्रूरता र निर्दोष नागरिकमाथि दमन कहिल्यै नदेखेको बताएका छन् ।

अमेरिकी सुरक्षा ठेकेदार समेत रहेका उनले बीबीसीलाई बताएअनुसार, उनले मे र जुन २०२५ मा जीएचएफसँग काम गर्ने क्रममा स्पष्ट रूपमा युद्ध अपराध देखेको बताए ।

एन्थोनी अगुइलार नामका ती पूर्वसैनिकले भने, ‘आईडीएफ (इजरायली सेना) र अमेरिकी ठेकेदारहरूले खाद्य वितरण स्थलहरूमा सर्वसाधारणमाथि गोली, तोप, मोर्टार र ट्यांक प्रयोग गरेको उनले देखेका छन्।

उनले भने, ‘मेरो समग्र सैन्य करियरमा मैले कहिल्यै पनि यस्तो स्तरको क्रूरता र निरपराध जनतामाथि अनावश्यक बल प्रयोग देखेको थिइनँ।’

जीएचएफले भने यी दाबीहरू अस्वीकार गर्दै यसलाई ‘एक असन्तुष्ट पूर्वकर्मचारीबाट आएका झुटा आरोप’ भनेको छ ।

एक तिहाइ नागरिक भोकै

संयुक्त राष्ट्रसंघको खाद्य सहायता कार्यक्रम (डब्ल्यूएफपी) ले गाजा क्षेत्रमा झन्डै तीनमध्ये एक व्यक्ति दिनौंसम्म खाना नखाई बस्न बाध्य रहेका जानकारी दिएको छ ।

कार्यक्रमको विज्ञप्तिमा भनिएको छ, ‘कुपोषण तीव्र रूपमा बढिरहेको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचार आवश्यक छ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार कुपोषणका कारण थप ९ जनाको मृत्यु भएको छ, जससँगै युद्ध सुरु भएयता यसरी ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ।

गाजामा सबै आपूर्तिको प्रवेश नियन्त्रण गरिरहेको इजरायलले गाजामा सहायता पुर्‍याउन कुनै अवरोध नरहेको दाबी गर्दै खाद्य अभावका लागि हमासलाई दोषारोपण गर्दै आइरहेको छ ।

तर यथार्थमा सैन्य हमलासँगै सबै आपूर्तिहरू इजरायलले रोकिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइरहेका छन् ।

खाद्यान्न आपूर्तिमै अवरोध

स्थानीय सञ्चारमाध्यमका अनुसार, संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनले पछिल्लो पटक सहायता पुर्‍याउने तयारी गरेका छन्, तर जोर्डनका एक वरिष्ठ अधिकारीले बीबीसीसँग बताएअनुसार उनीहरूको सेनाले अझै इजरायलबाट अनुमति पाएको छैन ।

संयुक्त राष्ट्रसंघले भने यस कदमलाई इजरायली सरकारको नियतको रूपमा आलोचना गरेको छ।

यी सबै गतिविधि र प्रतिक्रियाहरू गाजामा बिग्रँदो मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता बढ्दै गएको सन्दर्भमा आइरहेको हो ।

शुक्रबार जर्मनी, फ्रान्स र बेलायतले संयुक्त वक्तव्य जारी गर्दै गाजामा सहायता आपूर्तिमा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउन इजरायललाई आग्रह गरेका छन्।

तीन राष्ट्रले भनेका छन्, ‘हामी गाजामा देखिएको मानवीय संकट तुरुन्त अन्त्य हुनु पर्ने माग गर्छौं। युद्ध तुरुन्त रोक्नुपर्छ। इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार आफ्नो दायित्व पालना गर्नुपर्छ।’

वक्तव्यमा भनिएको छ, ‘सर्वसाधारण जनतालाई अत्यावश्यक मानवीय सहायता नदिनु अस्वीकार्य छ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रश्न गरेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायको उपेक्षा, निष्क्रियता, करुणाको अभाव, सत्यको अभाव र मानवताको कमी मैले कसरी व्याख्या गर्ने ?’

एमनेस्टी इन्टरनेसनको विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘२७ मेदेखि, जब अमेरिका र इजरायल समर्थित गाजा ह्युम्यानिटरियन फाउन्डेसनले संयुक्त राष्ट्रसंघको स्थानमा आपूर्ति वितरण गर्न थालेदेखि १००० भन्दा बढी प्यालेस्टिनीहरू खाना खोज्ने क्रममा मारिएका छन् ।’

हवाईमार्गबाट खाद्यान्न पुर्‍याउने बेलायती प्रधानमन्त्रीको संकेत

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले गाजामा हवाई मार्गमार्फत सहायता पुर्‍याउने कार्यमा बेलायतले भूमिका खेल्ने संकेत दिएका छन्।

यसअघि एक तिहाइभन्दा बढी सांसदहरूले एक पत्रमा हस्ताक्षर गर्दै सरकारले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिन अपील गरेका थिए।

इजरायलले शुक्रबार केही देशहरूलाई आगामी दिनहरूमा गाजामा सहायता सामग्री हवाई मार्गबाट पुर्‍याउन अनुमति दिन सक्ने प्रतिक्रिया दिएको थियो ।

प्रधानमन्त्री किएर स्टार्मरले द मिररसँग भनेका छन्, ‘इजरायलले गाजामा सहायता पुर्‍याउनका लागि देशहरूलाई एयरड्रपको अनुमति दिने खबर ढिलागरी आएको छ, तर हामी यस मार्गबाट सहायता पुर्‍याउन हरसंभव प्रयास गर्नेछौं ।’

प्रधानमन्त्री स्टार्मरले गम्भीर उपचार आवश्यक परेका बालबालिकालाई बेलायत ल्याएर उपचार गर्ने प्रयासलाई ‘छिटो र तुरुन्तै’ कार्यरूप दिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?