+
+
Shares
साहित्य विवेचन :

३ पुरस्कारका लागि १९ कृति र कृतिकार

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८२ साउन १२ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली साहित्यमा राष्ट्रियस्तरका मदन, पद्मश्री र कविडाँडा आख्यान पुरस्कारका लागि २०१३, २०६३ र २०७५ सालदेखि क्रमशः वितरण हुँदै आएका छन्।
  • पद्मश्री साहित्य पुरस्कारको १५ असारमा प्रकाशित सूचीमा १५ कृतिहरू छनोट भएका छन् भने मदन र कविडाँडा आख्यान पुरस्कारको सूची ६ साउनमा प्रकाशित भएको छ।
  • तीन पुरस्कारका लागि छनोट भएका कृतिहरूमा सर्वाधिक उपन्यास विधा परेको छ र विश्वभरका नेपाली भाषी साहित्यकारका लागि यी पुरस्कार खुल्ला छन्।

यतिखेर नेपाली साहित्यको परिदृश्यमा राष्ट्रियस्तरका तीन पुरस्कारका सूची प्रकाशनले गर्माएको छ। नेपाली साहित्यिक जगतको पहिलो निजी क्षेत्रको २०१३ सालदेखि वितरण प्रारम्भ भएको प्रतिष्ठित “मदन पुरस्कार”, २०६३ सालदेखि शुरू भएको “पद्मश्री साहित्य पुरस्कार” तथा २०७५ सालदेखि दिन थालिएको “कविडाँडा आख्यान पुरस्कार” साहित्यिक जगतमा चासो र रूचिका साथ हेरिने पुरस्कारमा पर्दछन् ।

यी तीनै राष्ट्रिय पुरस्कार भन्नु भन्दा अन्तर्राष्ट्रिय पुरस्कार भन्दा फरक नपर्ला । किनभने यी पुरस्कारहरू नेपालको राजनैतिक सीमाभित्र मात्र सीमित नरहेर नेपाली भाषामा लेख्ने विश्वभरका नेपाली भाषी साहित्यकारका लागि खुल्ला रहेको देखिन्छ। त्यो खुल्लापनको दृष्टान्त यस वर्षको पुरस्कार हेतु प्रकाशित पहिलो सूचीमा रहेका साहित्यकारहरूलाई हेर्दा नै स्पष्ट हुन्छ । यो संसारभरका नेपालीभाषी साहित्यकारहरूका लागि खुशीको कुरा हो । अझ मदन पुरस्कार त साहित्यमा मात्र सीमित छैन। नेपाली भाषाको उत्कृष्ट ग्रन्थका लागि दिइने पुरस्कार भएकाले नेपाली भाषी हरेक किसिमका लेखकलाई समेत यो खुल्ला छ ।

०००

यी तीन पुरस्कारमध्ये “पद्मश्री साहित्य पुरस्कार” का लागि १५ कृतिहरूको विस्तारित सूची १५ असारमा प्रकाशित भयो। त्यसमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (उपन्यास), छुदेन काविमो, एउटा मायी नगरमा (कथा संग्रह) रमेश क्षितिज, छालबाटो (नियात्रा) रमेश भुसाल, प्रणाम सगरमाथा (नियात्रा) भवानी खतिवडा, प्रवासीको देश हुन्न (कथासंग्रह) पंचम अधिकारी, पानीको परेड (कवितासंग्रह) दिनेश अधिकारी, बहुरूपी (कथासंग्रह) श्रेयज सुवेदी, रुदाने (उपन्यास) टंक चौलागाई, स्व (उपन्यास) सरस्वती प्रतीक्षा, साँझमा सेल्फी (कविता) हेम प्रभास, सावर्णि (उपन्यास) डा. श्रीधर खनाल, सिमसारा (आख्यान) वसन्त बस्नेत, श्री ५ को सेवामा (संस्मरण) हेमन्त मिश्र र हिउँको गीत (उपन्यास) तीर्थ गुरुङ रहेका छन्। यो सूची पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाए अनुसार प्राप्त २०३ कृतिमध्ये छानिएका हुन् ।

