+
+
Shares
सिन्धुली घटना :

शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट फर्किएका थिए बेपत्ता परिवारका सदस्य

केही दिन अघिमात्रै विदेशबाट आएका थिए जेठा छोरा

अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको छ । यद्यपि कुनै थप जानकारी भने आएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गालन्जोर–६ बाट बेपत्ता भएका परिवारका सदस्यहरू गत शुक्रबार साँझ ग्वालटारबाट अटो चढेर घर छेउसम्म पुगेको पाइएको छ।
  • प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार, परिवारका सदस्यले शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग कुराकानी गरेका थिए।
  • अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको छ।

१२ साउन, काठमाडौं । सिन्धुलीको गालन्जोर–६ बाट बेपत्ता भएका परिवारका सदस्यहरू गत शुक्रबार साँझ अटो चढेर ग्वालटारबाट घर छेउसम्म पुगेको पाइएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालका अनुसार, गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको भेटिएको हो ।

‘शुक्रबार ५ बजेर १९ मिनेट जाँदा ग्वालटार बजारबाट अटो ड्राइभरसँग कुरा भएको देखिन्छ,’ सीडीओ भुसालले अनलाइनखबरसँग भने, ‘बजारबाट उनीहरूको घर जाने ठाउँमा लगेर छाडिदिएको भन्ने कुरा उहाँले भन्नुभएको छ ।’

चालकका अनुसार, उनीहरू सडकबाट घरतर्फ लागेका थिए । ग्वालटार पालिकाको केन्द्र हो । अघिपछि केही किनमेलका लागि पनि उक्त परिवारसहितका सदस्यले सोही बजार प्रयोग गर्ने गर्छन् ।

अहिले प्रहरी र सीडीओसहितका अधिकारीहरूले अटो चालकसँग थप बुझ्ने काम गरिरहेको छ ।

यद्यपि कुनै थप जानकारी भने आएको छैन ।

गत बिहीबार राज्यबाट प्राप्त हुने भत्ता एकैसाथ बैंकबाट बुझेका उनीहरू शनिबारयता बेपत्ता भएका हुन् । छिमेकीहरूले तीन दिनसम्म पनि नदेखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।

केहीदिन अघि विदेशबाट आएका थिए जेठा छोरा

हायू संघका केन्द्रीय अध्यक्ष लक्ष्मण हायूका अनुसार, उक्त परिवारका जेठा छोरा राजु हायू केही दिनअघिमात्रै विदेशबाट घर फर्किएका थिए ।

एकान्तमा घर भएका कारणले छिमेकीसँग कुनै पनि रिसराग नभएको उनी बताउँछन् ।

यद्यपि, पोखरामा पनि एकजना छोरी बस्ने गरेको उनले बताए । ‘पोखरामा पनि छोरी ज्वाइँ बस्नुहुन्छ । छोरी सिन्धुली आउजाउ गरिरहेको भन्ने थाहा पाएका छौं,’ उनले भने ।

पोखरामा बस्ने ज्वाइँको नाम समीर तामाङ रहेको उनी बताउँछन् । यद्यपि पोखरामा बस्ने सुनिएको भए पनि आधिकारिक ठेगाना कहाँ भन्नेबारे थाहा नभएको उनले बताए ।

सीडीओ भुसालका अनुसार अहिले एसपीको कमाण्डमा नेपाल प्रहरीको टोली खोजी कार्यमा खटिएको छ । सशस्त्र प्रहरीको टोली पनि खटाइएको उनले बताए ।

यसबारे गृह मन्त्रालयमा निरन्तर रिपोर्टिङ भइरहेको सीडीओ भुसाल बताउँछन् ।

खुर्कोटको बैंकबाट लिएका थिए भत्ता

वडा अध्यक्ष रविन कुमार श्रेष्ठका अनुसार, प्रतिमहिना ३ हजार ९ सय ९० का दरले उनीहरूले गत बिहीबार भत्ता लिएका थिए ।

१ लाख ९१ हजार ५ सय २० रुपैयाँ सो दिन उनीहरूले बुझेकाको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनीहरूले गोलन्जर गाउँपालिका–७, खुर्कोटमा रहेको हिमालयन बैंकबाट भत्ता बुझेको वडा कार्यालयले जनाएको छ ।

गोलन्जगर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ ।

१६ जनाको परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको एक स्थानीयले अनलाइनखबरलाई जानकारी दिए ।

स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए ।

खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको थियो ।

(काभ्रेबाट कपिल कोइरालाको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?