+
+
Shares

चकित पार्ने सिन्धुली घटना : कहाँ बेपत्ता भए हायू परिवारका १६ सदस्य ?

सम्पर्कविहीन हुनुअघि किनमेल गरेको देखिनु, भत्ता बुझ्नु, घरमा भएको सुँगुर काटेर खानुले तेस्रो व्यक्तिको संलग्नताभन्दा पनि आफूखुसी योजनामै बेपत्ता भएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन १२ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट उर्मिला हायूको १६ सदस्यीय परिवार तीन दिनदेखि सम्पर्कविहीन भएको छ।
  • प्रहरीले परिवारको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा देखिएको र खोजी भइरहेको जनाएको छ।
  • परिवारले केही दिनअघि सामाजिक सुरक्षा भत्ता लिएको र घरमा सुँगुर काटेर खाएको पाइएको छ, सम्पर्कविहीन हुनुको कारण अझै पत्ता लागेको छैन।

१२ साउन, काठमाडौं । सोमबार बिहान एकाएक सनसनीपूर्ण खबर फैलियो- एकै परिवारका १६ जना बेपत्ता ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट एकै परिवारका १६ जना सम्पर्कविहीन भएको सूचना आएपछि सुरुमा जिल्ला प्रहरी परिसर सिन्धुलीका एसपी लालध्वज सुवेदीलाई पत्यार लागेन ।

सूचनालाई बेवास्ता गर्ने कुरा पनि भएन । तुरुन्तै उनले स्थानीय प्रहरीलाई खबर गरी घटनास्थल गएर बुझ्न भने । घटनास्थल पुगेको प्रहरीले १६ जना बेपत्ता भएको पुष्टि गर्दै खबर गरेपछि इन्स्पेक्टरसहितको अर्को टोली पनि पुग्यो ।

वरपर बोटबिरुवाले घेरिएको ठाउँ, जंगल । अनकान्टार बीचमा जस्ताले छाएको एउटा घर । रातो मोटो पोतिएको भित्तो । घर पछाडि खरले छाएको भान्सा । आगोले डढेर ठुटा भएका काठ । भान्सामा असरल्ल भाँडावर्तन ।

यो दृश्य नियाल्दा भान्सामा आगो लागेजस्तो देखिन्थ्यो । प्रहरी घटनास्थल पुग्दा भोकाएका कुखुरा, बाख्रा कराइरहेका थिए । घरमा कुकुर पनि थियो ।

यही घरबाट तीन दिनदेखि बेपत्ता थियो, उर्मिला हायूको १६ जनाको परिवार । गोलन्जोर-६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उर्मिलाको यो घरबाट अरू नजिकको घर पुग्न कम्तीमा पनि १५ मिनेट जति लाग्छ ।

अनकन्टारमा रहेको यही घरबाट रहस्यमय तरिकाले हायू परिवार बेपत्ता छ । वडाध्यक्ष श्रेष्ठका अनुसार यो घर हायू आफ्नै हो ।

घरभन्दा केही पर डाँडामा एउटा गोठ बनाएर उर्मिलाको परिवारले एउटा पाडी पालेका थिए । दिनहुँ उक्त पाडीलाई घाँसपानी गर्ने उर्मिलाको परिवार तीनदेखि पनि गोठमा पुगेका थिए । नजिकैका छिमेकीले पाडीलाई घाँसपानी दिए ।

तीन दिनसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि ती छिमेकी आज सोमबार बिहान उर्मिलाको घर पुगे । अनि बल्ल थाहा भयो घरमा कोही छैनन् । मोबाइल स्वीच अफ छ । कसैलाई केही जानकारी नै नगराई सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि यो घटना सार्वजनिक भयो ।

सोमबार बिहानदेखि प्रहरी, स्थानीय नागरिक, जनप्रतिनिधिसहितको टोलीले हायूको निरन्तर खोजी राख्यो । तर उनीहरूको बारेमा कुनै नयाँ क्लु फेला पर्न सकेन ।

०००

बेपत्ता हायू परिवारले केही दिनअघि मात्रै सामाजिक सुरक्षा भत्ता बुझेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । वडाध्यक्ष श्रेष्ठका अनुसार, प्रतिमहिना ३ हजार ९९० का दरले उनीहरूले गत बिहीबार भत्ता लिएका थिए ।

उनीहरूले गोलन्जोर गाउँपालिका-७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेको वडा कार्यालयले जनाएको छ ।

विदेशमा रहेका दुईजनासहित १८ जनाको नाममा उर्मिलाको परिवारले भत्ता बुझेको पाइएको छ । यसका साथै ९ गते भत्ता नवीकरणका लागि निवेदनसमेत दिइसकेको उनी बताउँछन् ।

त्यसपछि भने उनीहरू सम्पर्कविहीन छन् । उर्मिलाको घरमा करिब ५ किलो जति मासुसमेत भेटिएकाले आफ्नो घरमा रहेको सुँगुर काटेर खाएको अड्कल गरिएको छ ।

घरको मुल ढोका अगाडि अबिरको घेरा हालेको पाइएको छ । यो घेरा किन हाले भन्ने केही पत्तो लागेको छैन ।