संयोगवश मदन पुरस्कार र कविडाँडा आख्यान पुरस्कारको पहिलो सूची ६ साउन एकै दिन प्रकाशमा आयो। मदन पुरस्कारले आफ्नो सूचीमा सात कृति उरमाल (उपन्यास) छुदेन काविमो, छालबाटो (नियात्रा) रमेश भुसाल, दर्ज्यु संलाप (निबन्ध) कुमारी लामा, पञ्चतत्त्वको पालाम (कविता) मनप्रसाद सुब्बा, बहुरूपी (कथा सङ्ग्रह) श्रेयज सुवेदी, भिक्षु व्यापार र विद्रोह (गैर आख्यान) सुधीर शर्मा तथा हिउँको गीत (उपन्यास) तीर्थ गुरुङ प्रकाशनमा ल्याएको छ। मदन पुरस्कार गुठीले जनाए अनुसार पुरस्कार हेतु प्राप्त २९९ कृतिमध्येबाट यी सात कृति छानिएका हुन् ।

कविडाँडा आख्यान पुरस्कारका लागि कविडाँडा साहित्य समाजले १० कृतिको सूची प्रकाशित गरेको छ । त्यस सूचीमा परेका कृति र कृतिकारहरूमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (उपन्यास) छुदेन काविमो,  एउटा मायी नगरमा (कथासङ्ग्रह) रमेश क्षितिज, धीमहि (उपन्यास) जयराम तिमिल्सिना, प्रवासीको देश हुन्न (कथासङ्ग्रह) पंचम अधिकारी,  रुदाने (उपन्यास) टंक चौलागाईं, हिउँको गीत (उपन्यास) तीर्थ गुरुङ, स्व (उपन्यास) सरस्वती प्रतीक्षा, सावर्णि (उपन्यास) श्रीधर खनाल तथा सिमसारा (उपन्यास) बसन्त बस्नेत रहेका छन् । कविडाँडा साहित्य समाजले भने कति पुस्तक पुरस्कार हेतु प्राप्त भएको हो सो जनाएको छैन ।

 

०००

पुरस्कारका लागि चयन भएका समग्र कृतिहरूमा सर्वाधिक उपन्यास विधा परेको छ। १९ कृतिहरूमा ८ कृति उपन्यास परेका छन्, ३ कथासङ्ग्रह, ३ कविता सङ्ग्रह, ३ निबन्ध तथा गैरआख्यान तथा २ नियात्रा रहेका छन्। नि:सन्देह उपन्यास विधामा सर्वाधिक कृतिहरू प्रकाशित भएको हुनाले यो विधामा बढी कृति देखिएको हुनसक्छ।

पुरस्कार संस्थाको चयन अनुसार सर्वाधिक ८ उपन्यास कविडाँडा आख्यान पुरस्कारको सूचीमा परेको छ। आख्यानमा केन्द्रित हुनाले यो एकदम स्वाभाविक मान्न सकिन्छ। पद्मश्री पुरस्कारका लागि ७ उपन्यास छानिएका छन्। मदन पुरस्कारका लागि भने २ उपन्यास मात्र छनोटमा परेका छन्।

कथा विधामा मदन पुरस्कारले एउटा छनोट गरेको छ भने, पद्मश्रीका लागि २ र कविडाँडा आख्यान पुरस्कारका लागि २ कथा कृति छनोटमा परेका छन्। कविता विधामा मदन पुरस्कारको छनोटमा १ कविता सङ्ग्रह परेको छ भने पद्मश्री पुरस्कारको छनोटमा २ कविता सङ्ग्रह परेका छन्।

निबन्ध तथा गैरआख्यानमा मदन पुरस्कारको सूचीमा २ कृति छनोट भएका छन् भने पद्मश्रीको छनोटमा १ कृति परेको छ। त्यस्तै नियात्रा विधामा मदन पुरस्कारको सूचीमा १ कृति परेको छ भने पद्मश्रीको छनोटमा २ कृति परेका छन्।

यसरी हेर्दा सर्वाधिक विधा मदन पुरस्कारले समेटेको देखिन्छ। मदन पुरस्कारको सूचीमा उपन्यास, नियात्रा, निबन्ध, कविता, कथा तथा गैर आख्यान सहित ६ विधा परेको छ। नेपाली भाषाको उत्कृष्ट पुरस्कारका लागि दिइने पुरस्कार भएकोले यो स्वाभाविक पनि हो, तथापि सर्वाधिक पुस्तक साहित्यकै रहेका छन्।

पद्मश्री साहित्य पुरस्कारको सूचीमा उपन्यास, कथा, कविता, कथा तथा गैरआख्यान सहित ५ विधा समेटिएको छ।

कविडाँडा आख्यान पुरस्कारको सूचीमा आख्यानका २ विधा मात्र पर्नु स्वाभाविक नै भयो। यसको सूचीमा सर्वाधिक ८ उपन्यास र २ कथासङ्ग्रह परेका छन्।

