+
+
Shares

विद्या भण्डारीबारे छलफल नगर्न निर्देशनसहित एमालेको अपानि

अपानिमा केन्द्रीय कमिटीको निर्णय पनि समावेश छ । जहाँ पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय नभई सम्मान लिएर बस्न भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते २२:५९

१२ साउन, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

गत ६–७ साउनमा सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर आइतबार साँझ जारी अपानि–१२, मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो ।

‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन’, अपानिमा भनिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोे सम्बोधनलाई अपानिमा समेट्दै यस्तो निर्देशन दिइएको हो । पूर्वराष्ट्रपति भण्डारीबारे थप व्याख्या गर्न अपानिमा छुट्टै शीर्षक नै राखिएको छ । ‘सम्माननीय पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ’ भन्ने शीर्षक राखेर एमालेले भण्डारीबारे डेढ पेज व्याख्या गरेको छ ।

उक्त व्याख्यामा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन किन रोक लगाइयो भन्ने उल्लेख छ । जहाँ राष्ट्रपति संस्थाको गरिमा जोगाउन र संविधानको भावना कार्यान्वयन गर्न एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउनु परेको तर्क गरिएको छ । अर्थात् नेताहरुले सार्वजनिक भाषणमा भन्दै आएकै कुरा राखेर अपानि जारी गरिएको छ ।

‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आवद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिदैन’ अपानिमा भनिएको छ । यो तर्क अनुसार पूर्वराष्ट्रपति भण्डारीले संविधानको परिकल्पना अनुसार राजनीतिमा फर्कन मिल्दैन ।

गणतन्त्रको गौरव र गरिमा कायम राख्नकै निम्ति एमालेले गत वर्ष पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको पनि अपानिमा उल्लेख छ ।

‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहँँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरुलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ’ अपानिमा भनिएको छ, ‘नेपालमा लैंगिक समानता र समावेशीताको आइकनका रुपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिष्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’को रुपमा सम्मान गरेको सन्दर्भ यहाँनीर स्मरणीय छ ।’

अपानिमा केन्द्रीय कमिटीको निर्णय पनि समावेश छ । जहाँ पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय नभई सम्मान लिएर बस्न भनिएको छ ।

‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रुपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनु हुँदैन, अध्यक्ष भए पनि कार्यकर्ता हो’ बैठकको निर्णय भनेर अपानिमा लेखिएको छ, ‘यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्र गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो ।’

यति व्याख्या पछि विद्या भण्डारीको सदस्यता नवीकरण नगरिएको जानकारी पनि कार्यकर्ताहरुलाई दिइएको छ । ‘उहाँँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन’, ओलीले जारी अपानिमा भनिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने र राजनीतिमा आउन रोक लगाउने निर्णयप्रति नेताहरुले राखेको फरक मत भने अपानिमा उल्लेख गरिएको छैन ।

भण्डारीलाई सक्रिय राजनीति आउन रोक लगाउने निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक असहमति जनाएर यसबारे पार्टीका अरु फोरममा छलफल हुने बताउदै आएका छन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली र सुुरेन्द्र पाण्डे र स्थायी कमिटीय सदस्य कर्ण थापाले केन्द्रीय कमिटी बैठकमै असहमति राखेका थिए । असहमति राख्ने नेताहरु केन्द्रीय कमिटीमै पनि थिए । तर फरक मतबारे अपानिमा केही उल्लेख नगरी पूर्वराष्ट्रपति भण्डारीबारे थप छलफल र बहसमै रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?