सिन्धुलीको गोलन्जोरमै अरु १२-१५ घर हायू जातिको बसोबास छ । उक्त ठाउँमा गएर पनि प्रहरी र स्थानीयले खोजी गर्दा कोही कसैले पनि नदेखेको बताएका छन् । त्यसपछि प्रहरी समेतको सहयोगमा वरपरको जंगल, खोलानाला, खहरे, बारीमा खोजी गरिएको थियो । तर कुनै संकेत फेला पर्न सकेन ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार, गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको भेटिएको हो ।

‘शुक्रबार ५ बजेर १९ मिनेट जाँदा ग्वालटार बजारबाट अटो ड्राइभरसँग कुरा भएको देखिन्छ,’ सीडीओ भुसालले अनलाइनखबरसँग भने, ‘बजारबाट उनीहरूको घर जाने ठाउँमा लगेर छाडिदिएको भन्ने कुरा उहाँले भन्नुभएको छ ।’

चालकका अनुसार, उनीहरू सडकबाट घरतर्फ लागेका थिए । अघिपछि केही किनमेलका लागि पनि उक्त परिवारसहितका सदस्यले सोही बजार जाने गरेका थिए ।

म्यानुअल्ली रूपमा खोजी गर्दा फेला नपरेपछि प्राविधिक कोणबाट पनि उनीहरूको खोजी सुरु गरियो । प्रहरीका अनुसार उनीहरूको अन्तिम लोकेसन रामेछापको सिमन्दीछापमा देखिएको थियो ।

त्यसपछि रामेछाप प्रहरीको समेत सहयोगमा खोजी गरियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख तथा डीएसपी भोलाकुमार भट्टले बेपत्ता हायू परिवारको खोजी भइरहेको बताए । ‘रामेछापको हायू बस्ती भएका ठाउँमा प्रहरी टोली पठाएर हामीले खोजी गर्‍यौं । तर उनीहरू पत्ता लागेका छैनन्,’ डीएसपी भट्टले अनलाइनखबरसँग भने ।

०००

उनीहरू हराउनुमा आ-आफ्नै अड्काबाजी गरिए पनि अहिलेसम्म यकिन हुन सकेको छैन । हायू परिवारको ऋण रहेको पनि बताइएको छ । तर कति ऋण थियो, कसलाई तिर्नु थियो भन्ने केही यकिन हुन नसकेको एसपी सुवेदी बताउँछन् ।

गाउँलेले भनेअनुसार लघु वित्तबाट लिएको करिब ४/५ लाख रुपैयाँ ऋण भएको हुनसक्ने बताइएको प्रहरीको भनाइ छ । यही ऋणका कारण उनीहरू सम्पर्कविहीन भएको हुनसक्ने आशंका गरिएको छ ।

जे कारणले बेपत्ता भए पनि कोही कसैले उनीहरूलाई सम्पर्कविहीन नबनाई आफैं सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीले विश्लेषण गरेको छ ।

‘१६ जना एकै पटक सम्पर्कविहीन भएकाले कसैले लग्यो, अपहरण गर्‍यो, बेपत्ता पार्‍यो भन्ने सम्भावना एकदमै न्यून देखिन्छ । १ वर्षको बच्चादेखि ५२ वर्षसम्मका व्यक्ति बेपत्ता हुनुले आफैं बेपत्ता भएको हुनसक्ने हाम्रो निष्कर्ष हो,’ अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘सम्पर्कविहीन हुनुको कारण उनीहरू भेटिएपछि मात्रै यकिन हुन्छ ।’

सम्पर्कविहीन हुनुअघि किनमेल गरेको देखिनु, भत्ता बुझ्नु, घरमा भएको सुँगुर काटेर खानु र १६ जना नै बेपत्ता हुनुमा अरू कोही तेस्रो व्यक्तिको संलग्नता हुनेभन्दा पनि आफूखुसी नै बेपत्ता भएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

आफूखुसी नै सम्पर्कविहीन भए पनि उनीहरू कहाँ गए भन्ने पत्तो लगाउने जिम्मेवारी प्रहरीको भए पनि अहिलेसम्म फेला पर्न सकेका छैनन् । उनीहरूका आफन्तदेखि हायू जाति, गाउँले, छिमेकी रामेछाप जिल्लामा समेत खोजी गर्दा फेला पर्न सकेका छैनन् ।

बेपत्ता उर्मिलाका एक ज्वाईंको घर पोखरा र अर्का ज्वाईंको घर बाग्लुङ रहेको बताइएको छ । पोखरा घर हुने ज्वाईं उनीहरूसँगै सिन्धुलीमै बस्दै आएका थिए भने बाग्लुङ घर हुने ज्वाईं भने उनीहरू हराएको केही दिनअघि मात्रै सिन्धुली आएको प्रहरीको भनाइ छ । बाग्लुङतर्फ पनि उनीहरू गए कि भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार दिनभर आफन्तहरूलाई समेत सँगै लिएर खोजी गर्दा पनि प्रहरीले केही पत्ता लगाउन सकेन । बेपत्ता हायू परिवारलाई कोही कसैले कतै नदेखेको बताएपछि उनीहरू घर छाडेपछि बस्तीतर्फ नपसेको हुनसक्ने आशंका पनि प्रहरीको छ । जसका कारण नजिकका जंगलमा समेत प्रहरीले खोजी गरेको थियो । तर त्यहाँ पनि केही भेटिएन । सोमबार केही पत्ता नलागेपछि भोलि मंलबारबाट पुन: खोजी गरिने प्रहरीले बताएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?