०००

यी तीन संस्थाले पुरस्कारका लागि छनोट गरेका कृतिहरूमा छुदेन काविमोको उपन्यास “उरमाल” तीनवटै संस्थाको छनोटमा परेको छ। “छालबाटो” नियात्रा र “बहुरूपी” कथासङ्ग्रह मदन पुरस्कार र पद्मश्री पुरस्कारको छनोटमा परेका छन्। तीनै संस्थाको छनोटमा परेको “उरमाल” बाहेक मदन पुरस्कार र कविडाँडा आख्यान पुरस्कारका लागि मात्र छनोट भएका कुनै कृति देखिएन।

तर पद्मश्री साहित्य पुरस्कार तथा कविडाँडा आख्यान पुरस्कारका लागि छनोट भएका यी ९ कृतिहरू शैलेन्द्र अधिकारीको अर्हत (उपन्यास), छुदेन काविमोको उरमाल (उपन्यास), रमेश क्षितिजको एउटा मायी नगरमा (कथासंग्रह), पंचम अधिकारीको प्रवासीको देश हुन्न (कथासंग्रह), टंक चौलागाईको रुदाने (उपन्यास), सरस्वती प्रतीक्षाको स्व (उपन्यास), डा श्रीधर खनालको सावर्णि (उपन्यास), वसन्त बस्नेतको सिमसारा (उपन्यास) तथा तीर्थ गुरुङको हिउँको गीत (उपन्यास) रहेका छन्।

०००

यी तीन पुरस्कार संस्थाको रोजाइमा परेको “उरमाल” का उपन्यासकार नेपालको राजनैतिक सिमाना बाहिरका नेपाली भाषी हुन्। त्यस्तै मदन पुरस्कारको रोजाइमा परेको “पञ्चतत्त्वको पालाम” का कवि मनप्रसाद सुब्बा पनि नेपाल बाहिरका हुन्।

तर यी पुरस्कारहरूले भाषाको माध्यमले सारा संसारका नेपालीलाई जोड्ने जुन प्रयास देखिएको छ, यसले नेपाली भाषी संसारका सबै नेपालीलाई एउटै छातामुनि राख्ने देखिन्छ। यो नेपाली भाषी विश्वका सबै नेपालीका लागि सुखद् पक्ष हो।

०००

यी तीन पुरस्कारका प्रतिस्पर्धी साहित्यकारहरूमा १७ जना पुरुष र २ जना महिला साहित्यकार देखिएका छन्। अर्थात् यस वर्षको पहिलो सूचीमा १० प्रतिशत भन्दा अलि बढी महिलाको वर्चस्व देखियो। हुनत पुस्तकको प्रतिस्पर्धा भएकाले लेखक–लेखिकाको लिङ्गसँग यसको खासै नाता त देखिन्न। तर पनि यसो झट्ट हेर्दा देखिएको यो एउटा परिदृश्य मात्रै हो।

०००

यी तीन पुरस्कारमध्ये जेठो मदन पुरस्कारको राशि हाल ४ लाख रहेको छ, जबकि यसको सुरुवातको बेला २०१३ सालमा यो ४ हजार मात्र थियो।

पद्मश्री साहित्य पुरस्कारको राशि हाल ३ लाख रहेको छ, यो पुरस्कारको राशि स्थापना कालमा १ लाख रुपैयाँ रहेको थियो।

कविडाँडा आख्यान पुरस्कारको राशि हाल १ लाख २५ हजार रहेको छ, सुरुमा यो पुरस्कार २५ हजार राशिको थियो।

 ०००

यी प्रतिस्पर्धी १९ कृतिकारमध्ये पद्मश्री साहित्य पुरस्कारमा सूचीकृत दिनेश अधिकारी भने २०५६ सालमा अतिरिक्त अभिलेख” कविता सङ्ग्रहका लागि मदन पुरस्कारबाट पुरस्कृत भइसकेका कवि हुन्। त्यस्तै “छालबाटो” नियात्राले साहित्य पोस्ट गैरआख्यान पुरस्कार प्राप्त गरिसकेको छ।   

०००

गत वर्ष मोहन मैनालीको गैरआख्यान “‘मुकाम रणमैदानः नेपाल–अङ्ग्रेज युद्धको बखान” ले मदन पुरस्कार पाएको थियो। पद्मश्री पुरस्कार र कविडाँडा आख्यान पुरस्कार भने एउटै कृति कृष्ण गौतमको “अद्वैत” उपन्यासले प्राप्त गरेको थियो।

यस वर्ष कुन पुस्तकले कुन पुरस्कार पाउला, त्यसको लागि त केही समय कुर्नु नै पर्ने हुन्छ।

भर्जिनिया, अमेरिका।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?