
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मातर्फ संकेत गर्दै प्रतिक्रियावादी र दलालहरूको उक्साहटमा लागेको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रभित्र राजनीतिक वैचारिक संकट नभए पनि एकाध व्यक्ति उक्साहटमा लागेको आरोप लगाएका हुन् ।
प्रचण्डले एमालेभित्रको विवादलाई ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा दिए भने कांग्रेसभित्र पनि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको स्तर र भूमिकाको नेता नभएको बताए ।
‘एकाध मान्छेका असन्तुष्टि, कुण्ठा या प्रतिक्रियावादी र दलालहरुका प्रोभोकेसन (उक्साहट) मा गएर हाम्रो पार्टीमा कुनै संकट वैचारिक राजनीतिक पनि छैन। नेतृत्वको संकट पनि हाम्रो पार्टीमा छैन।’
प्रचण्डले अन्य पार्टीमा देखिएका यस्ता संकटहरू माओवादीको लागि अवसर बनेर आउँदै गरेको टिप्पणी गरे ।
वैचारिक संकट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गर्दै प्रचण्डले भने, ‘हामीलाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धि सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन ।’
उनले थपे, ‘केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं।’
उनले अरू पार्टीमा देखिएको संकट ह्यान्डल गर्ने सके माओवादी एकपटक राम्रैसँग नेतृत्वमा आउने वातावरण बन्ने दाबी गरे ।
‘सरकार चारैतिर असफल, घृणाको पात्र जस्तो बनेको छ’ उनले भने । प्रचण्डले कांग्रेस-एमालेभित्र र अहिले भर्खरै सरकार छोडेर प्रतिपक्षमा मिसिन आइसकेका पार्टीहरूलाई मिलाउन काम गरिरहेको संकेत गरे ।
‘यो संविधान र गणतन्त्र विरोधी, भ्रष्टाचारी सरकारलाई छिटोभन्दा छिटो उनीहरू गठबन्धन भित्रकै पनि शक्तिहरू जसरी असन्तुष्ट देखिएका छन्, ती अगाडि आउन् भन्ने ठानेर भूमिका खेलिराखेको तपाईंहरूले हेरिराख्नु भएकै छ,’ उनले भने ।
प्रतिक्रिया 4